राम्रो काम गर्न कठोर बन्नुपर्छ : प्रहरी प्रमुख खनाल
काठमाडौं : उपत्यकाको ट्राफिक व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्न प्रहरीले तीन महिने कार्यतालिका बनाएर काम सुरु गरेको छ। 'एक्सन टीम' नाम दिएर सुरु गरिएको कार्यतालिकामा 9 वटा कामहरु सम्पन्न गरिने भनिएको छ।
बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुलिस क्लबमा आयोजना गरेको कार्यक्रममा कार्यतालिका सार्वजनिक गरेको हो।कार्यतालिकामा विशेषगरी सडकको करिडोर अन्डरपास खोल्ने, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रस र लेन व्यवस्थित गर्ने, ट्राफिक सचेतना अभिवृद्धि गर्ने, दुई पांग्रे सवारी र टिपर चलाउन छुट्टै सडक लेन राख्ने, बस र ट्याक्सी रोक्ने ठाउँ व्यवस्थित पारिने, राजधानीका नौ स्थानमा आकाशे पूल निर्माण गर्ने, सवारीसाधनले प्रदुषण मापन गरेनगरेको कडाईका साथ जाँच गरिने विषय समेटिएका छन्। यी कार्यतालिका तीन महिनाभित्र सम्पन्न गर्न प्रहरीले महानगरपालिका, सडक विभाग, यातायात व्यवस्था विभाग, हेभी ईक्युभमेन्ट व्यवसायी संघ, विभिन्न यातायात व्यवसायी संघ र महासंघ, सामुदायिक क्लबले सहयोग गर्ने छन्।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै भौतिक पूर्वाधार मन्त्रालयसम्म छलफल चलेपछि यो कार्यतालिका निर्माण भएको र यसलाई कुनैपनि हालतमा सम्पन्न गरिने जानकारी प्रहरी प्रमुख सर्वेन्द्र खनालले दिए।कार्यतालिकामा समावेश गरिएका ९ वटा काम समयमै सम्पन्न गर्न प्रशासनिक निर्णयले बाधक नबनाउन खनालले सरोकारवाला निकायसँग आग्रह गरे।'
काठमाडौं उपत्यका विविध वस्तुले अति सुन्दर छ, यसलाई अझ सुन्दर बनाउन ट्राफिक व्यवस्थापन र प्रदूषण नियन्त्रण अपरिहार्य छ,' खनालले भने, 'अब पनि यो वा त्यो कारणले सकिँदैन भनेर पन्छाउन हुँदैन। सबै निकायले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्छ।' खनालले राम्रो काम गर्न सबै निकाय कठोर बन्नुपर्ने बताए।
कार्यक्रममा हेभी ईक्युभमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरले ट्राफिक व्यवस्थापनमा चाहिने प्राप्त जुनसकै सवारीसाधन प्रयोगमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुमार पन्तले ट्राफिक व्यवस्थापन अहिलेको प्रमुख चुनौति रहेको बताए।उनले भने, ' ट्राफिक एक्लैको प्रयासले यो कार्य सम्भव छैन।सरोकारवाला निकायको सहयोगमा तीन महिना कार्यतालिका बनाएर लागु, गर्न खोजिएको हो।'