हावाहुरीको बितन्डा : बारामा पाँचको मृत्यु
बारा : आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।
सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।
अहिलेसम्म पाँच जनाको शव भेटिएको र दर्जनौ घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भएको छ।