जनगणना २०७८ को कार्ययोजना तयार

जनगणना २०७८ को कार्ययोजना तयार

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ का लागि राष्ट्रिय तथ्यगत विवरण संकलन गर्ने तयारी गरेको छ। पूर्ण गणनामार्फत विभागले तथ्यांक संकलन गर्ने भएको हो।

जनशक्ति र अन्य स्रोत प्रक्षेपणसहितको परियोजनाको तयारी गरिरहेको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। जनगणनाका लागि सात सय ५३ स्थानीय तहको गणना नक्सा निर्माण भइरहेको उनले बताए। आगामी आर्थिक वर्षमा नक्सा तयार गरेर प्रिन्टसमेत गर्ने तयारीमा रहेको उनले बताए।

जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयारी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाएको छ। पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्नेछ। जनगणना सञ्चालन पूर्वपाइलट सर्वेक्षणको तयारी पनि विभागले गरेको छ।

आगामी आर्थिक वर्षदेखि विभागले जनगणना पाइलट सर्वेक्षण सञ्चालन गर्ने महानिर्देशक अर्यालले जानकारी दिए। पाइलट सर्वेक्षणपछि प्रश्नावली र निर्देशिका अन्तिमरुप दिने योजना छ।

हाल विभागले प्रश्नावली निर्देशिका बनाइरहेको छ। यसलाई अन्तिम रूप दिएपछि विभागले प्रश्नावली तथा गणना निर्देशिका लगायत प्रशासनिक तथा आर्थिक निर्देशिका छाप्नेछ। 

चार वर्षको कार्ययोजना

विभागले आगामी जनगणनाका लागि आव ०७६÷७७ देखि ०७९÷८० सम्मको कार्ययोजना बनाइसकेको छ। ०७७÷७८ मा विभागले प्रदेश तथा जिल्ला र स्थानीय तहमा कार्यालय स्थापनासमेत गर्नेछ। प्रदेश जनगणना कार्यालय अन्तर्गत प्रदेश जनगणना समन्वय समिति गठन गर्नेछ। यसको अध्यक्षता आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवले गर्नेछन्।

जिल्ला गणना कार्यालय अन्तर्गत पनि जिल्ला जनगणना समन्वय समिति स्थापना हुनेछ। यसमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहनेछन्।

स्थानीय जनगणना कार्यालयमा स्थानीय तह जनगणना समन्वय समिति गठन गर्नेछन्। यसमा स्थानीय तहका सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत अध्यक्ष रहने विभागले जानकारी दिएको छ। यस अवधिमा सम्बन्धित कार्यालयमा गणना सामग्री ढुवानी गरिसक्ने उसको योजना छ।

मुख्य गणना कार्य पनि सोही समयमा सञ्चालन गर्नेछ। भरिएका प्रश्नावली संकलन गरिसक्ने विभागले जानकारी दिएको छ। घर तथा परिवार सूचीकरणका लागि २० दिनसमय तोकेको छ भने व्यक्तिगत गणनाका लागि १५ दिन छ।

आव ०७९÷८० मा तथ्यांक प्रविष्टि गर्ने, जनगणना जाँच सर्वेक्षण गर्नेछ। त्यसको दुई÷तीन महिनामा प्रारम्भिक नतिजा सार्वजनिक गरिसक्ने विभागको तयारी छ। अन्तत: सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन (जनसंख्या मोनोग्राफ) तयार गरी प्रकाशन समेत गर्ने विभागको योजना छ।

विधि

तथ्यांक संकलनका लागि बहु मोडल दृष्किोण अपनाउने विभागले जानकारी दिएको छ। सहज पहुँच र उच्च नेटवर्कका आधारमा ट्याबलेट र कागजी दुवै किसिमको मि िश्रतरुपमा प्रयोग हुने महानिर्देशक अर्यालले जानकारी दिए। उनका अनुसार विदेशस्थित कूटनीतिक नियोगमा विद्युतीय गणना (ई सेन्सस) विधिको समेत प्रयोग गर्ने योजनामा विभाग छ।

तथ्यमा आधारित बसोवासको विधि प्रयोग गर्नेछ। यसअनुसार गणनाको समयमा जो व्यक्ति जहाँ छ त्यहीँबाट गणना गर्नेछ।

यस्तै अर्काे विधिअनुसार गणनाको समयमा कुनै पनि व्यक्ति कानुनीरूपमा जहाँ बसोबास गर्छ त्यहीबाट गणना गर्नेछ।

अक्सर बसोबास अर्थात गणनाको समयमा कुनै व्यक्ति जहाँ बसोबास गर्छ त्यहीबाट गणना गर्ने विभागले जानकारी दिएको छ। यस विधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ छ त्यहीबाट गणना गर्नेछ।

यदि व्यक्ति ६ महिना वा सोभन्दा बढी बसोबास गर्छ वा बसोबास गर्ने मनसाय राखेको छ, त्यहीँबाट गणना गर्छ। छोटो अवधिको लागि औषधि उपचार वा तिर्थाटन गएको समेत यस विधिमा पर्ने विभागले जानकारी दिएको छ।

यस अघि २०६८ मा जनगणना भएको थियो। त्यो सय वर्षको ११औं जनगणना हो। यसमा पशुपंक्षीको पूर्णगणना समेत समेटिएको थियो। हालसम्म ११ वटा जनगणना सम्पन्न भइसकेका छन्। १९६८ पछि नेपालमा करिब १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.