तीन नबज्दै कर्मचारी टाप

तीन नबज्दै कर्मचारी टाप

कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्।

सेवाग्राहीको बढी भीड हुने ठाउँ यातायात कार्यालय। चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहीं छ। दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ। मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ। कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ।

तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ। नवीकरण राजस्व काउन्टर, लाइसेन्स एप्रोभ, अन्तिम फाराम बुझाउने ठाउँलगायत अधिकांश शाखामा कर्मचारी भेटिँदैनन्। ‘यस्तै हो हजुर, काम पनि खासै छैन, खाली कुर्सीमा बसेर के गर्ने ? ’ सबा तीन बजेतिर कार्यालयबाट बाहिरिँदै गरेका एक कर्मचारीले भने, ‘सधैं यस्तै हो यहाँ।’

यातायात कार्यालयका अधिकांश कोठा खाली थिए। कार्यालयमै भेटिएका कर्मचारी आफ्नो कार्यकक्षमा थिएनन्। बरु अर्कैको कार्यकक्षमा गफिएका भेटिन्थे। सेवाग्राहीचाहिँ कर्मचारी खोज्न व्यस्त थिए। रेकर्ड शाखामा दिउँसो दुई बजेतिर दुईजना कर्मचारी भेटिए। तीमध्ये एक कर्मचारी भने कुर्सीमा अभद्र शैलीमा बसिरहेका थिए। प्रशासन शाखाका उनी रेकर्ड शाखामा थिए। सेवाग्राही भने प्रशासन शाखामा उनको पर्खाइमा थिए।

कार्यालय प्रमुख बेपत्ता

यातायात कार्यालयका प्रमुख उपसचिव चेतप्रसाद उप्रेती। उनलाई कार्यालयमा सेवाग्राहीले त के, कर्मचारीले नै नभेटेको साता बितिसक्यो। अन्नपूर्ण टोली कार्यकक्षमा पुग्दा पनि कार्यालयमा भेटिएनन्। उनी कार्यालय नआएको जानकारी कर्मचारीलाई पनि छैन। ‘धेरै भइसक्यो उहाँ आउनुभएको छैन। कता जानुभएको हो, त्यो पनि थाहा छैन,’ प्रशासन शाखामा भेटिएका एक कर्मचारीले भने, ‘तालिममा जानुभएको हो भन्ने सुनेका हौं, केको तालिम, कता हो तालिम हामीलाई जानकारी छैन।’ यातायात कार्यालयमा एक साताअघि मात्र सरुवा भएर आएका अर्का कर्मचारीले भने, ‘मैले त हाकिमसाप्को अनुहार पनि देखेको छैन।’

जिम्मेवारीविहीन कर्मचारी

समायोजनका क्रममा यातायात कार्यालयका कर्मचारीको सरुवा भएको छ। जसले गर्दा आवश्यक संख्यामा कर्मचारी नभएको प्रशासन शाखाको भनाइ छ। तर कार्यालयमा सरुवा भएर आएका कर्मचारी पनि जिम्मेवारी नपाएर कामै नगरी दिन कटाउन बाध्य छन्। ‘म एक साता भयो यहाँ आएको तर कुनै पनि जिम्मेवारी दिइएको छैन,’ एक कर्मचारीले भने, ‘म इन्जिनियर हुँ, काम के गर्ने हो केही भनिएको छैन। हाजिरबाहेक अरू काम छैन।’

दलालकै दबदबा

कार्यालयबाहिर ठूलो अक्षरमा लेखिएको छ, दलाललाई प्रवेश निषेध। तर त्यहाँको दृश्य भने फरक छ। कार्यालयबाहिर त दलालहरुको भीड लाग्छ भने कार्यालयका अधिकांश फाँटसम्म उनीहरूकै प्रभाव र पहुँच छ। सोमबार बिहान यातायात कार्यालय परिसरमा पुग्नेबित्तिकै एक महिला नजिकै आइन् र सोधिन्, ‘हजुर लाइसेन्स बनाउन आएको ? ’ उनले लाइन नै नलागी आफूले फटाफट काम गरिदिने बताइन् र त्यसका लागि एक हजार रुपैयाँ लाग्ने सुनाइ्न। ‘पाँच÷छ सयभित्र बुझाउनुपर्छ, दुई÷तीन सय त हामीले नि काम गरेको लिनैप¥यो नि,’ उनले भनिन्।

