हिरासतमा बालकको रहस्यमय मृत्यु : घटना लुकाउँदै प्रहरी
विर्तामोड : इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा एक बालकको रहस्यमय मृत्यु भएको छ। प्रहरीले सत्य लुकाउन खोजेपछि घटना रहस्यमय बनेको हो।
गत सोमबार राति झापा मेचीनगर नगरपालिका ६ का १५ वर्षीय बालक किरण कार्की डोलीको हिरासतमै मृत्यु भएको थियो। तर, प्रहरीले भने मोस्टमार्टमपछि मात्रै बालकको मृत्युबारे परिवारलाई जानकारी गराएपछि घटना रहस्यमय बनेको हो।
मोबाइल चोरी गरेको आरोपमा चैत २९ गते शुक्रबार प्रहरीले नियन्त्रणमा लिएका बालक किरणलाई प्रहरीले हिरासतमा राखेको थियो। नियन्त्रणमा लिएको दुई दिनपछि अर्थात् वैशाख २ गते राति २ बजे बालकको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
आफूलगायत परिवारका सदस्यलाई जानकारी नदिई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पुर्याएको बालकका बुबा रमेश कार्की डोलीले बताए। ‘मलाई अकस्मात प्रहरीले बोलाएर लग्यो। सिधै गाडिमा हालेर इलाका प्रहरी कार्यालय विर्तामोड पुर्याए। त्यहाँ पुगेपछि छोराले शौचालयमा आत्महत्या गरेको थियो। शव भद्रपुरमा छ भने। म केही बोल्नै सकिन, झुण्डिएको ठाउँ पनि देखाएनन्,’ रमेशले भने।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख (डीएसपी) सुवास खड्काले परिवारका सदस्इलाई बालकले आत्महत्या गरेको जानकारी दिए।
उनले पोस्टमार्टम भइसकेको भन्दै बुबासँगै शव घरमानै पुर्याएर जिम्मा लगाए। ‘म केही बोल्न सकिन, रिपोर्ट हेरौँ भन्ने आँट आएन। छोराको शव घरमानै ल्याए। कसरी ? किन ? कहाँ आत्महत्या गर्यो वा के भयो केही पनि देखिन, प्रहरीले आत्महत्या भन्छ, कसरी आत्महत्या गर्यो केही थाहा छैन’ रमेशले भने।
पोसटमार्टम गरेर परिवारलाई जिम्मा लगाएको किरणको शवमा हेर्दा घाँटीमा निलडाम नभएको रमेशको भनाइ छ। ‘मलाई पुर्याउँदा पोस्टमार्टम भइसकेको थियो, घाँटीदेखिनै चिरेको रहेछ, छाती मुनिमात्रै चिर्नुपर्ने जस्तो लाग्छ, जलाउने बेलामा ओल्टाइपल्टाई हेरेको अनुहारमा निलडाम थियो, झुण्डिएको हो भने घाँटीमा निल डाम हुनुपर्ने,’ उनले भने।
इलाका प्रहरी कर्यालय विर्तामोडका प्रमुख (डीएसपी) सुवास खड्काले भने बालकको ठेगाना र उमेरनै लुकाउने प्रयास गरेका छन्। परिवारले बालक १५ वर्षको रहेको र जन्मदर्तानै सोही भएको बताए। यता डीएसपी खड्काले सञ्चारकर्मीलाई बालकको उमेर १९ वर्ष र उनी भारतीय नागरिक रहेको बताए।
‘हिरासतमा पासो लगाएर आत्महत्या गरेको हो। भारत पानीट्याङ्की बस्ने १९ वर्षका किरण दर्जी हुन्,’ डीएसपी खड्काले गलत जानकारी दिए। उनले परिवारले शव बुझेर लगेको बताए। अन्य विषय अहिले अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ।
मानवअधिकारकर्मीले भने बालकलाई नियन्त्रणमा लिए देखिनै प्रहरीले आफ्नो कमजोरी सुरु गरेको बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पूर्वाञ्चल संयोजक सोमराज थापाले बालकलाई नियान्त्रणमा लिएकै बेला संरक्षकलाई जानकारी गराउनुपर्ने भए पनि त्यसो नभएको उनले बताए।
‘घटना गम्भीर देखिन्छ, बालकलाई नियन्त्रणम लिएर त्यति दिनसम्म हिरासतमा राख्ने नै होइन, संरक्षकलाई जानकारी दिएको देखिदैन। यो विषयमा गम्भीर अनुसन्धान आवश्यक छ,’ उनले अन्नपूर्णसँग भने।