प्रदेश-२ मा एसईई तनाव : परीक्षा प्रणालीमाथि नै प्रश्न

प्रदेश-२ मा एसईई तनाव : परीक्षा प्रणालीमाथि नै प्रश्न

अहिले प्रदेश-२ मा एसईई परीक्षा दिने विद्यार्थी अनियन्त्रित भएका छन्। परीक्षा दिनुपूर्व नै प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी उग्र बनेका हुन् । 

दुईदिन यता प्रदेशका आठवटै जिल्लामा एसईई दिने विद्यार्थीकाे आन्दोलन जारी छ। उनीहरूको आक्रोशले सडक तातेकाे छ । विद्यालय, क्याम्पस तथा सरकारी भवन तोडफोड भएका छन्। विद्यार्थीले 'वी वान्ट जस्टिस' भन्दै नारा लगाइरहेका छन्। उनीहरूकाे आक्रोशलाई नियन्त्रण गर्न प्रदेशभरी नै प्रहरी परिचालन गरिएको छ।

संघीय सरकारका खेलकुद तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन शुक्रबार नै दिइसकेका छन्। मन्त्री पोखरेलले पुत्ला प्रदेशको विभिन्न जिल्लामा जलाइएको छ। शुक्रबार नै मन्त्री पोखरेलले छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता भने जनाइसकेका छन्। तर, विद्यार्थीसँग वार्ताका लागि केन्द्र र प्रदेशले कुनै पहल गरेको छैन। 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले घटनाको छानबिन गर्ने भएको छ। त्यस्तै छनबिनको लागि राष्ट्रिय परीक्षा बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा अर्को समित पनि गठन भइसकेको छ। यति हुँदा पनि प्रदेशलाई तनावले छोड्ने कुनै छाँट देखाएको छैन।  

केन्द्रीय सरकारले नै सिडिओ  तथा प्रहरी प्रमुखको जिम्मामा प्रश्नपत्र राखेको र यसमा प्रदेश-२ ले समन्वयनकारी भूमिका मात्र खेलेको प्रदेशका आर्थिक मामिलामन्त्री विजय यादवले बताए। 'प्रश्नपत्र आउट गरेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको छ' मन्त्री यादवले भने,'संघीय सरकारले प्रदेशलाई कुनै अधिकार नदिँदाको परिणाम हो यो, यसको सबै जिम्मेवारी केन्द्रले लिनुपर्छ। विद्यार्थीले न्याय पनि पाउनुपर्छ।'

हेर्नु्स्, विद्यार्थीको आक्रोश

अर्कोतर्फ, एसईई परीक्षालाई सबैले हाउगुजी बनाएकै कारण यो घटना निम्तिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। 'एसईई परीक्षा भन्ने कुनै ठूलो कुरा होइन भनेर हामीले आफ्ना विद्यार्थीलाई बुझाउन त परको कुरा हो, हामीले नै बुझेका रहेनछौं। हामीले र हाम्रा विद्यार्थीले यो कुरा बुझेका भए न कुनै प्रश्नपत्र बाहिरिने थियो, न यो घटना नै हुन्थ्यो' कोइराला भन्छन्,'यसलाई परीक्षाको हाउगुजीले निम्त्याएको विशुद्ध घटना भन्न सकिन्छ।' 

२०७२ सालदेखि अंक प्रणालीलाई हटाएर ग्रेडिङ प्रणाली ल्याइयो। कुनै एक विषयमा अब्बल विद्यार्थी पछाडि नपरुन भन्ने यो प्रणालीको उद्देश्य थियो। यस प्रणालीले फेल-पास हुने परम्परागत मान्यतालाई त तोड्यो। तर, विद्यार्थी अभिभावकको मानसिकतालाई तोड्न सकेन। प्रदेश-२ मा निम्तिएको घटना यही मानसिकताको उपज हो। 

'हिजो पनि चोरिन्थ्यो आज पनि चोरियो, हिजोपनि प्रश्नपत्र बाहिरिन्थ्यो आजपनि बाहिरियो। हिजो व्यक्तिगत रुपमा चोरिन्थ्यो, आज संस्थागत रुपमा चोराउन थालियो' शिक्षाविद् कोइराला भन्छन्,'कम्युनिकेशनका माध्यम बढेकाले नै यस्तो घटना भयो, यत्तिको प्रश्नपत्र त पहिले पनि बाहिरिन्थे तर यस्तो घटना हुँदैनथ्यो।'  
नेपालमा अन्य थुप्रै तहका परीक्षा हुने गर्छन्। तर, यस्तो हाउगुजी अरु परीक्षामा हुँदैन। हाउगुजी जस्ता अन्य विभिन्न कारणले नै ग्रेडिङ प्रणाली भित्रियो। प्रणाली भित्रिए पनि अंक प्रणालीको हाउगुजी भने विस्थापित हुन नसक्नु बिडम्बना भएकाे उनको भनाइ छ । 
    
