यूएईविरुद्ध हरि र भीमको अर्धशतक २४८ रनको लक्ष्य
क्यालालम्पुर : मलेसियामा जारी यू–१९ विश्वकप छनोट एसिया अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाललेअहिले यूएईको सामना गरिरहेको छ । नेपाली यू–१९ टोलीले यूएईसामु २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाई २४७ रन बनाएको हो । नेपालका लागि हरिबहादुर चौहान र भीम सार्कीले अर्धशतक प्रहार गरे । भने चौहान ७४ बलमा ६७ रन बनाई अभिजित रहे। सार्कीले ५४ बलमा ४ चौका र २ छक्का सहित ५३ रन बनाए ।
त्यसपछि नेपालका लागि ओपनर रित गौतमले ४४ रन, आशिफ शेखले २७ रन कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । यूएईका रिशभ मुखर्जीले नेपालको ४ विकेट लिए भने मोहमद फाराजुद्धिनले ३ विकेट लिए।
२२ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपाली युवा टोलीले ६९ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुम्दा नेपालको स्कोर ११५ रन हुँदा ५ विकेट गुमेको थियो । हरिबहादुर र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरी २०७ रनको अवस्थामा पुर्याएपछि नेपालले राम्रो स्कोर बनाउन सकेको हो।
प्रतियोगितामा पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २१७ रनको विशाल अन्तरले हराएको थियो । यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र यूएई सहभागी छन्।