नेपाली संस्कृतिको सेतु
सौरमानका आधारमा बाह्र महिना मिली बनेको संवत्सर नै वर्ष वा साल वा संवत् हो। विश्वमा प्रायः मुलुकले आत्मसात गरेका राष्ट्रिय संवतहरू जसलाई अभिनव वर्ष प्रारम्भको दिन महोत्सवका साथ मनाउने गरिन्छ। कुनै पनि समुदाय, प्रदेश वा देशमा नयाँ संवत्सँग कुनै न कुनै ऐतिहासिक, सामाजिक, सांस्कृतिक घटना गाँसिएका हुन्छन्। कतै चक्रवर्ती राजाले विजय अभियान पूरा गरेको, बाह्य शत्रुलाई परास्त गरेको, देशवासीका लागि चीरकालसम्म स्मरण रहने उच्च कार्य सम्पन्न भएको खुसीयालीमा नयाँ संवत् उठान गरेको पाइन्छ। कहीं त किम्वदन्तीकै आधारमा पनि संवत्को थालनी भएका छन्। विश्वभरि संवतहरू चलनचल्तीमा छन्। तर जति संवत् उद्भव हुन पुगे ती सबै चलनचल्तीमा देखिँदैन।
विसं २०७५ चैतमा ५७७८–७९ मा टेकिरहेको हिब्रु संवत्लाई नै विश्वकै सर्वप्राचीन संवत् रहेको छ। प्रयोगमा खासै नआउने तर गणना भइरहने २०७५ चैतमा ५११९ ब मा दौडिरहेको कलियुग संवत्लाई पनि अर्को प्राचीन संवत् हो। नेपालमा व्यवहारमा नआए पनि गणना हुने संवतमा किरात येले संवत्, शाक्यमुनि बुद्ध संवत्, लक्ष्मण संवत् आदि छन्। भारतमा पनि हिजरी, कलचुरी, गुप्त, हर्ष, गाङ्गेय, शक, विक्रम आदि सूचीकृत छन्। नेपालमा प्रचलनमा आएका संवतमा शक संवत्, मानदेव संवत्, नेपाल संवत्, विक्रम संवत् र ईस्वी संवत् प्रमुख छन्। ईस्वीको पाँचौं–छैटौं शताब्दीतिर अर्थात् प्राचीन नेपालमा शालिवाहनसमेत भनिने शक संवत् प्रचलनमा रहेको छ जुन संवत् ई. ७८ वा विसं १३५ मा आरम्भ भएको थियो।
शक संवत् प्रयोग भइरहेको बेला मानदेव नामक अर्को संवत् चलनचल्तीमा आउन थाल्यो। ई ५७६ मा प्रारम्भ भएको मानदेव संवत् छैटौं–सातौं शताब्दीमा केही समय चलनमा आयो र हरायो। उता शक संवत्को प्रयोग कम भए पनि आजसम्मै पचांग निर्णायक समितिबाट स्वीकृत पात्रोहरूमा फाटफुट उत्कीर्ण भइरहेकै देख्न सकिन्छ। पूर्वमध्यकालको प्रारम्भका राजा राघवदेवको शासनकाल अर्थात् ई. ८७९ अक्टोबर २० (९३६ साल कार्तिक शुक्ल प्रतिपदा) बाट अर्को नयाँ संवत् सुरु भयो जसलाई प्रारम्भमा पशुपतिभट्टारक संवत् भनियो। पछि यो नेपाल संवत् नामले चल्यो। मध्यकालमा नेपाल संवत्को प्रयोग विशेष काठमाडौं उपत्यकाभित्र बढी रह्यो। राष्ट्रिय संवतमा दर्ज भएपछि पनि उपत्यकाभित्र नेवार समुदायवरिपरि नै यो संवत् केन्द्रित हुन पुग्यो।
विश्वमा सबभन्दा बढी प्रयोगमा आउने संवतमा ईस्वी संवत् नै रहेको छ। ईस्वी संवत् जिसस क्राइस्टको जन्मसम्बद्ध मान्दै स्मरणार्थ चलाइएको मानिन्छ र यसलाई ग्रेगोरियन संवत्को नामबाट पनि चिनिन्छ। सोह्रौं शताब्दीको अन्त्यदेखि ग्रेगोरियन पात्रो (क्यालेन्डर) प्रयोगमा आउन थालेको अनुमान हुन्छ। भनिन्छ– यसअगाडि यसको जुलियन पात्रोका रूपमा चिनारी रहेको थियो। नेपालमा भने ईस्वी संवत्को प्रभाव