वीरगन्ज भन्सारको राजश्वमा अप्रत्याशित गिरावट

वीरगन्ज भन्सारको राजश्वमा अप्रत्याशित गिरावट

वीरगन्ज : मुलुककै प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको छ।

भन्सार विभागले दिएको राजश्वको लक्ष्य ६ महिनादेखि लगातार उठाउन असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले गत चैत महिनामा भने लक्ष्यको झण्डै आधा मात्र राजश्व संकलन गरेको छ।

गत चैत महिनाका लागि वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो।

तर भन्सार कार्यालयले गत चैत महिनामा लक्ष्य भन्दा पाँच अर्ब ४३ करोड ४१ लाख ४९ हजार कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार कार्यालयले लक्ष्यको ६४ दशमलव ८२ प्रतिशत अर्थात १० अर्ब एक करोड तीन लाख ७८ हजार मात्र राजश्व संकलन गरेको हो।

चालु आर्थिक वर्षको पछिल्लो ६ महिना (कात्तिक देखि चैत सम्म) लगातार राजश्वको लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले गत फागुन महिनामा पनि लक्ष्य भन्दा तीन अर्ब १० करोड २५ लाख ९३ हजार कम (लक्ष्य भन्दा २० प्रतिशत कम) राजश्व संकलन गरेको थियो।

भन्सार कार्यालयले गत फागुन महिनामा १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार मात्र राजश्व उठाएको थियो।

यस्तै गत माघ महिना पनि भन्सार कार्यालयले लक्ष्य भन्दा तीन अर्ब ३० करोड ९९ लाख  ६३ हजार कम (लक्ष्य भन्दा २४ प्रतिशत कम) राजश्व संकलन गरेको थियो। माघमा १० अर्ब ४१ करोड ८५ लाख पाँच हजार मात्र राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांमान उल्लेख छ।  

यस्तै वीरगन्ज भन्सार कार्यालयले गत पुसमा पनि लक्ष्य भन्दा दुई अर्ब ५३ करोड २८ लाख ७२ हजार कम (लक्ष्य भन्दा १९ प्रतिशत कम),  मंसिरमा लक्ष्य भन्दा दुई अर्ब १५ करोड नौ लाख ३० हजार कम (लक्ष्य भन्दा १६ प्रतिशत कम) र कात्तिकमा पनि लक्ष्य भन्दा दुई अर्ब ६६ करोड ७५ लाख ५५ हजार कम (लक्ष्य भन्दा २१ प्रतिशत कम) राजश्व संकलन गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयले पुसमा ११ अर्ब १९ करोड ५५ लाख ९६ हजार, मंसिरमा ११ अर्ब ५७ करोड ७५ लाख ३८ हजार र कात्तिकमा ११ अर्ब ६ करोड ९ लाख १३ हजार मात्र राजश्व उठाएको थियो।

राजश्व असुलीमा असर

आइसीपीमा रहेको वीरगन्ज भन्सार कार्यालय परिसरमा भन्सार जाँचपासका लागि राखिएका भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका मालसामान लोड गरिएका ट्रक, कन्टेनर र इन्धनका ट्याङ्कर। फोटोः  क्रान्ति शाह/अन्नपूर्ण


चालु आर्थिक वर्षको पछिल्लो ६ महिना लगातार लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएका कारण त्यसको असर ९ महिनाको कुल राजश्व असुलीमा पनि परेको छ।

वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले गत साउनदेखि गत चैतसम्म ६ महिनाका लागि एक अर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो।

तर भन्सार कार्यालयले यो ९ महिनाको अवधीमा लक्ष्य भन्दा १४ अर्ब ४१ करोड ७५ लाख ९२ हजार हजार कम (लक्ष्य भन्दा १२ प्रतिशत कम) अर्थात कूल एक खर्ब ९ अर्ब १३ करोड ८६ लाख १९ हजार मात्र राजश्व उठाउन सकेको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन देखि असोज सम्म) मा भने भन्सार कार्यालयले लक्ष्य भन्दा बढी नै राजश्व संकलन गरेको थियो।

लक्ष्य बढाइयो तर व्यापार घट्यो 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले पनि चैत महिनामा राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको बताए।

मालवस्तुको आयात नै कम भएकाले त्यसको असर राजश्व संकलनमा परेको उनले बताए।

हुन त चैत भन्दा पहिलेका पाँच महिनामा पनि लगातार लक्ष्य पूरा हुन सकेको थिएन, तर चैतमा ६४ प्रतिशत मात्र राजश्व उठेको देख्दा हामीलाई पनि आश्चर्य लागेको छ’, उनले भने, ‘यस्तो अप्रत्याशित गिरावट किन आयो यस बारेमा हामी खोजीनीति गरिरहेका छौँ।‘

उनका अनुसार गत साउनदेखि चैत महिना सम्म ९ महिनाको अवधिमा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ४५ अर्ब एक अर्ब मूल्यको मालसामान आयात भएको छ। जबकि अघिल्लो आर्थिक वर्ष २०७४/७५ को चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको मालसामान नेपाल भित्रिएको थियो।

खत्रीका अनुसार विभागले जुन परिमाणमा लक्ष्य बढायो त्यसको अनुपातामा व्यापारमा बढोत्तरी नभएका कारण मालसामान आयातमा कमी आएकाले भन्सारले राजश्वको लक्ष्य पूरा गर्न नसकेको हो।

भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले पनि पछिल्लो ६ वटै महिनामा भन्सार विभागले राजश्व असुलीको लक्ष्य नै बढी तोकेर पठाएको तर बजारमा व्यपार व्यावसाय भने घटेका कारण मालसामानको आयातमा कमी हुन गई लक्ष्य पूरा गर्न नसकिएको बताए।

‘एक त विभागले पछिल्लो ६ महिनायता पहिलेको भन्दा ३० प्रतिशत बढाएर लक्ष्य दिएको छ’, उनले भने, ‘लक्ष्य बढ्यो तर व्यापार भने घटेको छ, मुलुकमा अहिले आर्थिक मन्दी पनि छ, जसका कारण भारत तथा तेश्रो मुलुकबाट आयात हुने सामानको पैठारीमा कमी आएकाले लक्ष्य भेटाउन नसकिएको हो।‘

यसका साथै सबै भन्दा बढी राजश्व उठ्ने नयाँ सवारी सधान र औद्योगिक कच्चा पदार्थको पैठारीमा कमी आएका कारण पनि राजश्व असुलीमा असर परेको उनले बताए।

चालु आर्थिक वर्षको ९ महिनाको लक्ष्य पूरा गर्न नसकेको वीरगन्ज भन्सार कार्यालयलाई वार्षिक लक्ष्य पूरा गर्न पनि गाह्रो हुने संकेत देखा परिसकेको उनले बताए।

एक त अहिले दिइएको लक्ष्य नै बढी छ, जुन ६ महिनादेखि लगातार पूरा गर्न सकिएको छैन, फागुनदेखि भने अझ थपेर मासिक साढे १५ अर्ब भन्दा बढीको लक्ष्य दिइएको छ’, उनले भने, ‘विभागले लक्ष्य बढाउँदै गएको छ तर सामानको पैठारी भने घट्दै गएको छ, यसले वार्षिक लक्ष्य पनि भेटाउन मुस्किल पर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.