करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी छैन : अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् । उनले ४८ सालपछि एकै पटक त्यति ठूलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको दावी गरे ।
उनले सडक पूर्वाधारमा लामो समयदेखि थाँती राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरुलाई टुङ्गाएर छाड्ने बताए । राजनीतिक श्रेयको होडबाजीमा लाग्नु हुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न पर्याप्त बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाइन निर्माणको कार्यलाई एक बर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे ।
मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाँड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारी आवश्यक रहेको बताए । यसका लागि पनि निजी क्षेत्र चलायमान हुन आवश्यक रहेको उनले बताए । उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए । अन्तिम उपभोक्तालाई भार नपर्ने गरी करका बिषयमा सरकारले आवश्यक योजना ल्याउने उनले बताएका छन् । उनले जनताको ठूलो म्याण्डेड पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस !