अनि मात्र चिनियाँ राष्ट्राध्यक्षको भ्रमण

अनि मात्र चिनियाँ राष्ट्राध्यक्षको भ्रमण

चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङले नेपाल भ्रमण गर्ने भन्ने हल्ला बारम्बार सुन्ने गरिन्छ। उनले सन् २०१३ मा सत्तारोहण गरेदेखि नै नेपालको भ्रमण गर्नेछन् भन्ने आशा गरिएको थियो भने नेपालको तर्फबाट पनि उनको भ्रमण गराउन निरन्तर प्रयास भइरहेको छ। यही निरन्तरता अप्रिलको अन्त्यमा चीनले आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय बीआरआई सम्मेलनमा पनि देखिनेछ। चीनको आतिथ्य स्विकार्दै उक्त सम्मेलनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले भाग लिँदै छिन् र फेरि पनि एकपटक चिनियाँ राष्ट्राध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिनेछिन्।

यसरी नेपालले धेरैपटक औपचारिक तथा राजकीय भ्रमणका लागि निम्तो दिइसकेको छ भने चिनियाँ पक्षबाट सधैं उपयुक्त तथा अनुकूल समय र निकट भविष्यमा भन्ने कूटनीतिक जवाफ मात्र पाइएको छ। आखिर किन र के कारण सत्ता सम्हालेको ६ वर्ष भइसक्दा पनि राष्ट्राध्यक्ष सी नेपाल आएका छैनन् ? केहीपटक राजनीतिक कारण र भवितव्यले पनि भ्रमणलाई पर धकेलेको देखिन्छ।

दुईपक्षीय उच्चस्तरीय भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धमा महत्त्वपूर्ण अर्थ राख्छ। साथै जनस्तरमा समेत ठूलो प्रभाव पार्ने गर्छ। हाम्रो उत्तरी सीमा पूरै चीनसँग जोडिएको छ। भूगोलले हामीलाई छिमेकी बनाएको छ भने आवश्यकता र अर्थतन्त्रले एक जिम्मेवार असल साथी बनाएको छ। जोन एफ केनेडीको उक्तिको अंश यहाँ उपयुक्त हुन्छ। ‘भूगोलले हामीलाई छिमेकी बनायो, अर्थतन्त्रले साझेदार र आवश्यकताले सहयोगी मित्र।’

हुन त सीले सत्ता सम्हालेदेखि नै छिमेकी मुलुकसँग घनिष्ट र सुमधुर कूटनीतिक सम्बन्ध राख्ने नीतिको घोषणा गरेका थिए। छिमेकी दह्रो भयो भने मात्र आफू दह्रो भइन्छ भन्ने भनाइलाई चीनले आफ्नो परराष्ट्र कूटनीतिमा पनि प्रयोग गर्दै आएको छ। प्रागैतिहासिक कालदेखिको नेपालसँगको मित्रवत् सम्बन्धलाई चीनले राम्रोसँग बुझेको छ र सक्दो सहयोग पनि गर्दै आएको छ। कुनै नेपालीले महाभूकम्प र अघोषित नाकाबन्दीको समयमा चीनले देखाएको सदाशयता बिर्सने छैनन्। तर चिनियाँ राष्ट्राध्यक्षलाई स्वागत गर्न भने नेपालीले पाएका छैनन्।

चिनियाँ नेताहरूमा सी सबैभन्दा धेरै विदेश भ्रमण गर्ने र सबैभन्दा धेरै मुलुकको भ्रमण गर्ने चिनियाँ राष्ट्राध्यक्ष हुन्। उनले फ्रान्स, इटालीलगायतको भ्रमण गरी यस वर्षको वसन्त भ्रमण हालै टुंग्याएका छन्। यही भ्रमण क्रममा जी– ७ मुलुक इटालीले नवीन रेशम मार्ग बीआरआईको फ्रेमवर्कमा रहने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ भने चीनले फ्रान्ससँग एयरबस खरिदसँगै ठूलो परिमाणमा आर्थिक सम्झौता गरेको छ। तर प्रश्न एउटै छ– के यस वर्ष होला चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण र होलान् त समृद्ध देश बनाउन आर्थिक सम्झौताहरू ?

उत्तरी छिमेकी चीनका राष्ट्राध्यक्षलाई नेपाल भ्रमण गराउन नसक्नु नेपालको कूटनीतिक असफलता हो।

सीले सन् २०१३ मा छिमेकी मुलुक रूसबाट आफ्नो विदेश यात्रा थालेका थिए, उक्त साल ब्रिक्स सम्मेलन, साङहाई कोअपरेसन, जी बीस तथा एपेक सम्मेलनमा सहभागी हुने क्रममा अरू थुप्रै देशको भ्रमण गरेका थिए। सन् २०१४ मा १८ वटा देशको भ्रमण गरे भने सन् २०१५ मा ४२ दिन विदेश यात्रामा मात्रै बिताएका थिए। सन् २०१६ मा १३ वटा देशको भ्रमण गरे भने २०१७ मा ८ र २०१८ मा २ सयभन्दा बढी कार्यक्रममा सहभागी हुँदै १३ वटा देशको भ्रमण गरे। तर प्रश्न एउटै सोझिन्छ– के यस वर्ष होला त चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण ?