एसईईमा राजनीति

देशले संघीयताको सुरुवाती स्वाद चाखिरहेको छ। यस पटकको एसईई पनि यही स्वाद लिने पहिलो गास मध्येको एक थियो। किनकी, प्रदेशस्तरका आधारमा पहिलो पटक एसईईका प्रश्नपत्र तयार पारिएका थिए। यसैलाई आधार मान्दै कतिपय राजनीतिज्ञले भनिदिए-संघीयता असफल गराउने खेल भयो। 

अर्कोतर्फ, प्रदेश-२ का मुख्यमन्त्रीदेखि सांसदसम्मले यस प्रदेशलाई बदनाम गर्ने संघीय सरकारको षड्यन्त्रको रुपमा बुझे। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले त संघीय शिक्षामन्त्रीको राजीनामासम्म माग्न भ्याए। 

‘हामीलाई फेलर गराउन षड्यन्त्र भइरहेको छ। षड्यन्त्र तुरुन्तै पदार्फास हुन्छ' , प्रदेशसभा बैठकमा यादवले भने,‘यसईई परीक्षा केन्द्रीय सरकारबाट सञ्चालन छ, हाम्रो कुनै गल्ती छैन, संघीय सरकारका शिक्षामन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।' 

त्यस्तै पर्सा-१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शुक्रबार विज्ञप्ति जारी गर्दै संघीय सरकारकै चलखेलमा एसईई प्रश्नपत्र, परीक्षा सुरु हुनुभन्दा अघि बाहिरिएको आरोप लगाए। प्रदेश-२ मा एसईईको परीक्षा रद्द हुनुको जिम्मेवार संघीय सरकार रहेको समेत यादवले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्। 

एसईई बाहिरिएको विषयलाई राजनीतिकरण गर्न नहुने बताउँछन् शिक्षाविद् कोइराला। 'कि प्रश्नपत्र तयार पार्ने जनक शिक्षा सामग्री केन्द्रले बदमासी गरेको छ। 'कि, त्यसको सुरक्षा गर्ने प्रशासनले बदमासी गरेको छ। अरुसँग यसको लेनादेना छैन' उनले भने,'यो विषयमा अनाश्यक पोलिटिक्स् पस्यो।'  

शिक्षाविद् कोइरालाका अनुसार संघीय सरकारले पहिले नै परीक्षाको सबै जिम्मेवारी प्रदेश सरकारलाई दिएको भए यस्तो अवस्था सिर्जना हुने थिएन। 'प्रदेश परीक्षा गराउँछु भनेर तम्सिएन, केन्द्रले पनि परीक्षाको जिम्मा दिन चाहेन', कोइराला भन्छन्,'यस घटनाबाट दुबै सरकारले पाठ सिक्नुपर्छ। आरोप प्रत्यारोप गर्नुको तात्पर्य छैन।'

दोहोरिन सक्छ घटना

यही प्रणालीमा परीक्षा भइरह्यो भने आगामी दिनहरूमा यस्ता घटना दोहोरिरहने बताउँछन् शिक्षाविद् कोइराला। उनका अनुसार अब यस्ता घटना परीक्षा गराउने निकायले दुई तरिका अवलम्बन गर्नुपर्ने छ। 

'यस्ता घटना दोहोरिन नदिन कि हामीले खुला परीक्षा प्रणाली अबलम्बन गर्नुपर्छ, कि प्रश्नपत्र तयार हुँदादेखि विद्यार्थीले परीक्षा दिँदासम्म सीसीटीभी क्यामराले निगरानी गर्नुपर्छ' कोइराला भन्छन्,'खुल्ला  परीक्षा प्रणालीमा प्रश्नहरु पहिल्यै आउट हुन्छन्, ती प्रश्नको उत्तर विद्थार्थीले कसरी दिन्छ भन्ने कुराका आधारमा विद्यार्थीको मुल्याङ्कन हुन्छ।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.