गोरखाको नुब्री उपत्यकामा हिमपात
गोरखा : उत्तरी गोरखाको नुब्री उपत्यकामा हिमपात भएको छ। सोमबार अपरान्हदेखि हिउँ पर्न थालेको चुमनुब्री-२ स्यालाका पेम्वा रेता लामाले बताए। ‘दिउँसो ४ बजेदेखि हिउँ पर्न थालेको हो। अहिले पनि परिरहेको छ,’ उनले भने, ‘अब झन् चिसो बढ्छ।’
३५०० मिटर उचाइमा रहेको चुमनुब्री-१ सामागाउँ, ३८०० मिटर उचाइमा रहेको साम्दो, वडा नं. २ ल्हो, स्यालालगायतका स्थानमा हिमपात भएको उनले जानकारी दिए। हिउँ परेसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ। ‘अब चिसो बढेर घरबाहिर निस्कन सकिँदैन। घरभित्रै खोले पकाउँदै खाँदै बस्ने हो,’ लामाले भने, ‘याक, चौँरीलाई पनि गोठभित्रै पराल, सुकेको घाँस दिएर राखेका छौं।’
अहिले यो वर्षकै पहिलो पटक हिउँ परेको उनले बताए। हिमपातले खेतीलाई भने फाइदा पुग्ने उनको भनाइ छ। अहिले करु रोपिएको र हिउँले खेती सप्रिने भन्दै स्थानीय खुसी छन्।
उत्तरी गोरखाको अर्को पाटो चुमभ्यालीतिर भने हिउँ परेको छैन। सामा गाउँकै उचाइमा रहेको छेकम्पारतिर हिउँ पर्नुको साँटो तीब्र गतिमा हावाहुरी चलेर स्थानीयलाई हैरान पारेको छ। ‘ठूलो हावाहुरी चलेर धुलोको मुस्लो उडाउँछ। चिसो र धुलोले गाउँले सबै रुघाखोकीको बिरामी छन्’, उनले भने।
प्रतिक्रिया दिनुहोस !