निमित्तका भरमा क्याम्पस
काठमाडौं : वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस निमित्त प्रमुखको भरमा चलेको २६ महिना पुगिसक्यो। लामो समयसम्म निमित्त भएर बस्नुपर्दा क्याम्पस प्रमुख डा. प्रमोदकुमार कुशवाह खिन्न छन्। यहाँ पूर्ण अधिकारसहितका क्याम्पस प्रमुख कहिले नियुक्त हुन्छन् भन्नेबारे त्रिविका पदाधिकारी अनभिज्ञ छन्।
‘दुई वर्षसम्म क्याम्पसलाई कुनै समस्यामा नपारी पूर्ण नेतृत्व दिइसकेको छु। तैपनि केन्द्रमा रहेका पदाधिकारीले मलाई किन क्याम्पस प्रमुख बनाउनुभएन, बुझेको छैन’, कुशवाहले गुनासो गरे, ‘प्रमुख बनाउने कि नबनाउने भन्ने अधिकार उहाँहरूकै हो। तर एकै व्यक्तिलाई यति लामो समयसम्म निमित्त बनाएर राख्नु अन्याय गर्नु नै हो।’
हेटौंडास्थित कृषि क्याम्पस पनि निमित्तको भरमा चलेको ६ महिना पुग्नै लाग्यो। यहाँ पनि के कारणले पूर्ण अधिकार भएको क्याम्पस प्रमुख किन बनाउन नसकिएको हो भन्ने स्पष्ट जवाफ त्रिविका जिम्मेवार पदाधिकारीसँग छैन। विश्वविद्यालयको नेतृत्व तहमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिँदाको असर अहिले यी क्याम्पसमा देखिएको छ।
राजनीतिक दलको कोटामा नियुक्त पदाधिकारी एकमत नहुँदा विश्वविद्यालयका थुपै्र आंगिक क्याम्पस निमित्त प्रमुखको भरमा चलेका छन्। विश्वविद्यालयमा उपकुलपति कांग्रेस निकट, शिक्षाध्यक्ष र रजिस्ट्रार नेकपाको कोटाबाट नियुक्त भएका हुन्।
विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसमध्ये अहिले दर्जनभन्दा बढीमा यस्तै प्रकृतिका प्रमुख छन्। त्रिवि स्रोतका अनुसार उपत्यकाबाहिरका सुर्खेत, जनकपुरसहित राजधानीको पाटन, अमृत साइन्स, पब्लिक युथ, पद्मकन्या क्याम्पस पनि निमित्त प्रमुखका भरमा छन्।
तीनमहिने म्याद लिएका प्रमुखलाई कानुनअनुसार सबै काम गर्ने अधिकार हुन्छ। तर छोटो समयका लागि नियुक्त भएका कारण उनीहरूले दीर्घकालीन योजना बनाएर काम गर्न सक्दैनन्। क्याम्पस सुधारका लागि आवश्यक नीतिगत निर्णय लिन उनीहरू डराउँछन्। भौतिक निर्माणका काममा पनि हिम्मत गर्दैनन्।
राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त हुँदा त्यसको नकारात्मक असर क्याम्पसहरूमा परेको छ।
छोटो अवधिका लागि आएका हुनाले अन्य सहकर्मी तथा कर्मचारीलाई अनुशासनमा राख्न पनि यस्ता प्रमुखलाई समस्या पर्छ। विद्यार्थीलाई अनुशासनमा राख्नसमेत समस्या पर्छ। निमित्तको जिम्मेवारी पाएका प्रमुखलाई पनि क्याम्पस प्रशासन चुस्त बनाउने अधिकार हुँदैन। दैनिक प्रशासनिक काम सम्पन्न गर्नेदेखि शिक्षक–कर्मचारीलाई तलब खुवाउनेसम्मका जिम्मेवारी मात्र यस्ता प्रमुखलाई हुन्छ।
क्याम्पसलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय र भौतिक निर्माणसम्बन्धी काम गर्ने अधिकार उनीहरूलाई हुँदैन। राजधानीकै एक पूर्वक्याम्पस प्रमुखले भने, ‘निमित्तको जिम्मेवारी बोकेर बसेकाहरू कुन दिन पदबाट निस्कनुपर्ने हो ठेगान हुँदैन। यस्तो अवस्थामा कसरी चुस्त काम गर्न सक्छन् ? ’
तीन महिनाको नियुक्तिपत्र लिएका पाटन क्याम्पसका प्रमुख योगेन्द्र साहले चार वर्षकै लागि नियुक्ति पाउँदा आफूहरूको आत्मबल बढ्ने बताए। क्याम्पस प्रमुखलाई त्रिवि कार्यकारी परिषद्को बैठकले निर्णय गरेपछि नियुक्तिपत्र दिन्छ। यस्तो नियुक्ति पाएका क्याम्पस प्रमुखको अवधि चार वर्ष हुन्छ। चारबर्से नियुक्तिपत्र दिन नसकिएको अवस्थामा तीन महिनाका लागि मात्र प्रमुखको जिम्मेवारी दिने चलन छ। तीनमहिने म्याद गुज्रिएर सोही व्यक्ति वा अन्यलाई चारबर्से नियुक्ति दिन नसकिए सम्बन्धित व्यक्ति स्वतः निमित्त हुन्छ।
उपकुलपतिको स्वार्थमा निमित्त वा तीनमहिने अवधि तोकेर क्याम्पस प्रमुख बनाउने गरिएको त्रिविकी शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले बताइन्। ‘कुनै क्याम्पसमा त एकै व्यक्तिलाई तीनतीन महिना म्याद तोकेर तीन पटकसम्म क्याम्पस प्रमुख बनाइएको छ। जुन गर्नै नहुने काम थियो’, त्रिपाठीले भनिन्, ‘कुन व्यक्तिलाई तीनमहिने म्याद तोकेर क्याम्पस प्रमुख बनाइएको छ भन्ने कुरा हामीलाई समेत थाहा हुँदैन। उपकुलपति कार्यालयबाट पत्र पाएर ‘सहयोगका लागि धन्यवाद’ भन्दै क्याम्पस प्रमुखहरू हाम्रो कार्यकक्षमा आएपछि मात्र जानकारी हुन्छ।’
विगतमा कांग्रेस निकट भएर निमित्त वा तीनमहिने क्याम्पस प्रमुख बनेकाहरूले अब विश्वविद्यालयको नेतृत्वमा नयाँ मान्छे आउँछ र आफूहरूलाई हटाउँछ भन्ने जानकारी पाएर जसरी पनि ‘कन्फर्म’ क्याम्पस प्रमुख बनाइदिन दबाब दिने गरेको त्रिपाठीले बताइन्। त्रिविमा राज्यले वार्षिक रूपमा अर्बौं रुपैयाँ लगानी परेको छ। तर अपेक्षाकृत प्रतिफल नआउन सकेको भन्दै विश्वविद्यालयको आलोचना हुने गरेको छ।