चिनियाँ पक्षले हरेकपटक कूटनीतिक जवाफ उपयुक्त तथा अनुकूल समय र निकट भविष्यमा मात्रै भन्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१८ को चीन भ्रमण क्रममा बेइजिङमा भएको भेटवार्तामा पनि प्रधानमन्त्रीले नेपाल भ्रमणको निम्तो दिएका थिए भने सीले कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मितिमा नेपाल भ्रमणमा आउने बताएका थिए। त्यसअघि नेपालमा एमाले र माओवादीको वाम गठबन्धनको बहुमत सरकार बनेलगत्तै पनि चिनियाँ राष्ट्राध्यक्ष नेपाल भ्रमणमा आउने तयारी भइरहेको अपुष्ट हल्ला चलेको थियो।

सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण क्रममा चिनियाँ राष्ट्राध्यक्षसँग भएको लघु भेटमा पनि नेपाल भ्रमणको निम्तो दिएका थिए। यसअगाडि पनि २०१६ मा भारतको गोवामा भएको ब्रिक्स शिखर सम्मेलन दौरान चिनियाँ राष्ट्राध्यक्षसँगको भेटमा तत्कालीन प्रधानमन्त्री दाहालले नेपाल स्वागत गर्न आतुर रहेको बताएका थिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चिनियाँ राष्ट्राध्यक्ष नेपाल भ्रमणका लागि आउने तर सत्ता परिवर्तनको खेलले भ्रमण हुन नसकेको अर्को हल्ला चलेको थियो।

सन् २०१५ सेप्टम्बरमा नेपालमा संविधान जारी भएपछि पनि चिनियाँ राष्ट्राध्यक्षको भ्रमणको चर्चा तातेको थियो र लगत्तै भारतबाट भएको अघोषित नाकाबन्दीका कारण त्यो पनि सेलाउन पुग्यो। सन् २०१५ अप्रिलमा इन्डोनेसियाको जकार्तामा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको दसौं वार्षिकोत्सव समारोहका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्राध्यक्ष सीसँग दुईपक्षीय भेटवार्ताका क्रममा पनि नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला पनि सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए।

त्यसैगरी सन् २०१५ मार्चमा चीनको हाइनानमा आयोजित पोआओ फोरमको अवसरमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव र चिनियाँ राष्ट्राध्यक्ष सीबीच भएको भेटमा पनि नेपाल भ्रमणको निम्तो दिइएको थियो। यसैगरी सन् २०१४ डिसेम्बरमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए। उनको त्यस भ्रमणलाई पनि सीलाई नेपाल भ्रमण गराउने अवसरका रूपमा हेरिएको थियो तर लगत्तै शक्तिशाली भूकम्प गएकाले अगाडि बढ्न सकेन।

यसरी नेपालले निम्तो दिने र चीनबाट उपयुक्त समय र निकट भविष्यमा भनिरहँदा राजनीतिक अस्थिरताका साथै प्राकृतिक विपत्तिले झेल गरेको देखिन्छ।

सन् २०१३ मा सी जिनपिङ चीनको राष्ट्राध्यक्ष भएदेखि नै नेपालको भ्रमण गराउने प्रयास सफल हुन सकेको छैन। सीले दक्षिण एसियाका अधिकांश देशको भ्रमण गरिसकेका छन् तर हिमालपारिको छिमेकी देश नेपाल आएका छैनन्। आखिर के कारण आजको दिनसम्म नेपालको भ्रमण भएन त ? सीले अगाडि सारेको नवीन रेशममार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले २०७४ वैशाख २९ गते हस्ताक्षर गरेको थियो र हस्ताक्षरसँगै पनि भ्रमणको आशा गरिएको थियो।

अब चीन के चाहन्छ ?

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक नेपाल भ्रमण गरिसकेका छन् भने भारतीय राष्ट्रपति प्रणव मुखर्जीले समेत नेपाल भ्रमण गरिसकेका छन्। दक्षिण छिमेकी भारतको तर्फबाट भएका यी उच्चस्तरीय नेपाल भ्रमणले नेपाललाई प्राथमिकतामा राखेको देखिन्छ र हालसम्म छिमेकी नीतिमा चीनले नेपाललाई महत्त्व नदिएको हो त ? या उत्तरी छिमेकी चीनका राष्ट्राध्यक्षलाई नेपाल भ्रमण गराउन नसक्नु नेपालको कूटनीतिक असफलता हो।