र प्रयोग केहीपछि नै अर्थात् मध्यकालको उत्तरार्ध अर्थात् अठारौं शताब्दीबाट मात्र हुन पुग्यो। आज यो संवतमा जनवरी १ लाई नव वर्षको पहिलो दिन मानिन्छ भने विश्वभर नै देश–देशबीच हुने सन्धि–सम्झौता, पत्राचार आदिमा प्रायः ईस्वी नै प्रयोग देखिन्छ। भारतस्थित इस्ट–इन्डिया कम्पनीसँग भएका पत्राचार, सन्धि, नेपाल–अंग्रेज युद्ध (ई. १८१४–१६) पछि भएको सुगौली–सन्धिलगायतमा ईस्वी संवत् नै प्रयोग गरिएको छ। केही समययता प्रायः विदेशी लेखकका लेख तथा प्रकाशनहरूमा पनि ईस्वीलाई नै प्राथमिकता दिइएको प्रस्ट हुन्छ। आज कुनै पनि लेख, प्रलेख वा अरू कुनै संवत्सँगसँगै ईस्वी संवत् पनि उत्कीर्ण गर्ने परम्परा बढेको छ।
नेपालका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विविध जाति तथा समुदायका संस्कार–संस्कृतिसँग अनन्य रहेको, भिजेको र लोकप्रिय एवं व्यावहारिक देखिएको राष्ट्रिय संवत् हो– विक्रम संवत्। तत्कालीन उत्तर भारतका धेरै शासकको उपाधि विक्रमादित्य रहेको ठम्याइका आधारमा ईशापूर्व प्रथम शताब्दीका उज्जैनका अधिपति विक्रमादित्यले नै विक्रम संवत् प्रवर्तन गरेको हुन सक्ने धेरैको जिकिर छ। ईशापूर्व ५७ देखि आरम्भ भएको विक्रम संवत् भारतका विभिन्न प्रदेशमा समेत प्रयोग हुने संवत् हो। यो संवत् नेपालको कर्णाली प्रदेशमा करिब ई. दशौं शताब्दीमै र नेपाल खाल्डो (काठमाडौं उपत्यका) मा करिब तेह्रौं शताब्दीदेखि प्रचलनमा रहेको अभिलेखबाट प्रस्ट हुन्छ।
अठारौं शताब्दीको मध्यपछि अर्थात् पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँगसँगै विक्रम संवत्को प्रयोग र विस्तार भएको देखिन्छ। पहिलो राणा प्रधानमन्त्री जंगबहादुरले बेलायतबाट फर्किएपछि जारी मुलुकी ऐनमा पनि विक्रम संवत् नै उत्कीर्ण छ, जहाँ १९१० साल लेखिएको छ। प्रधानमन्त्री चन्द्रशमशेरले पनि बेलायतबाट फर्किएपछि विक्रम संवत्लाई नेपालको आधिकारिक संवत्का रूपमा पहिलोपटक मान्यता दिएका थिए। मध्यकाल, राणा, शाहकाल हुँदै गणतन्त्रसम्म आइपुगेको विक्रम संवत् नै नेपाली समाजमा अत्यधिक प्रभावी, घुलमिल र विवादरहित संवत्का रूपमा रहेको छ।
नेपाली जनजीवनमा भिजेको र यहाँको रीतिथिति–संस्कृति जोड्ने एक सशक्त माध्यम हुन पुगेको छ– विक्रम संवत्। सरकारी, गैरसरकारी कार्यालय र संघसंस्थाका सामग्री तथा मुद्रा, चिठीपत्र, चिना, साइत एवं अभिलेख आदिमा ऐतिहासिक प्रमाण भएर रहेको संवत् पनि यही हो। एउटा साल, वर्ष वा संवत्को पूर्णतापछि नयाँ साल वा वर्ष आरम्भको पहिलो दिन हर्षोल्लासका साथ उत्सवका रूपमा शान्ति, समृद्धिका लागि शुभकामना साटासाट गर्दै विविध कार्यक्रम गर्ने परम्परा संसारभर नै देखिन्छ। हामी पनि उत्साह र उमंगका साथ सद्भाव प्रकट गर्दै परस्पर संस्कृति जोडौं। अभिनव वर्ष २०७६ को मंगलमय शुभकामना !
प्रतिक्रिया दिनुहोस !