किन आवश्यक छ बालबालिकाका लागि दैनिक हिँडडुल र घुमफिर?
काठमाडौं : विश्वव्यापीरुपमा बालबालिका पहिलेको तुलनामा कम शारीरिक रूपमा सक्रिय भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। मोबाइल, टेलिभिजन, भिडियो गेम तथा लामो समय बसिरहने बानीका कारण उनीहरूको दैनिक हिँडडुल घट्दै गएको छ। विज्ञहरूका अनुसार यसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
विश्वभर मोटोपनाको समस्या बढ्दै जाँदा बालबालिकामा शारीरिक गतिविधिको कमीलाई पनि प्रमुख कारणका रूपमा हेरिएको छ। खराब खानपान,तनाव, खेलकुदमा कम सहभागिता तथा निष्क्रिय जीवनशैलीले समस्या थप जटिल बनाएको छ। वैज्ञानिकहरूका अनुसार बालबालिकालाई बढी हिँडडुल गर्न प्रोत्साहित गर्न सके उनीहरूको वर्तमान र भविष्य दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ।
स्वास्थ्य विज्ञहरूले बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट शारीरिक गतिविधि गर्नुपर्ने सुझाव दिएका छन्। तर, अधिकांश बालबालिका यो मापदण्डसम्म पुग्न सक्दैनन्। नियमित घुमफिर,खेलकुद तथा बाहिरी गतिविधिले शरीरलाई सक्रिय राख्नुका साथै तौल नियन्त्रण,मुटु र फोक्सोको क्षमता वृद्धि तथा समग्र शारीरिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
अनुसन्धानहरूले बाल्यकालमा सक्रिय रहने बालबालिकाहरू वयस्क भएपछि पनि सक्रिय जीवनशैली अपनाउने सम्भावना बढी हुने देखाएका छन्। दोस्रो विश्वयुद्धका ७१२ पूर्वसैनिकमाथि ५० वर्षसम्म गरिएको एक अध्ययनले किशोरावस्थामा खेलकुदमा सक्रिय सहभागी भएका व्यक्तिहरू वृद्धावस्थामा पनि स्वस्थ र सक्रिय रहेको तथा उनीहरूलाई स्वास्थ्य सेवाको आवश्यकता कम परेको देखाएको बीबीसीमा समाचार छ।
बाल्यकालमा नियमित शारीरिक गतिविधिमा सहभागी हुने बालबालिकाको बडी मास इन्डेक्स (बीएमआई) कम हुने,कम्मरको घेरा सानो हुने तथा मानसिक स्वास्थ्य राम्रो रहने विभिन्न अध्ययनले देखाएका छन्। यस्ता बालबालिकाको शैक्षिक उपलब्धि र सिकाइ क्षमता पनि तुलनात्मक रूपमा राम्रो हुने पाइएको छ।
विज्ञहरूका अनुसार शारीरिक गतिविधिले शरीर मात्र होइन,मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ। नियमित हिँडडुल र व्यायामले स्मरणशक्ति,ध्यान केन्द्रित गर्ने क्षमता तथा निर्णय गर्ने क्षमतामा सुधार ल्याउँछ। छोटो समयको शारीरिक गतिविधिले समेत बालबालिकाको संज्ञानात्मक कार्यक्षमता बढाउने अनुसन्धानहरूले देखाएका छन्।
बालबालिकालाई सक्रिय बनाउन खेलकुदमा सहभागी गराउनैपर्छ भन्ने छैन। विद्यालयमा उभिएर उत्तर दिने,कक्षाकोठाभित्र बढी हिँडडुल गर्ने,साथीहरूसँग खेल्ने,पार्कमा घुम्ने वा परिवारसँग नियमित पैदल यात्रा गर्ने जस्ता सामान्य गतिविधिले पनि सकारात्मक प्रभाव पार्न सक्छ। बेलायतमा गरिएको एक अध्ययनले विद्यालयमा बालबालिकाको बसाइँ समय घटाएर उनीहरूलाई बढी चलायमान बनाउँदा पेटको बोसो घट्नुका साथै खेलकुदमा सहभागिता बढेको देखाएको थियो।
किशोरकिशोरी,विशेषगरी केटीहरूमा शारीरिक गतिविधि कम हुने भएकाले अभिभावकको भूमिका महत्वपूर्ण मानिन्छ। अध्ययनहरूले अभिभावकबाट प्रोत्साहन र सहयोग पाउने बालबालिका खेलकुद तथा अन्य शारीरिक गतिविधिमा निरन्तर सहभागी हुने सम्भावना बढी हुने देखाएका छन्। आमाबाबु स्वयं सक्रिय भए र आफ्ना छोराछोरीसँगै हिँड्ने,साइकल चलाउने वा खेल्ने गरे बालबालिकामा पनि त्यही बानी विकास हुने सम्भावना बढ्छ।
बालबालिकालाई स्वस्थ,खुसी र आत्मविश्वासी बनाउन नियमित घुमफिर तथा शारीरिक गतिविधि अत्यावश्यक रहेको विज्ञहरूको राय छ। यसले उनीहरूको शारीरिक विकास मात्र होइन, मानसिक स्वास्थ्य,सामाजिक सीप र शैक्षिक सफलतालाई समेत बलियो बनाउँछ। त्यसैले बालबालिकालाई घरभित्र सीमित राख्नुको सट्टा बाहिर निस्कन,खेल्न र घुमफिर गर्न प्रोत्साहित गर्नु उनीहरूको स्वस्थ र उज्ज्वल भविष्यका लागि महत्वपूर्ण कदम हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !