अवैध विदेशी मुद्रासहित विमानस्थलका व्यापारी पक्राउ
काठमाडौं : अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका व्यापारी सुवास श्रेष्ठको परिवार पक्राउ परेको छ। शुक्रबार थाई एयरबाट बैंकक जान लागेको व्यापारीको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मित्रपार्क घर भएका श्रेष्ठ, उनकी पत्नी उमादेवी, दुई छोरी र एक छोराबाट प्रहरीले २२ हजार एक सय ५० थाई भाट, एक हजार तीन सय ८० यूरो, १० हजार अमेरिकी डलर, चिनिया युआन ८० हजार बरामद गरेको छ।
अन्तराष्ट्रिय उडानको पाँच नम्बर बोर्डिङ गेटमा प्रहरीले संका लागेर झोला खोतल्दा यी विदेशी मुद्रा बरामद गरेको जानकारी विमानस्थलका प्रमुख एसएसपी सन्दिप भण्डारीले दिए। उनका अनुसार पक्राउ परेकाहरुलाई हरिहरभवनस्थित राजश्व अनुसन्धान विभागमा बुझाइएको छ। श्रेष्ठका विमानस्थलमा कफी सप छन्।