बारा- पर्साका हुरीपीडित : आफ्नै खर्चमा घाइतेको उपचार
वीरगन्ज : चक्रपातसहितको हुरीमा परी घाइते भएका असरुफुल आलमको उपचारमा शनिबारसम्म २० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। हुरीले भत्काएको घरभित्र च्यापिएर खुट्टा भाँचिएका आलमको वीरगन्जस्थित नारायणी अस्पतालको अर्थो विभागमा उपचार भइरहेको छ। हुरी आएको राति अस्पताल ल्याउनासाथ औषधि, सुई, टाँका, ब्यान्डेजमा १० हजार रुपैयाँ खर्च भएको थियो। आलमका कुरुवा दाजु कमरुल्लाह मिया आलमले भने, ‘सरकारले उपचार र औषधि निःशुल्क हुन्छ भनेको थियो तर २० हजारभन्दा बढी निजी खर्च भइसक्यो।’
बारा र पर्सामा भुमरीसहित आएको भीषण हुुरीमा परी घाइते भएकाको औषधि र उपचार निःशुल्क हुने प्रधानमन्त्री, मुख्यमन्त्री र अन्य मन्त्रीले घोषणा गरेका थिए। तर, वीरगन्ज अस्पतालमा उपचार गराइरहेका बारा फेटा गाउँपालिका–६ पुरैनीयाका आलमजस्तै अन्य घाइतेले पनि आफ्नै खर्चमा औषधि एवं उपचार गराइरहेका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार वीरगन्जका अस्पातालमा शनिबार साँझसम्म एक सय १२ जना घाइते उपचाररत छन्। वीरगन्जको नेसनल मेडिकल कलेजमा ७१, नारायणी अस्पतालमा १५, वीरगन्ज हेल्थ केयर हस्प्टिलमा १५, गण्डक हस्पिटलमा आठ र एलएस न्युरो हस्पिटलमा तीन गरी एक सय १२ जना घाइते अझै उपचार गराइरहेको भट्टराईले जानकारी दिए। वीरगन्जका अस्पतालमा उपचार गराइरहेका बारा र पर्साका घाइतेले निःशुल्क औषधि नपाएकाले निजी खर्चमा उपचार गराउन बाध्य भएका छन्।

हुरीमा परी गम्भीर घाइते भएकी आमा अनितादेवीको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका फेटा १ भरवलीयाका रन्जय पटेलले औषधिमा मात्रै २७ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिए। ‘उपचार र औषधिमा एक रुपैयाँ पनि लाग्दैन, निःशुल्क हुन्छ भनिएको छ’, पटेलले भने, ‘डाक्टरले औषधिको पुर्जी लेखेपछि साइन गर्न अस्पतालले तोकेको मान्छे खोज्दा भेटिँदैन। औषधि समयमा नभई नहुने भएकाले आफ्नै खर्चमा किन्नु पर्छ।’
नेसनल मेडिकल कलेजमै उपचार गराइरहेका भरवलयाकै बालक दीपेन्द्र मुखिया बिनकी आमा सिकिन्दरदेवीले पनि छोराको उपचारमा सात हजार रुपैयाँको औषधि किनेको बताइन्। अस्पतालले शुल्क नलिए पनि औषधि भने निजी क्लिनिकबाट किन्नुपरेको उनको भनाइ छ। यस्तै, नारायणी अस्पतालमा उपचार गराइरहेका भवलीयाकै प्रतिमा मुखिया बिनका कुरुवा पति जहरलाल मुखियाले पनि निजी क्लिकिबाट औषधि ल्याएको बताए। ‘अस्पतालमा सबै औषधि पाइएको छैन’, उनले भने, ‘कतिपय औषधि निजी पसलबाट किन्नुपरेको छ।’

नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका बारा फेटा गाउँपालिका–१ भरवलियाका बालक दीपेन्द्र मुखिया बिन र कुरुवा आमा सिकिन्दर देवी।
नेसनल मेडिकल कलेजका निर्देशक डा. प्रमोद सर्राफले अस्पतालमा भर्ना भएका घाइतेको उपचार र औषधि निःशुल्क गरिएको दाबी गरे। ‘अस्पतालमा भर्ना भएका घाइतेलाई निःशुल्क उपचार र औषधि प्रदान गरिरहेका छौं’, उनले भने।

नारायणी अस्पतालमा उपचार गराइरहेकी बाराको फेटा गाउँपालिका–१ भरवलियाकै प्रतिमादेवी मुखिया बिन र कुरुवा जहरलाल मुखिया बिन।
अस्पतालमा उपचाररत घाइतेले आफ्नै खर्चमा औषधि किन्नुपरेको गुनासो गरेपछि शनिबार प्रदेश २ का मुख्यमन्त्री, सांसद, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नेसनल मेडिकल कलेज पुगेर घाइतेलाई सोधपुछ गरेको छ।
घाइतेसँगको भेटघाटमा केहीले निजी औषधि पसलबाट औषधि किनेको पाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। ‘अस्पतालमा नभएको औषधि बाहिरबाट किनेर ल्याएको भेटियो’, प्रजिअ भट्टराईले भने, ‘जसले निजी पसलबाट औषधि किनेर ल्याएको छ, उसको बिल संकलन गर्न मुख्यमन्त्रीले एक जना खटाउनुभएको छ।’ निजी पसलबाट किनेर ल्याएको औषधिको बिलको पैसा घाइतेलाई फिर्ता गरिने उनले जनाए।
प्रतिक्रिया दिनुहोस !