प्रेमिका भेट्न गएका १९ वर्षीय किशोरको घाँटी रेटेर हत्या
महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्रहरी नायव निरीक्षक दिल बहादुर कुँवरले जानकारी दिए ।
‘युवक २८ गतेदेखि बेपत्ता रहेको भनी परिवारका सदस्यले जाहेरी गरेका थिए’ उनले भने, ‘अनुसन्धान गर्दै जाँदा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।’
पक्राउ परेका युवकले नै शव गाडिएको स्थानका बारेमा जानकारी दिएपछि उक्त जङ्गलमा शव गाडिएको फेला परेको हो । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ का १८ वर्षीय अयोध्या राना र सोही ठाउँ बस्ने १७ वर्षीय प्रमोद राना रहेका छन् ।
अयोध्यालाई कैलालीबाट र प्रमोदलाई उनकै घरबाट प्रहरी पक्राउ गरेको हो । दुवैजनाले बडायकको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । टाउको र शरीर अलग गरिएको अवस्थामा शव गाडिएको भेटिएको हो ।
कृष्णपुर नगरपालिका–८ रैकवार बिचवा घर भएका १९ वर्षीय बडायक २८ गते स्थानीयको विवाहमा सहभागी हुन वडा नम्बर ७ मा आएका थिए । त्यहाँ उनी आफ्नी प्रेमिकालाई भेट्न पुगेको र सोही क्रममा दुई युवकले पहिले कुटपिट गरेको र त्यसपछि बन्चरोले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ‘हत्याका विषयमा आवश्यक अनुसन्धान अघि बढेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिनेश कुमार आचार्याका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा प्रेमिकाको विषयलाई लिएर युवकको हत्या गरेको देखिन्छ । हत्या गरेको स्वीकार गर्ने अयोध्या राना भने सुविलकी प्रेमिकाका पूर्व प्रेमी रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । अयोध्या रानाकै प्रारम्भिक बयानबाट यस्तो खुलेको प्रहरीको भनाइ छ । मृतकको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।