उनीजस्तै कार्यालय परिसरमा दलालहरु सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै खुलमखुला पैसाको बार्गेनिङ गरिरहेका भटिन्छन्। कार्यालय समय सुरु हुनुअघिदेखि साँझसम्मै दलालहरु कार्यालय वरिपरि हुन्छन्।

विभागीय मन्त्री र कार्यालय प्रमुखहरुले चर्चामा आउन यातायात कार्यालयमा छड्के गर्ने र दलालहरुलाई प्रवेश निषेधको घोषणा गर्दै आएका छन्। तर यातायात कार्यालयमा लाइसेन्सको फाराम भर्नेदेखि लाइसेन्स लिनेसम्म सबै काममा सेटिङमै हुने गरेको दलाल बताउँछन्। ‘हामीले त सबैलाई चिनेका हुन्छौं। तपाईंको काम एकैछिनमै हुन्छ,’ अर्का दलाल सेवाग्राहीसँग भन्दै थिए, ‘यहाँ त पैसा नदिएसम्म कामै हुँदैन, सबै सेटिङमा हुन्छ।’

हेटौैंडाबाट गाडीको लाइसेन्स नवीकरण गर्न आएका एक युवाले पनि दलालकै सहारा लिए। उनको काम गरिदिएबापत दलालले अतिरिक्त एक हजार रुपैयाँ लिए। गाडी पास गराउन आएका एक व्यक्तिले पनि अतिरिक्त पाँच हजार बुझाएको सुनाए। ‘सबै कागजात हामीसँग थियो, लेखापढीले हाम्रो काम गरेको हो। नियमअनुसार लाग्ने पैसा दियौं, ३७ हजारको बिल आएको थियो तर उहाँले थप पाँच हजार माग्नुभयो,’ गाडीधनीले भने, ‘बिलअनुसार पैसा दिइसक्यौं, किन पाँच हजार दिने भन्दा उहाँले भित्र पैसा नबुझाई कसरी काम हुन्छ भनेर झर्किन थाल्नुभयो।’ दलालको भर नपरी कामै नहुने अवस्था सिर्जना भएको छ, यातायात कार्यालयमा। तर दलाललाई निषेध गर्न कार्यालयले कुनै चासो देखाएको छैन। कर्मचारीकै सेटिङमा दलालहरुले काम गरिरहेको सेवाग्राहीको आरोप छ।

लाइसेन्स लिन अनलाइन फाराम भर्नुपर्छ। यसले गर्दा पनि कार्यालयमा सेवाग्राहीको चाप कम देखिन्छ। तर अनलाइन फाराम सेवा भने प्रायः बन्द गरिन्छ। अहिले पनि अनलाइनमार्फत फाराम भर्ने सुविधा बन्द गरिएको छ। कर्मचारीले सेवाग्राहीको चाप बढेकाले तत्काल बन्द गरिएको बताएका छन्। ‘यो कहिले खुल्छ थाहा छैन,’ राजस्व शाखामा भेटिएकी एक कर्मचारीले भनिन्, ‘एक÷दुई हप्तापछि खुल्छ होला।’ कर्मचारीले अनलाइन सुविधा केही समयका लागि बन्द गरिएको बताए पनि दलाल भने आफूहरुले फाराम भरिदिने बताउँछन्।

‘रातिमात्र एकछिन खुल्छ, त्यही बेला भर्ने हो, तपाईं नागरिकताको फोटोकपी छोडेर जानुस्, भोलि हामी खवर गर्छाैं,’ दलालले भने, ‘ढुक्क हुनुस्। कार्यालयका केही फाइल र ढड्डा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ। त्यसैले सेवाग्राहीले खोजेको फाइल पाउन कठिन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.