पर्खाल भत्किएपछि कारागारमा सुरक्षा चुनौती
डोल्पा : जिल्ला कारागार डोल्पाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको छ । चारदशक पुरानो कारागारको कैदी भवन केही वर्ष यता जिर्ण भएको थियो । भवन मर्मत गर्न केन्द्रमा पहल गरे पनि सुनुवाइ नभएको कारगार प्रशासनले जनाएको छ । कारागारका प्रमुख जेलर दिनेशकुमार रावतले बजेट अभावमा नयाँ भवन बनाउन नसकिएको जानकारी दिए । ‘कारागार भत्किन थाल्यो । सुरक्षा चुनौती थपिएको छ’, उनले भने, ‘बजेट अभावमा जिर्ण भवन मर्मत गर्न सक्ने अवस्था छैन ।’
२० जना पुरुष र १० जना महिला गरी ३० जनाको क्षमता रहेको यो कारागारमा हाल ३२ जना पुरुष कैदी छन् । महिला एकजना पनि नरहेकाले पुरुषलाई पनि महिलाको थुनुवा घरमा राखिएको कारागार कार्यालयले जनाएको छ । समयमा नयाँ भवन नबन्दा कैदी र सुरक्षाकर्मीलाई समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए । ‘कारागारको पर्खाल भत्कीएपछि सुरक्षा चुनौती थपिएको छ’, प्रजिअ केशरीले भने, ‘सुरक्षा व्यवस्थापनका लागि पहल गर्नेछौं ।’
माटो र ढुंगाको पर्खाल भत्किएपछि कैदी भाग्ने चिन्ता सुरक्षा निकायलाई छ । भवन डिभिजन कार्यालय सुर्खेतले समयमा नयाँ भवनको काम पूरा नगर्दा दुख भोग्नु परेको प्रमुख जिल्ला अधिकारी केशरीले बताए । तत्काल नयाँ भवनमा सार्ने व्यवस्था नगरिए वर्षाको समयमा कठिन हुने उनको भनाइ छ । भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर चन्द्र खड्काका अनुसार एक चरणको ठेक्का सम्पन्न भएको र फेरी अर्को चरणको ठेक्का खोलेर काम सकेपछि मात्र कारागारलाई हस्तानान्तरण गर्न सकिने बताए ।