नाबालिकालाई यौन दुर्व्यवहार : जनप्रतिनिधि गुहारेपछि खटियो प्रहरी

नाबालिकालाई यौन दुर्व्यवहार : जनप्रतिनिधि गुहारेपछि खटियो प्रहरी

बिर्तामोड : ६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापा बिर्तामोडका व्यापारी ४० वर्षीय प्रकाश तोलाङ पक्राउ परेका छन्। पीडित पक्षका अनुसार इलाका प्रहरी बिर्तामोडले सुरुमा मिल्न दबाब दिएको थियो। जनप्रतिनिधि गुहारेपछि भने घटनामा संलग्नलाई नियन्त्रणमा लिएको बालिकाकी आमाले बताइन्।

बालिका सोमबार दिउँसो साढे २ बजे अजिना र हाजमोला किन्न पसल गएकी थिइन्। प्रकाशले चुइगम दिएर भित्र लगी संवेदनशील अंग चलाएको कुरा बालिकाले साँझ आमालाई सुनाएकी थिइन्। ‘छोरीले धेरै दुख्न थाल्यो भन्दै पाउडर लगाइदिन भनिन्। पाउडर लगाउँदा गुप्तांग सुन्निएको देखें’, उनले भनिन्, ‘छोरीलाई सोधेपछि पसलको अंकलले काखमा राखेर चलाएका कारण दुखिरहेको भनिन्।’ घटना थाहा पाउनासाथ पसल पुगेको उनले सुनाइन्।

प्रकाशले सुरुमा घटना अस्वीकार गरेका थिए। बालिकाले कसरी ढाँट्छिन् भनेपछि उनले उपचार खर्च दिने र घटना बाहिर नलैजान धम्की दिएको पीडित पक्षको गुनासो छ। प्रहरीले पनि वास्ता नगरेको भन्दै परिवारका सदस्यले पीडितलाई साँझै मनमोहन अस्पताल लगेका थिए। उनको यौनांगमा चोट लागेको र शरीरमा नीलडाम रहेको डाक्टरले बताएका छन्। उनको उपचार मेची अञ्चल अस्पताल भद्रपुरमा भइरहेको छ।

प्रहरीले २४ घण्टापछि मात्र स्वास्थ्य परीक्षण गराएको छ। पीडित परिवारले सोमबार साँझै प्रहरीलाई घटनाबारे जानकारी दिएको थियो। तर, मंगलबार दिउँसो ३ बजे मेची अञ्चल लगेर स्वास्थ्य परीक्षण गराएको पीडित पक्षको भनाइ छ। बिर्तामोडका डीएसपी सुवास खड्काले मिल्न दबाब दिँदै पीडित र पीडकबीच छलफलको प्रयास गरेको उनीहरूको दाबी छ।

‘घटना थाहा पाउनासाथ हामीले प्रहरीमा खबर गरेका हौं। प्रहरीले जाहेरी लिन मानेन। छोरीलाई उपचार र स्वास्थ्य परीक्षणका लागि पनि लग्न मानेन’, बालिकाकी आमाले भनिन्, ‘डीएसपीले मिल्न दबाब दिए। कसो गर्ने भनेर अन्योलमा परेपछि हामी जनप्रतिनिधि गुहार्न पुग्यौं।’

डीएसपी सोमबार साँझ भोलि आउन भन्दै फर्काएको पीडितका बुवाले बताए। ‘सामान्य घटना भन्दै डीएसपीले हामीलाई घर पठाए’, उनले भने, ‘हामीले विभिन्न ठाउँमा गुनासो गरेपछि मध्यरातमा घटनामा संलग्नलाई पक्राउ गरिएछ।’

बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईंले तत्काल जाहेरी लिनुपर्ने र स्वास्थ्य परीक्षण गराउनुपर्नेमा प्रहरीले लापरवाही गरेको बताइन्। ‘जघन्य अपराधमा प्रहरीले ढिला गर्न हुँदैनथ्यो। उल्टै पीडित पक्षलाई मिल्नका लागि दबाब दिने काम भएछ’, उनले भनिन्। न्यायिक समिति संयोजक प्रसाईंले डीएसपीले आफूसँगको कुराकानीमा पनि मिल्नुपर्ने आसयको अभिव्यक्ति दिएको बताइन्।

डीएसपी खड्काले आरोपितलाई राति नै पक्राउ गरिएको सुनाए। ‘अनुसन्धान भइरहेकाले सबै कुरा खुलाउन मिल्दैन’, उनले भने, ‘बालिकाका अभिभावकले मंगलबार जाहेरी दिएका कारण म्याद थप गरेर पीडकविरुद्ध अनुसन्धान अघि बढाइएको छ।’ राति भएका कारण जाहेरी नलिएको र जाहेरी नपरी पीडकलाई पक्राउ गर्न उचित नठानिएको उनले सुनाए। ‘तर, घटना संवेदनशीलजस्तो लागेर घटनाको जानकारी आएको केही बेरमै हामीले पक्राउ गर्‍यौं।’ जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योगमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले सुनाए। आरोपितलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.