पानी छ्याप्दै सुरु भयो तराईमा सिरुवा

पानी छ्याप्दै सुरु भयो तराईमा सिरुवा

बिर्तामोड : नयाँ वर्षको सुरुआतसँगै तीन दिनसम्म मनाइने सिरुवा पर्वको रौनक झापाका आदिवासी समुदायमा छाएको छ। आदिमकालदेखि झापा, मोरङ, सुनसरीमा बसोबास गर्दै आएका राजवंशीसँगै कोच आदिवासी समुदायले वैशाख १ गतेबाट यो पर्व मनाउँछन्। राजवंशीसँगै कोच समुदायभित्रका ताजपुरिया, गनगाई, धिमाल, माझीलगायतका समुदायले पनि यो पर्र्व महŒवका साथ मनाउने गरेका छन्।

सिरुवाको अर्थ होली या लेपन भन्ने हुन्छ। वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा भएकाले कोच आदिवासी समुदायमा यसको बढी महŒव छ। यो पर्व तीन दिनसम्म मनाइन्छ। पहिलो दिन विश्वा (जल सिरुवा), दोस्रो दिन काद (हिलो) सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ। सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्व रहेको कोच भाषा तथा इतिहासका जानकार बाह्रदसी गाउँपालिका— ५ निवासी खड्ग राजवंशीले बताए।

पहिलो दिन अर्थात् वैशाख १ गते बंगाली पात्रोअनुसार चैत मसान्तको दिनलाई विश्वा वा जलसिरुवा भनिन्छ। ‘बाङ्ला पात्रोअनुसार वर्षको अन्तिम दिन नयाँ वर्षलाई स्वागत गर्नै लाग्दा यस वर्षको दुःख, कष्ट, रोग र सम्पूर्ण दुष्भाव यसै वर्ष पखालिएर जाउन र नयाँ वर्षमा ती दुःख, पीडा, नकारात्मक सोच नदोहोरियोस् भनेर छरछिमेक, इष्टमित्र र परिवारजनबीच एकआपसमा जल अर्थात् पानी छ्यापेर प्रतीकात्मक रूपमा वरुण देवको पूजा गरिन्छ’, राजवंशीले भने।

जलसिरुवाको दिन शरीरमा पानी छ्याप्दा यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै शरीरका सम्पूर्ण विकार पखालिने र परिवारजनमा वरुण देवको सधैं कृपा रहने विश्वास जनमानसमा रहेको पाइन्छ। जलसिरुवाकै दिन राजवंशी समुदायभित्र आफ्नो घर, गोठको चाल (छाना) र ढोकामाथि लसुन प्याज झुन्ड्याउने चलन छ। राजवंशी समुदाय सनातन हिन्दु धर्मअन्तर्गत खत्रीय (क्षेत्री) बर्गमा पर्छन्।

धार्मिक ग्रन्थअनुसार पौराणिक कालमा परशुराम ऋषिकी मातालाई क्षेत्रीहरूले अपमान गरेको हुँदा त्यही क्रोधका कारण परशुराम ऋषिले क्षेत्रीको सग्लो वंशविनाश गर्न लागेका थिए र यसबाट बच्न यो समुदायमा आफ्नो घर गोठमा लसुन प्याज बाँध्ने चलन सुरु भएको किंवदन्ती छ।

यसै दिन बेलुका सात किसिमका सागसब्जी मिसाएर पकाइन्छ जुन पकाएको भोलिपल्ट बिहान (बाङ्ला १ तारिख, नेपाली २ गते ) खाने चलन छ। यसलाई ‘चैतेर नान्हा वैशाखत’ भन्ने गरिन्छ। यसरी विभिन्न सागसब्जी मिसाएर पकाउँदा पेटको सम्पूर्ण विकार र रोगबाट मुक्त हुने विश्वास छ।

सिरुवाको अर्को महŒवपूर्ण दिन दोस्रो दिन अर्थात् काद सिरुवा हो। यो नेपाली पात्रोअनुसार वैशाख २ गते मनाइन्छ। कोच भाषा, साहित्य र इतिहासका जानकार भद्रपुर– ४ का तुलाराम राजवंशी भन्छन्, ‘कोच आदिवासी समुदाय आफूलाई धर्तीको सन्तानको रूपमा स्विकार्छन्। मानव शरीर यही माटो र पानीले बनेको छ। यही धर्तीमा आफ्नो पसिना र श्रम दिएपछि धर्ती माताले आफूहरूलाई जीवित राख्न गाँस, बास र कपास दिन्छन्। त्यसैले धर्ती अर्थात् माटोसँग हाम्रो अन्योन्या िश्रत सम्बन्ध छ।’

माटोप्रतिको यही आस्थाका कारण काद सिरुवाको दिन सम्पूर्ण कोच समुदायभित्र माटोमा पानी हालेर हिलो बनाई एकअर्काको शरीरमा लेपन गर्ने र शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। काद अर्थात् हिलो खेल्नुको पछाडि वैज्ञानिक कारण पनि छ। शरीरमा माटो लेपन गर्दा यसले शरीरभित्रका विकार सोस्ने र विभिन्न किसिमका चर्म रोगबाट छुटकारा पाउने विश्वास छ।

काद सिरुवाले आपसी वैमनश्यता अन्त्य गर्दै मित्रताको गाँठो अझ कसिलो पार्ने बुझाइ आम कोच समुदायको छ। यसै दिन कोच आदिवासी समुदायका महिला साँझपख नजिकै रहेको जलाशयमा भेला भई तिस्ताबुह्री देवीको पूजाआराधना गर्ने गर्छन्। यसलाई कतै तिस्ताबुह्री त कतै घाटोसरी भन्ने गरिन्छ। तिस्ताबुह्रीको तयारी एक महिना अगाडिदेखि नै थाल्छन् कोच महिला।

तिस्ताबुह्री माताको महिमासँगै महिलाहरू एकआपसमा ठट्ट्यौली शैलीका गीत गाउँछन् जसलाई भेदेखेली गान भनिन्छ। काद सिरुवाको दिन जलाशय पुगेका महिला आफ्नो परिवार, छरछिमेक, इष्टमित्रको सु–स्वास्थ्यको कामना गर्दै तिस्ताबुह्री माताको पूजा गर्छन्। पूजापछि प्रसादको रूपमा लगिएका काँचो दूध, चना, अदुवा, लसुन र अठ्या केरा एकआपसमा साट्ने चलन छ।

सिरुवाको अन्तिम दिन अर्थात् वैशाख ३ गतेका दिन रङ सिरुवा मनाइन्छ। यस दिन कोच समुदायका सम्पूर्ण उमेरसमूहका मानिस एकआपसमा आत्मीयता, प्रेम र सद्भावका साथ विभिन्न रङ एकआपसमा लगाइदिएर रङ सिरुवा मनाउने गर्छन्। यति मात्र नभई कोच समुदायभित्र सिरुवा पर्व मनाउने छुट्टै शैली छ। यसका लागि विभिन्न मौलिक सांस्कृतिक गीत, नाच प्रस्तुत गर्दै आपसी सद्भावका साथ सिरुवा खेलिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.