स्टार खेलाडीलाई आराम दिँदा बार्सिलोनालाई धक्का
एजेन्सी : स्पेनिस ला लिगाको शनिबार रातिको खेलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ। स्टार खेलाडीहरुलाई आराम दिएर मैदानमा उत्रिएको बार्सिलोनालाई अंक तालिकाको पुच्छारमा रहेको नवप्रवेशी टोली हुयस्काले गोलरहति बराबरीमा रोकेको हो।
हुयस्काको मैदानमा भएको खेलमा बार्सिलोनाका खेलाडीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेनन्। यस खेललमा बार्सिलोनाले स्टार खेलाडीहरू मेसी, स्वारेज, कोटिन्हो, राकाटिकलाई मैदानमा उतारेको थिएन। डेम्बेले र बोटेङलाई स्ट्राइकको जिम्मेबारी दिएको थियो।
कमजोर टोली भएकाले महत्वपूर्ण खेलाडीहरुबिनै सहज जित निकाल्ने आशा गरेको बार्सिलोलाई धक्का लागेको छ। फराकिलो अग्रता बनाई उपाधिलाई सहज बनाउने अवसर गुमाएको छ। यसअघि घरेलु मैदानमा बार्सिलोनाले हुयस्कालाई ८–२ गोले हराएको थियो।
बराबरीका बाबजुद पनि ३२ खेलबाट ७४ अंक बनाएको बार्सिलोना दोस्रो स्थानका एथ्लेटिको मड्रिडभन्दा ९ अंकले अगाडी छ। शनिबार कै खेलमा सेल्टाभिगोमाथि २–० को जित निकालेको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ६५ अंक छ।
च्याम्पियन लिग क्वाटर फाइनलमा म्यान्चेस्टर युनाइटेडविरुद्ध दोस्रो लेगको खेल मंगलबार हुँदैछ। यसैका लागि बार्सिलोनाले आफ्ना महत्वपूर्ण खेलाडीलाई आराम दिएको हो।