‘कोरियाले कामको महत्त्व बुझाउँछ’

‘कोरियाले कामको महत्त्व बुझाउँछ’

गोपाल संग्रौला

म आठ वर्ष कोरिया बसेँ। सुरुमा कोरिया जाँदा त्यति धेरै काम गर्नुपर्छ भन्ने सोचेको थिइनँ। यहाँ शारीरिक श्रम नगरेको भएर सुरुमा गाह्रो भयो। नौ घण्टा नियमित काम गर्थें। उत्पादनमूलक क्षेत्रमा गएको हुनाले ४ वर्ष १० महिना सामान प्याक गर्ने कार्टुन बनाएर बिताएँ। त्यो बेला मैले लगातार ३६ घण्टासम्म काम गरेँ। 

दक्षिण कोरियालाई कामसँग मात्र सरोकार छ। त्यहाँ फुर्सद र आराम बिरलै मिल्छ। हामी नेपाली जे सोचेर भाषा परीक्षा दिन्छौँ, त्यस्तो छैन कोरिया। ‘काम सजिलै होला’, ‘अफिसको कुर्सीमा बसेर गर्न पाइएला’, ‘नेपालमा जस्तै होला’, भन्ने सोचेर जानेले साह्रै दुःख पाउँछन्।

नेपाली अधिकांश युवा कोरियन फिल्म, सिरियल र गीत हेरेको भरमा कोरिया जान हौसिन्छन्। त्यहाँको वास्तविकता फिल्ममा देखाएको जस्तो छैन। कोरिया हामी फिल्म खेल्न जाने होइन, काम गर्न जाने हो। तर, धेरै युवा त्यहाँको झिलिमिली, जीवनशैली, रहनसहन र विकास देखेर जान्छन्। कोरिया सोखको लागि भन्दा पनि मेहनत गर्न जाने हो। कोरिया जाने तय भएकाहरू दंग परेर नबसे हुन्छ। शारीरिक रूपमा आफूलाई बलियो बनाउँदै गरे हुन्छ। शारीरिक काम गर्ने बानी छैन भने खन्ने, जोत्ने, दौडिने गर्न सुरु गरे हुन्छ। 

ईपीएस परीक्षामा पहिला खासै प्रतिस्पर्धा थिएन, अहिले चर्का छ। थोरै पढेर पास भइँदैन। लोकसेवा जत्तिकै पढ्नुपर्छ। दैनिक आठदेखि १० घण्टा नपढ्ने पास हुन गाह्रो छ। नेपालमा सात-आठ वर्ष भाषा पढेर पास नगरेका पनि छन्।

भाषा पढाइ हुने इन्स्टिच्युटलाई भाषासँग मात्र सरोकार हुन्छ। के काम गर्ने, स्वास्थ्यको ख्याल कसरी राख्ने, त्यहाँको वातावरणमा कसरी घुलमिल हुने भन्ने कुरा सिकाउँदैनन्। कहिल्यै काम नगरेका, दुःख नगरेका र डुलेर हिँड्नेलाई त्यहाँ गएर काम गर्न गाह्रो छ। तर, उनीहरू पनि स्थिर भएर काम गरे भने बिस्तारै अभ्यस्त हुँदै जान्छन्।

एक पटक कोरिया गएर आएको मानिस मेहनती हुन्छ। फर्किएर नेपाल आउँदा काम, समय र पैसाको महत्त्व बुझेर आउँछ। काम गर्न लाज नमान्ने भएर आउँछ। देश विकास हुन प्रत्येक नागरिकले काम गर्नुपर्छ भन्ने कोरियाले सिकाउँछ। अरूको काम गर्दा पनि आफ्नो सम्झेर गर्नुपर्छ भन्ने कुरा त्यहाँ गएर आउनेले बुझ्छन्। 

नेपालीले कोरियन नागरिकबराबर तलब पाउँछन्। त्यहाँ बर्सेनि तलब वृद्धि हुन्छ। काम गर्न सक्नेले वभरटाइमबाट पनि राम्रो पैसा कमाउन सक्छन्। काम जति ग¥यो, उति नै पैसा कमाइन्छ। तर, त्यहाँ ‘नो वर्क नो पे’ र ‘हायर एन्ड फायर’ को नियम छ। औद्योगिक दुर्घटना, आत्महत्या, सुतेको बेला मर्ने जस्ता घटना पनि त्यहाँ भइरहन्छन्।

गाह्रो काम भए पनि आम्दानीको कारण बर्सेनि कोरियाको क्रेज बढेको हो। देशमा रोजगारीको राम्रो व्यवस्था नभएपछि विदेशिनु नेपालीको बाध्यता हो। बेरोजगार विदेशिनु नराम्रो कुरा होइन। तर, भएको जागिर छोडेर टन्न पैसा कमाउने लोभमा विदेशिनु भने राम्रो होइन। हामी नेपालमै पनि केही गर्न सक्छौँ। कोरियामा गरेको जति दुःख यहाँ गर्ने हो भने त्यो पैसा यहीँ कमाइन्छ।

यहाँ पनि कृषि र उद्योगमा उस्तै अवसर छन्। उस्तै कमाइ छ। सडकमा ज्यालादारी काम गर्नेले पनि यहाँ ३०-४० हजार कमाउँछ। तर, हामी त्यो काम गर्दैनौँ। हामी सफासुग्घर काम खोज्छौँ । हाम्रोमा कामको सम्मान गर्ने चलन छैन। नेपालीलाई विदेशिन रोक्नबाट सरकारले कामको सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्छ। सामाजिक सुरक्षा हुनुपर्छ। काम गर्दा दुर्घटना भयो भने क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ। स्वरोजगारहरूलाई समर्थन गर्नुपर्छ। सीपअनुसारको उद्यम गर्नेलाई सहयोग गर्नुपर्छ।  (आठ वर्ष दक्षिण कोरिया बसेर आएका संग्रौला हाल ‘कारोबार’ दैनिकमा कार्यरत छन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.