कोलकाताविरुद्धको खेलमा सन्दीपको सम्भावना कति ?
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) हुने शनिबारको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी टिमले खेल्दै छ।
यसअघिका दुई खेलमध्ये एक जित र अर्को हार सहेको दिल्लीले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ। दिल्लीले तेस्रो खेल फिरोज कोट्ला स्टेडियममा खेल्दै छ। सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीपले आज खेल्ने अनुमान गरिएको छ।
अघिल्ला दुवै खेलमा दिल्लीका स्पिनर खुलेर जम्न सकेका छैन। त्यसकै परिणाम स्वरुप दिल्लीले एक खेलमा हार सहनु परेको अनुमान गरिएको छ।
शनिबार राति ८:१५ मा सुरु हुने खेलको अन्तिम ११ मा पर्न सन्दीपले अक्सर पटेललाई विस्थापित गर्नुपर्छ। दिल्लीले पटेललाई उनका दुई खेलको मूल्यांकनको आधारमा मात्र हटाउने छ। उनले दुई खेलमा एक विकेट मात्र लिएका छन्।
पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो।
दोस्रो खेलमा एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेटको क्षतिमा एक सय ५० रन जोड्दै लक्ष्य भेट्टाएको थियो।
गतसाल सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए। सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२ औं संस्करण हो। सन्दीप आईपीएलमा सहभागी पहिलो नेपाली क्रिकेटर हुन्।