विप्लवका झापा जिल्ला इन्चार्ज पक्राउ
बिर्तामोड : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चाजलाई प्रहरीले पक्राउ गरेको छ। झापा शिवसतासी नगरपालिका ११ घर भएका सौगात कटुवाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो।
बिर्तामोड नगरपालिका ३ आँखा अस्पताल छेउबाट आइतबार बेलुका कटुवाललाई पक्राउ गरिएको बताइएको छ। कटुवालसँगै रहेका नेकपाका कार्यकर्ता अर्जुनधारा नगरपालिका ११ का अर्जुनकुमार चौहानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेकपाका नेता त्यस क्षेत्रमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सादा पोशाकमा खटेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर प्रहरीले अनुसन्धान गरिहेको प्रहरी स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
१