बाह्रो बर्डिवा

बाह्रो बर्डिवा

 श्रुति परम्पराबाट जीवित हाम्रो लोकजीवन अहिले संकटमा छ। घरघरमा कथा कहने, गाथा गाउने, ‘गाउँ खाने-दिने’ जुन चलन थियो, त्यो झन्नै लोप हुँदो छ। लोकवार्ताका विभिन्न रुपहरु हाम्रा मौलिक पहिचान हुन्। लोककथा, दन्त्यकथा, किंवन्दन्तीहरु हाम्रो तत्कालीन समाज हेर्ने आँखीझ्याल हुन्, हामी यस स्तम्भमा संकलन नभएका ती कथ्य सामग्री छाप्नेछौँ।

 यस्ता कथाहरुमा जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक अनेक विभेद पनि झल्किन सक्छन्, अन्धविश्वास पनि प्रस्तुत हुन सक्छ। ‘पलिटिकल करेक्ट’ हुने नाममा हामी यिनलाई संशोधन गर्नेछैनौँ, किनभने यिनको आधारमा हामीले हाम्रो समाजको अवलोकन-विवेचन गर्ने हो। सच्चिने हो, न कि यिनैलाई सच्याएर छाप्ने। यहाँहरु पनि आफ्नो क्षेत्रका, समुदायका, पाका पिँढीका लोककथा-मिथहरु संकलन गरी पठाउन सक्नुहुन्छ।)

धेरै वर्ष पहिलेको कुरा हो। बर्डिवा (गाई ग्वाला)हरू गाईबस्तु चराउन वन गएका थिए। थारू समुदायमा बर्डिवा हुने प्रायः भर्खरका किशोरहरू हुने गर्छन्, या त बूढापाखाहरू। तर त्यो दिन संयोगले गाईबस्तु चराउने १२ जनाको समूहमा अल्लारे किशोरहरू नै थिए।

गाईबस्तु आफ्नै धुनमा चरिरहेका थिए। कहिले कपर्दी, कहिले छुर, गोलीडन्डा आदि खेल खेल्ने बर्दिवाहरूलाई त्यो दिन खै के सुर जागेछ, गुरै गरेको (गुरुवा धामीको झारफुक) खेल खेल्ने सल्लाहमा पुगेछन्। धार्मिक अन्धविश्वास बलियोसँग जरा गाडेर बसेको थारू समुदायमा भूत बोक्सीमा बढी विश्वास गर्ने चलन अद्यापि छ। कोही बिरामी भएमा सामान्य तन्त्रमन्त्र, झारफुकले निको नभए गुरै गर्ने चलन छ, जसमा देउताले मागेअनुसार भाले, सुँगुर पाठो, बोका आदि बलि दिनुपर्छ।

मुख्य गुरुवा अभिनय गर्ने बर्दिवाले आफू काम्दै सहायक गुरुवा (केशौका)लाई अक्षता छर्किंदै आफूसँगै काम्ने बनायो। मुख्य गुरुवा बन्नेले सोध्न थाल्यो— भन्, रोगीलाई निको पार्न तँलाई के के, कति कति भोग दिनुपर्छ ?

केशौकाले काम्दै आफ्नै शैलीमा उत्तर दियो— बोक्वा एकठो, सुरिक पठरू दुइठो ओ मुर्गी सात ठो चाहि।

मुख्य गुरुवाले केशौकाको मागबमोजिम एउटा बर्दिवालाई बोका, दुई जनालाई सुँगुर पाठा तथा ससाना बर्दिवाहरूलाई भालेको अभिनय गर्न संकेत दियो। सबै खुसी भएर आआफ्नो भूमिकाअनुसार स्वर निकाल्दै कराउन थाले। बलि दिन मुख्य गुरुवाले कुशको पातले सबैको घाँटीमा रेटेको अभिनय गर्‍यो। तर आश्चर्य कुशको पातले रेटिएर सबैको रगतको खोलो बग्यो। एकैछिनमा बोका, सुँगुर पाठा, भाले भएका दसजना बर्दिवाहरूको प्राण गयो।

गुरैको खेलखेलमै रमाइरहेका साथीहरू हेर्दाहेर्दै मरेपछि बाँकी बचेका गुरुवा र केशौका अलाप बिलाप गर्दै रुन थाले। रुँदारुँदै थाकेपछि अब के गर्ने भनेर ती दुईले सल्लाह गरे। सबै लासलाई एक ठाउँमा भेला गरे। घर फर्किए अभिभावकले त्यति धेरै साथी कसरी मरे भनेर सोध्दा के जवाफ दिने ? सोच्न नसक्दा गुरुवा र केशौकाले पनि साथीहरूसँगै जाने विचार गरेछन्। ती दुवैले पनि कुशको पातले घाँटी रेटे। अलिअलि मात्र रेटिँदा पनि उनीहरूको मृत्यु भयो। यसरी बाहै्रजना बर्दिवा एकै चिहान भए।

बर्दिवाहरूले प्रयोग गरेको लट्ठी र पौवा (खराउ) रूखमा परिणत भयो। उनीहरूको जोल्ठिएको शरीर अजंगको ढुंगा बन्यो। बर्दियाको पद्नाहा क्षेत्रमा बाह्रो बर्दिवाका नामले एक मन्दिर स्थापना गरिएको छ, जो गाउँलेहरूको साझा देवस्थलका रूपमा परिचित छ। अजंगको ढुंगा अद्यापि छ, लट्ठीबाट बनेको रूख भनी विश्वास गरिने एउटा बूढो जामुनकोे रूख पनि सो स्थानमा छ। प्रत्येक मंसिरको पञ्चमीका दिन गुरुवाहरूले बाह्रो बर्दिवाहरूको सम्झनामा गुरै गर्छन्। अखरिया (गुरुवाहरूको नाच) खेल्छन्। ती बाह्रो बर्दिवाहरूले खेल खेल्दा चढाएको झै देउठन्वा (मन्दिर)मा अझै पनि प्रत्येक वर्ष भाले, सुँगुर, बोकाको बलि चढाइन्छ। यसरी बाह्र बर्दिवाहरूको यही किंवदन्तीअनुसार बर्दिया जिल्लाको नामकरण भएको हो भन्ने भनाइ छ।

....

राज्य पुनर्संरचनाअनुसार अहिले एउटा गाउँपालिकाको नाम ‘बारबर्दिया’ राखिएको छ। स्थानीयवासी भन्छन्— पहिले बर्डिवा नाम नराखेर बर्दिया नामकरण गरी जिल्लाको नाम त बिगारे। अहिले गाउँपालिकाको नाम पनि ‘बाह्रो बर्डिवा’ नराखी ‘बारबर्दिया’ नामकरण गरेर इतिहास मेटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.