हुरीपीडितलाई जुम्ली विद्यार्थीको सहयोग
जुम्ला : भीषण हावाहुरीबाट प्रभावीत बारा र पर्साका बालबालिकालाई राहतस्वरुप जुम्लाका विद्यार्थीले आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले विभिन्न व्यक्तिबाट संकलन गरेको रकम १७ हजार रुपैयाँ राहत कोषमा पठाइ दिएका हुन्।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जुम्लाका नगर इकाइ समिति सचिव सारदा पँछाईको नेतृत्वमा विद्यार्थीले राहत संकलन गरेका थिए। 'थोपा थोपा मिलेर सागर बनेजस्तै देशभरबाट सबैले थोरैथोरै रकम सहयोग गरेमा बारा र पर्साका सबै बालबालिकालाई राहत पुग्छ,' सचिव सारदा पँछाईले भनिन्, 'हामीले एक छाक नास्ताको रकम समेत बचाएर सहयोग गरेका छौं, यसले पक्कै पनि पीडित विद्यार्थीलाई सहयोग पुग्नेछ।'
कुनै पनि प्राकृतिक विपत्तिमा सबैभन्दा बढी बालबालिका तथा विद्यार्थी प्रभावित हुने भन्दै जुम्लाका विद्यार्थीले पठाएको राहत बारा र पर्साका विद्यार्थीकै हातमा पुग्ने उनले अपेक्षा गरिन्। हिमाल, पहाड, तराई देशभर जहाँ रहेपनि दुःखमा एक अर्कालाई सहयोग गर्नुपर्ने जुम्ली विद्यार्थीको भनाई छ।