लुक्ला विमान दुर्घटना : असई रुद्रबहादुरको मृत्युले पत्नी बेहोस
भोजपुर : ‘सानु, नानीहरूको ख्याल राख्नु। दशैं तिहार मनाइयो। नयाँ साल लागेपछि छुट्टी मिलाएर आउछु’, नेपाल प्रहरीका असइ रुद्रबहादुर श्रेष्ठले घरबाट हिड्ने बेलामा जीवनसाथी प्रेमिका शेर्पा श्रेष्ठलाई भनेका थिए। दशैं तिहारको छुट्टी सकेर कार्यक्षेत्रमा फर्कनुअघि पतिले भनेको यो कुरा सम्झँदै भावविह्वल बनेकी प्रेमिका घरीघरी डाँको छाडेर रोइरहेकी छन्।
सोेलुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज दुर्घटनामा परेर घाइते भई उपचारका लागि लगिएको सुनेपछि भक्कानिन थालेकी उनी पतिको मृत्युको खवर सुनेपछि सम्हालिन नसकेर बेहोस बनेकी हुन्। उनलाई आफन्त र छरछिमेकीले सम्झाउने प्रयास गरिरहेका छन्। जीवनभर साथ दिने पतिलाई दैवले चुँडेपछि प्रेमिकाको जीवन बज्रपात परेको छ। उनीका दुई छोरी १५ वर्षीया रुसिला र ८ वर्षीया रियोनी छन्।
बुवाको मृत्युको खवर सुनेर कहालिएकी रियोनी ‘बाबा कहिले आईसिन्छ। मलाई कसले साइकल ल्याइदिन्छ, मामु’ भन्दै रोइरहेकी छन्। ४२ वर्षीय रूद्रबहादुरको अकस्मात मृत्युको खबरले उनको परिवार, आफन्त, इष्टमित्र र भोजपुरको सिंगो टक्सार शोकाकुल बनेको छ। भोजपुरको टक्सारबाट ३ वर्ष अघिमात्रै उनको परिवार झापाको बिर्तामोड नगरपालिका–६ मा सरेको थियो। बिर्तामोड गए पनि उनी परिवारका सदस्यसँगै टक्सारस्थित गाउँमा आइरहन्थे। ‘रुद्रबहादुर सानैदेखि असाध्यै मिलनसार, सालिन र भद्र स्वभावका थिए’, टक्सार कोटडाँडाका कुमार श्रेष्ठले भावुक हुँदै भने, ‘असल मित्र सबैलाई रुवाएर गए।’
कुमार रुद्रबहादुरका बालसखा पनि हुन्। ‘राम्रो मान्छेलाई दैवले पनि चाँडै लैजाँदो रहेछ’, उनले सहानुभूति प्रकट गर्दै भने,‘गाउँलाई साह्रै माया गर्ने मान्छे हामीमाझ रहेनन्।’ ०५४ सालदेखि नेपाल प्रहरीमा सेवारत रूद्रबहादुरको निधनले श्रेष्ठ परिवार भावविह्वल बनेको छ। कुमारका अनुसार रूद्र सबैका प्यारा र समाजमा प्रतिष्ठित थिए। रूद्रका जेठा दाजु शुक्र श्रेष्ठले भने, ‘कान्छो साह्रै सहयोगी थियो।
सबैलाई समान व्यवहार गथ्र्यो। उसलाई पनि सबैले इज्ज्जत गर्थे।’ भाईको निधनले परिवारमा सही नसक्नु पीडा दिएको बताए।सोेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज आइतबार बिहान दुर्घटना हुँदा असइ श्रेष्ठसहित जहाजका को–पाइलट सुजित ढुंगाना लामा, पर्यटक प्रहरीका निरीक्षक रामबहादुर खड्काको निधन भएको थियो। रुद्रबहादुरको काठमाडौंस्थित बीएन्डबी हस्पिटलमा उपचार क्रममा ज्यान गएको हो।