मन्दी निरोध गर्न वित्तीय नीतिको सुधारमा केन्द्रीत

मन्दी निरोध गर्न वित्तीय नीतिको सुधारमा केन्द्रीत

 अमेरिका : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगट्ने अर्थतन्त्रहरूको आर्थिक विस्तार सुस्त रहे पनि सन् २०१९ मा विश्व अर्थतन्त्र ३.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्ने बताएको छ।

यसअघि आईएमएफले सन् २०१९ मा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरे पनि अमेरिका र चीनबीचको जारी व्यापार तनाव, जर्मनीको सवारीसाधन क्षेत्रमा अवरोध, चीनको कर्जा नीतिमा कडाई, अर्जेन्टिना र टर्कीको आर्थिक स्थायित्वमा दबाबका बाबजुद पनि उल्लेखित वृद्धिदर सम्भव रहेको बताएको हो।

ठूला र उदीयमान अर्थतन्त्रमा देखिएको सुस्तता र समस्याका कारण विश्व अर्थव्यवस्थामा मन्दी आउन नदिन आईएमएफले वित्तीय नीतिको सुधार र स्थायित्वमा जोड दिएको छ। आईएमएफले वित्तीय नीति (बजेट) को पारदर्शिता, सार्वजनिक ऋण व्यवस्थापन, राजस्व नीतिमा सुधार र कार्यान्वयन निकायहरूको क्षमता विस्तारका लागि आईएमएफले आग्रह गरेको छ।

वित्तीय नीतिको पारदर्शिता, राजस्व प्रणालीमा सुधार तथा कार्यान्वयन निकायको क्षमताको अभावमा विश्वभरका सरकारको बजेटबाट वार्षिक रूपमा एक खर्ब डलर बराबरको रकम अनियमितता हुने गरेको आईएमएफको भर्खरै सार्वजनिक भएको प्रकाशन वित्तीय अनुगमन (फिस्कल मोनिटर) मा उल्लेख छ।

‘सार्वजनिक खर्च पारदर्शिता र प्रभावकारितामार्फत अनियमितता नियन्त्रण गर्नुपर्छ’, आईएमएफका वित्तीय मामिला निर्देशक भितोर गास्परले भने, ‘यस्तो अनियमितताले नै विकासको समान र समावेशी लाभ विस्तारमा अवरोध गरिरहेको छ।’ आर्थिक वृद्धिदरमा सुस्ततासँगै धेरै देशले बजेट घाटा कम गर्न कर तथा ऋणको आकारमा कटौति गर्दै लगेका छन्। दक्षिण एसियाली देशले भने अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका छन्।

सन् २०१९ र २०२० मा ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ। उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका देशले भने प्राप्त उपलब्धिको लाभ लिँदै अर्थतन्त्र सुस्त हुँदा हुने जोखिम नियन्त्रणका लागि सञ्चित कोषको बफर बढाउन सुझाव दिइएको छ।

यसअघि आईएमएफले विश्व आर्थिक परिदृश्य (वल्र्ड इकोनोमिक आउटलुक, २०१९) को अद्यावधिक संस्करण सार्वजनिक गर्दै सन् २०२० मा भने विश्व अर्थतन्त्रमा सुधार आउने अपेक्षा गर्न सकिने बताएको छ। आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले सन् २०२० मा भने आर्थिक विस्तारमा सुधार आउने उल्लेख गरिन्। सन् २०२० मा विश्वको आर्थिक विस्तार ३.६ प्रतिशत रहने आईएमएफको अनुमान छ।

विश्व अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने युरोपेली संघ, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलियाजस्ता अर्थतन्त्रको विस्तार सुस्त हुन पुगेको छ। चीन र अमेरिकाबीच जारी व्यापार तनावका कारण दुवै देशको आपूर्ति प्रणालीमा आवद्ध भएका अर्थात् सम्बन्धित देशमा निर्यात गर्ने राष्ट्रमा समेत आर्थिक विस्तार सुस्त भएको छ।

यद्यपि, दक्षिण एसियाले भने उक्त समस्या सामना गर्नुपरेको छैन। तर चिनियाँ अर्थतन्त्रमा निरन्तर सुस्तताले भने दक्षिण एसिया लामो समय अछुतो हुन नसक्ने बताइएको छ। आईएमएफले विश्व अर्थतन्त्रको विस्तारको गति धिमा हुन नदिन वित्तीय नीतिमा सुधारका तथा अन्तरदेशीय वित्तीय प्रोत्साहनको समेत सम्भावना पहिचान गर्नुपर्ने भन्दै यसका अतिरिक्त बृहद् बहुपक्षीय साझेदारीमा जोड दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.