मातृमृत्युको प्रमुख कारक उच्च रक्तचाप

मातृमृत्युको प्रमुख कारक उच्च रक्तचाप

उच्च रक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोग सम्झन्छौं। गर्भावस्थामा पनि उच्चरक्त चाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ तर गर्भावस्थामा पनि उच्च रक्तचाप हुन सक्छ र यो गर्भवती महिलाको मृत्युको कारण पनि हुन सक्छ। यसरी बढेको रक्तचाप गर्भको बच्चा जन्मेको केही घण्टादेखि १२ हप्तासम्ममा पुनः सामान्य हुन्छ।

गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्नु अनि प्रसव भएको १२ हप्तामा फेरि सामान्य हुने अवस्थालाई गर्भावस्थाको रक्तचाप वा जेस्टेसलन हाइपर टेन्सन भनिन्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ। यस किसिमका रक्तचाप गर्भको कारणले वा शालनाल (प्लासेन्टा) का कारणले भएको हो।

सुनसरी डुम्राहाकी २२ वर्षीया पार्वती साहको अवस्था गर्भ रहेको ३९ हप्ताको अवधिसम्म सामान्य थियो।र उनले गाउँकै स्वास्थ्य चौकीमा गर्भ परीक्षण (एएनसी) गरिरहेकी थिइन्। उनलाई एक्कासि टाउको दुख्न थालेपछि घरमै स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्न लगाइयो। परीक्षणपछि उनको रक्तचाप २१०/११० रहेको पाइयो। त्यो देखेर स्वास्थ्यकर्मी आत्तिए। उनलाई तुरुन्त प्रसव गराउन आईसीयू सुविधा भएको अस्पताल लैजान सल्लाह दिइयो। उनका पति सुरेन्द्रले उनलाई तत्कालै मोरङ सहकारी अस्पताल विराटनगर लिएर आए। यहाँ पनि उनको रक्तचाप २१०/११० थियो। उनी एकपटक बेहोस भइसकेकी थिइन्। यो एउटा जटिल अवस्था हो भनेर उनका आफन्तलाई सम्झाएँ। उनलाई तुरुन्तै म्याग्नेसियम सल्फेट नामक सुई प्रयोग गरियो र अन्य रगतका परीक्षण र रगतको व्यवस्था गरेर सोही दिन शल्यक्रिया (सिजरियन) गरेर प्रसव गराइयो। गर्भावस्थामा रक्तचाप बढेर बेहोस हुने यस्तो अवस्थालाई इक्लम्पसिया भनिन्छ। यस अवस्थामा आमा र बच्चा दुवै जोखिममा हुन्छन्। इक्लेम्पसिया भएको अवस्थामा मातृ मृत्यु हुने सम्भावना १० प्रतिशत रहेको हुन्छ। अझ गर्भको अवधि ३४ हप्ताभन्दा कम भएमा यो सम्भावना अझ बढी हुन्छ। यस अवस्थामा एकातिर रक्तचाप घटाएर आमालाई जोगाउनुपर्ने हुन्छ भने अर्कोतिर सम्भव भएसम्म बच्चालाई पनि जोगाउनुपर्ने हुन्छ।

विश्व स्वास्थ्य संघको २०१६ नोभेम्बरको प्रतिवेदनअनुसार अझै पनि विश्वमा करिब ८३० महिला गर्भ तथा प्रसवकै कारण मर्ने र सोमध्ये ९९ प्रतिशत महिला विकासोन्मुख देशका मर्छन्। मातृ मृत्यु हुनुको पछाडि धेरै कारण हुन सक्छन्। कम उमेरमा विवाह गर्नु, कम उमेरमै बच्चा पाउनु, तुरुन्तातुरुन्तै गर्भवती हुनु, खानपिनमा ध्यान नदिनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्नु आदि कारणले प्रत्यक्ष वा परोक्ष रूपमा मातृमृत्युमा सहयोगी भूमिका खेलेका हुन्छन्।

