युवकको मृत्यु भवितव्य कि हत्या ?
काठमाडौं : राजधानीको हाँडीगाउँमा आइतबार बिहान भएको एउटा घटनाको अनुसन्धान प्रहरीका लागि पेचिलो बनेको छ। छिमेकीले समेत कहिल्यै नदेखेका मीनप्रसाद श्रेष्ठको मृत्युको अनुसन्धानमा प्रहरीले भवितव्य हो कि हत्या भन्ने छुट्याउन सकेको छैन। तर मृतकका आफन्तले भने हत्या भएको भन्दै उजुरी दिने तयारी गरेका छन्।
रामेछापका श्रेष्ठ हाँडीगाउँमै बस्दै आएका थिए। भर्खरै विवाह गरेका उनी कान्छीमाया (नाम परिवर्तन) सँगको प्रेम सम्बन्धमा थिए। इजरायलमा लामो समय काम गरेकी कान्छी र श्रेष्ठको फेसबुकमा गफगाफपछि पटकपटक भेट भइसकेको थियो। फेसबुकको गफगाफपछि नेपाल फर्किएकी कान्छीमाया र श्रेष्ठ प्रेममा थिए।
यस्तो थियो घटना
वर्षमा एक पटक बिदामा नेपाल आउने गरेकी कान्छीमाया र श्रेष्ठ नयाँ वर्षको अघिल्लो दिन नयाँ बसपार्कमा दोहोरी रेस्टुरेन्टमा पुगेका थिए। मदिरा अधिक पिएपछि उनीहरू आआफ्नै डेरातर्फ लागे। मध्यरातमा घर पुगेकी कान्छीमायालाई एकाएक श्रेष्ठले फोन गरे। तर कान्छीमायाका श्रीमान्ले फोन रिसिभ गरे।
श्रीमान्ले फोन उठाएपछि श्रेष्ठले काटे। शंका लागेपछि कान्छीमायालाई श्रीमान्ले पुनः फोन गर्न भने। फोन नउठेपछि ‘कसले गरेको हो थाहा छैन’ भनेर दुवै सुते।
एकाएक बिहान साढे तीन बजेतिर ढोकामा आवाज आएपछि कान्छीमायाका श्रीमान बाहिर निस्किए। चौथो तलामा छोरी सुतेकाले डरले कान्छीमायाका श्रीमान छतसम्मै पुगे। तर कोही नदेखेर पुनः आएर सुते।
बिहान भने एकाएक श्रेष्ठको शव घरको कम्पाउन्डमा छेडिएको अवस्थामा देखियो। शव देखिएपछि स्थानीय जम्मा भए। तर कसैले चिनेनन्। ‘चोर्न आएको होला। डरले हाम फालेर मर्यो’ भनेर केहीले अड्कलबाजी पनि गरे।
त्यति बेलासम्म कान्छीमाया कोठामा सुतिरहेकी थिइन्। कान्छीमाया साथीसँग बसपार्कको दोहोरीमा गएकी थिइन्। ती साथीले नै श्रेष्ठलाई शनिबार राति दोहोरीमा देखेको बताइन्। कान्छीमाया कोलाहल सुनेपछि श्रीमान्को आग्रहमा बाहिर निस्किइन्। र उनले मानिस ठम्याइन्।
प्रहरीले अनुसन्धानका लागि कान्छीमाया र श्रीमान्लाई पक्राउ गरेर अनुसन्धान गरेको छ। प्रहरीले अनुसन्धानमा श्रेष्ठले आत्महत्या नै गरेको प्रारम्भिक पुष्टि गरेको छ। कान्छीमायाका श्रीमान् शारीरिक रूपमा अशक्त छन्। उनी ५० वर्षका भइसके। श्रेष्ठ ३५ वर्षका हुन्।
श्रेष्ठको मृत्यु भवितव्य देखिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहको दाबी छ। ‘कान्छीमायाको घरमा पुगेका श्रेष्ठले एक्कासि मान्छे देखेपछि भाग्न खोज्दा घटना भएको हाम्रो प्रारम्भिक अनुसन्धानले बताउँछ’, उनले भने, ‘यसबारे थप अनुसन्धान गर्दै छौं।’
प्रहरीले कान्छीमाया र उनका श्रीमान्ले ढाँटेको आशंकामा पोलिग्राफ परीक्षणसमेत गरेको छ। ‘हामीले कान्छीमाया दम्पतीको पोलिग्राफसमेत गर्यौं। उनीहरूले झूट नबोलेको पुष्टि भयो। हामाी अझै अनुसन्धानमै छौं’, सिंहले भने।