जंगलमै हात्ती थुन्न योजना
बिर्तामोड : झापाको दक्षिणी क्षेत्रमा रहेका रैथाने हात्तीलाई जंगल भित्रै थुन्ने योजना ल्याइएको छ। सौर्य विद्युतीय तारबार लगाएर हात्तीलाई जंगलमै थुन्ने योजना बनाइएको हो। विद्युतीय तारले जंगललाई घेरेमा जंगलभित्र रहेका हात्ती गाउँबस्तीमा पस्न नपाउने र मानवीय–भौतिक क्षति रोकिने भएकाले ६ हजार ३ सय हेक्टर क्षेत्रफलको जलथल जंगललाई घेरेर विद्युतीय तारबार लगाइन लागेको हो। जलथल जंगल जैविक विविधताका हिसावले दक्षिण एसियाकै उत्कृष्ट हो। यो जंगलमा १४ वटा रैथाने हात्ती छन्।
जिल्ला वन कार्यालय झापाले जंगलमा लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको सालक र हात्ती धेरै पाइने भएकाले पनि मानव–हात्ती द्वन्द्व न्यूनिकरणका लागि सौर्य विद्युतीय तारबार लगाइन लागेको प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा.मनिषराज पाण्डेले जानकारी दिए। ‘हात्तीले स्थानीयलाई सास्ती त दिएको छैन। जैविक विविधताका हिसाबले पनि यो क्षेत्र महत्वपूर्ण भएकाले हात्ती संरक्षण गर्दै नागरिकको समस्या समाधान उपाय खोजिएको हो’, पाण्डेले भने। यसले हात्ती–मानव द्वन्द्वको अत्यसँगै सालकलगायतका वन्यजन्तुको तस्करी पनि रोकिने उनको विश्वास छ।
जलथल जंगलले झापाको भद्रपुर नगरपालिकासहित बाह्रदशी, हल्दिबारी र कचनकवल गाउँपालिकालाई छुन्छ। जंगलभित्रका १४ रैथाने हात्तीले तीनै स्थानीय तहका नागरिकको घर, बाली र कहिले मानवीय क्षति पुर्याउँदै आएको थियो। हात्ती नियन्त्रणका लागि अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको २ करोड रुपैयाँमा ५० लाख रुपैयाँ मात्र खर्च भएको थियो। बाँकी रकम फ्रिज भयो। यो पटक भने तारबारकै लागि ६ करोड रुपैयाँ छुट्टिएको छ। विनियोजित रकम प्रकृति संरक्षण कोषको खातामा रहेकाले कोष मार्फत्नै तारबारको काम अघि बढेको हो।
तारबारको काम गर्ने ठेक्का भने ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिले पाएको छ। यसै आर्थिक वर्षभित्र तारबार काम सक्ने उद्देश्यले प्रालिलाई ४ करोड ७४ लाख रुपैयाँमा अघिल्लो साता ठेक्का दिइएको कोषले जनाएको छ। इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा तारबारको काम सुरु गर्नेछ। वर्षाले अवरोध नपुर्याए असार मसान्तभित्रै तारबारको काम सकिने इम्पेक्सका प्रबन्धनिर्देशक विजय श्रेष्ठले बताए। जमिनसम्म पार्ने सर्वेको काम तुरुन्तै सुरु गर्ने र जंगलको वरिपरि सोलार फेन्स ४५ देखि ६० डिग्रीमा ढल्काएर लगाउने श्रेष्ठले जनाए।
जंगल वरिपरि ४१ किलोमिटर तारबार जडान गरिने छ। आवतजावत गर्न ३० वटा गेटसमेत बनाइने छ। ६ फिट अग्लो पिलरमा ४ वटा तार जडान गरिन्छ। १५ मिटरको फरकमा पिलर राखिने निर्माण कम्पनीले जनाएको छ। प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा.पाण्डेका अनुसार मानव–हात्ती द्वन्द्व व्यवस्थापनका लागि सौर्य विद्युतीय तारबार एक सफल उपाय भएकाले झापामा यो दोस्रो पटक काम गर्न लागेको बताए।
केही वर्षअघि पूर्वी नाका काँकडभिट्टादेखि बाहुनडाँगीसम्म पनि सौर्य विद्युतीय तारबार जडान गरियो। तारबारका कारण भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण भएको छ। सौर्य विद्युतीय तारबारले मान्छेलाई करेन्ट नलाग्ने तर हात्तीलाई भने २ मिटर पर नै झड्का दिने बताइएको छ।
तारबार लगाएपछि जंगलभित्रका हात्ती गाउँमा निस्किएर बितण्डा मच्चाउन नसक्ने इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसका नारायणप्रसाद गौतमले बताए। पटक पटक तारबारको आश्वासन स्थानीयले पाए पनि निर्माण नभएकाले यो कमलाई समयमानै सम्पन्न गर्ने जनप्रतिनिधिको हैसियतमा आफू सुरुवात देखिनै लागेको यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र लिङ्देन बताउँछन्।
‘हात्ती पीडित जनताका लागि यो पूरा भए ठूलो राहत मिल्ने छ’, लिङ्देनले भने, ‘कालान्तरका यो क्षेत्रमा पयटकीय विकासका लागि समेत सौर्य विद्युतीय तारबारले महत्वपूर्ण योगदान पुर्याउने छ।’ उनले जंगल वरिवरी तारबारपछि सोही रुटमा पर्यटकीय सडक समेत निर्माण गर्ने बताए।