पहिले नेपालको अस्थिर सरकारका कारण चीनतर्फबाट उच्चस्तरीय भ्रमण हुन नसकेको हल्ला थियो। त्यसमाथि नेपाल संविधान निर्माणमा जुटेको थियो। पहिलो नम्बरमा राजनीतिक र आन्तरिक कारणले भएन तर संविधान जारीपछि नयाँ बहुमतीय सरकार गठनपछि पनि किन हुन सकेको छैन। नेपालमा बलियो सरकार भए सीको भ्रमण हुने चर्चा थियो। तर चालु वर्ष हालसम्म कुनै सम्भावना देखिएको छैन। चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणको आवश्यक तयारी नपुगेको नेता तथा कूटनीतिज्ञहरूको बुझाइ छ। कूटनीतिक संयन्त्रहरू फितलो हुँदै जाँदा यस्तो अवस्था आएको परराष्ट्रविद्को दाबी छ। त्यसबाहेक नेपालले चीनबाट चाहेको सहयोगलाई खुलस्त रूपमा राख्न नसक्दा पनि भ्रमण हुन नसकेको जानकारहरूको भनाइ छ।

सन् १९९६ डिसेम्बरमा चीनका तत्कालीन राष्ट्राध्यक्ष च्याङ चमिनले दुईदिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन्। बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा २०६८ पुस ५ गते तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको दुईदिने भ्रमण गर्ने तय भएकोमा सरकारी स्तरबाट भ्रमण तालिका सार्वजनिक भएपछि अन्तिम अवस्थामा भ्रमण रद्द भएको थियो। तापनि पुस ३० गते प्रधानमन्त्री वेनले पाँचघण्टे नेपाल भ्रमण गरेका थिए। तर त्यो भ्रमणबाट नेपालले अपेक्षा गरेअनुरूप फाइदा लिन सकेन।

चालु वर्ष या अति शीघ्र सीले नेपाल भ्रमण गरे के नेपाल स्वागत गर्न सक्षम छ ? के नेपाल आर्थिक साझेदारीसम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू गर्न तयार छ ? त्यतातिर विशेष ध्यान जरुरी छ। हालै मात्र सीले फ्रान्स भ्रमण क्रममा ठूलो परिमाणमा एयरबस खरिदको सम्झौता गरेका छन्। नेपालसँग त्यस्तो उत्पादन छैन। नेपालले भने विकासका गतिरोध हटाउन चिनियाँ प्रविधि र लगानी भित्र्याउने हो र विश्व पावर हाउस चीनसँग चाहेको सहयोग खुलस्त रूपमा प्रस्ताव राख्ने हो।

सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण क्रममा सीले त्यस बखत हुन लागेको नेपालको निर्वाचनलाई सहयोगस्वरूप नौ मिलियन युआन उपलब्ध गराएका थिए। त्यसैगरी सन् २०१५ मा बोआओ फोरमको अवसरमा तत्कालीन राष्ट्रपति रामवरण यादवसँगको भेटमा चिनियाँ राष्ट्राध्यक्षले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई वृद्धि गर्दै ९ सय मिलियन चिनियाँ यूआन पुर्‍याएका थिए।

अब नेपाल नवीन रेशममार्गसम्बन्धित आयोजनामा सहयोगका सम्झौताहरू गर्दै चीनले बजाउँदै आएको विकासको बिगुललाई मिलेर बजाउन तम्तयार हुनुपर्छ। त्यसका लागि राष्ट्रिय प्राथमिकताका आयोजनाहरूका विस्तृत परियोजना प्रतिवेदनहरू तयारी हालतमा राखी नेपालले लगानी तथा सहयोगका लागि अपिल गर्नुपर्छ तब मात्र चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण हुने छ।

साथै सीको नेपाल भ्रमणसँगै चिनियाँ पर्यटक धान्न मुस्किल पर्नेछ। कुनै बेला पनि हुन सक्ने भ्रमणसँगै लाखौंको संख्यामा ओइरिने चिनियाँ पर्यटकलाई ध्यानमा राखी सत्कारको तयारी युद्धस्तरमा गर्नु जरुरी छ। सीको भ्रमणसँगै नेपालको आर्थिक विकासले अवश्य फड्को मार्ने छ तर त्यसका लागि नेपाल पूर्ण तयारी अवस्थामा रहनुपर्छ।

यसर्थ सीको नेपाल भ्रमण अपरिहार्य बनेको छ र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक उचाइ कायम राख्न पनि महत्त्वपूर्ण छ। त्यसमाथि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीपछि त झन् नेपालमा चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमण जनताको चासो बनेको छ। साथै छिमेकी देश नेपाललाई वास्ता नगरेको भन्ने आरोपबाट बच्नका लागि पनि चीनको तर्फबाट उच्चस्तरीय भ्रमण जरुरी छ। अब अप्रिलको अन्तिम साता राष्ट्रपतिको बेइजिङ भ्रमण क्रममा फेरि पनि निम्तो दिइने छ। चिनियाँ राष्ट्राध्यक्षको भविष्यमा हुन सक्ने (एउटा सम्भावना दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव) नेपाल भ्रमणको सुखद पर्खाइमा आमनेपाली छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.