मानिसको सचेतना बढ्दै गएको छ। सामाजिक परिवर्तन, स्वास्थ्य सेवाको विस्तार, गर्भपतनलाई कानुनी मान्यता, अवैध गर्भपतनमा कमी आदिले मातृ मृत्यु दरमा निकै कमी आएको छ। सन् २०१६ को डेमोग्राफिक एन्ड हेल्थ सर्भेका अनुसार सन् १९९६ मा ५३९ रहेको नेपालको मातृ मृत्यु दर सन् २०१६ मा २ सय ३९ मा झरेको छ। मातृ मृत्युको कारण अहिले पनि रक्तस्राव (प्रसवअगाडि र प्रसवपछाडि), उच्च रक्तचाप तथा त्यसैले जन्माएको समस्या इक्लेम्पसिया रहेको पाइन्छ।

मातृ मृत्युको प्रमुख कारणमा रक्तस्रावका कारणले हुने मृत्युमा कमी आए पनि उच्च रक्तचाप तथा इक्लेम्पसियाका कारणले हुने मृत्यु प्रतिशत भने बढ्दै गएको छ। ‘म्याट्रेनल मोर्टालिटी एन्ड मोर्बिडिटी स्टडी २००८/०९’ का अनुसार सन् २००८ मा नेपालमा २१ प्रतिशत मातृ मृत्युको कारण उच्च रक्तचाप र यसले ल्याएका समस्या (इक्लेम्पसिया) रहेका छन्, जुन सन् १९९८ मा ११ प्रतिशत मात्र थियो। उच्च रक्तचाप गर्भ रहनुअगाडि पनि भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ। २० साताको गर्भवती महिला वा शिशु जन्मिएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०/९० हुनु वा कम्तीमा ४ घन्टाको फरक पारेर दुईपटक रक्तचाप नाप्दा १४०/९० हुनु (पहिले रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा जेस्टेसलन हाइपर टेन्सन भनिन्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा हुन्छ। उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ। यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्युसमेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै बच्चाको मृत्युसमेत हुन सक्छ।

गर्भवतीमा देखा पर्ने यस किसिमको समस्यालाई इक्नाम्पसिया भनिन्छ र यो पहिलोपटकको गर्भमा बढी देखा पर्ने र खतरनाक साबित हुने गरेको पाइन्छ। शरीरका सम्पूर्ण रक्तनली, विशेषगरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनली आवश्यकभन्दा बढी संकुचित भएकाले उच्च रक्तचाप, प्रिइक्लाम्पसिया तथा इक्लाम्पसिया हुन्छन्। प्रिइक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ। एकपटक मात्र पनि इक्लाम्पसिया भएमा पनि गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैको लागि खतरा हुन्छ। जेस्टेसलन हाइपर टेन्सन, प्रि–इक्लाम्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ। यस्तो समस्याका लागि सुविधासम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि मृत्यु हुन सक्छ। यी समस्याको मुख्य कारण गर्भमा रहेको बच्चा तथा शालनाल हुने भएकाले अति संवेदनशील अवस्थामा तथा आमाको ज्यान जोगाउन गर्भको अवधि नपुग्दै बच्चाको जन्म गराउनुपर्ने हुन सक्छ।

हरेक गर्भ आफैंमा जोखिमपूर्ण रहेकाले अनावश्यक रूपमा गर्भवती हुनु हुँदैन। त्यसैले परिपक्क वा २० वर्ष पार गरेपछि मात्र विवाह गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउने हो भने मातृ मृत्यु दरमा कमी आउने छ। गर्भास्थामा नियमित परीक्षण, रक्तचापको सर्तकता अपनाई जटिलताको परीक्षण गर्नुपर्छ। यस्तो अवस्थामा नियमित औषधि सेवन गर्ने तथा बच्चाको तौल राम्रो हुनेबित्तिकै वा गर्भको अवधि ३७ हप्ता पार गर्नेबित्तिकै थप जटिलता देखा पर्नुअगाडि नै बच्चा जन्माउने तयारी गर्नु बुद्धिमानी हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.