कष्टपूर्ण टेन्ट-बास

कष्टपूर्ण टेन्ट-बास

वीरगन्ज : दिनभर टन्टलापुर घाम। रात परेपछि लामखुट्टेको टोकाइ। पानी पर्दा सर्पको डर। बारा–पर्साका हुरीपीडित विगत तीन सातादेखि यस्तै समस्यामा गुजारा चलाइरहेका छन्।सुरक्षित बसोबास नहुँदा बालबालिका, बूढाबूढी र कमजोर अवस्थामा व्यक्ति बढी मर्कामा छन्।

‘टेन्टमा सुत्दा डरले राति निद्रा पर्दैन। हल्का हावा चल्यो कि सातो जान्छ’, मध्याह्नको टन्टलापुर घाममा टेन्टभित्र सुतेका बारा पुरैनियाका क्यामुदिन अन्सारीले भने, ‘राति अलि चिसो हुँदा राहत हुन्छ। तर दिउँसो घाम लागेका बेला भने यो टेन्टमा बसिसक्नु हुँदैन।’ टेन्टमा बसेको २०÷२१ दिन भइसक्दा पनि घर बनाउने सुरसार नभएको अन्सारीको भनाइ छ।

चैत १७ गतेको विनाशकारी हुरीले घरबाहरविहीन बासिन्दा सेनाले बनाइदिएको अस्थायी टेन्टमै छन्। टेन्ट सामान्य हावाहुरी र घामपानी थेग्न सक्ने अवस्थाको छैन। त्यसमाथि चर्काे गर्मीले समस्यामा पारेको छ।

राति टेन्टमै सुते पनि दिउँसो चर्को घाम लागेका बेला भने प्रभावित परिवार रूखको छहारी खोजी हिँड्छन्। ‘दिउँसो घामले तातेर टेन्ट नै आगो जस्तो हुन्छ। अनि कसरी बस्नु त्यसमा ? ’, भरवलियाका वृद्ध रामाशीष मुखिया बिनले भने, ‘घामले टेन्ट यति धेरै तात्छ कि एक मिनेट पनि बस्न सकिँदैन, बालबच्चालाई लिएर दिनभर छहारीमा बस्ने गरेको छु।’ टेन्टभित्र पंखा चलाउन असहज हुने भएकाले राति लामखुट्टेले उस्तै सताउँछ पीडितलाई। यस्तै खुला ठाउँमा बस्नुपर्दा रातसाँझ सर्पले डस्ने भय त्यत्तिकै छ।

एक साताअघि वर्षासँगै आएको हुरीले गाउँका एक दर्जनभन्दा बढी टेन्ट उडाइदिएपछि भिजेरै रात गुजारेको उनले बताए। ‘सरकारले घर बनाइदिन्छौं भनेको २० दिन बित्योे’, उनले भने, ‘तर अहिलेसम्म कुनै सुरसार छैन, मन्त्री र नेता पनि फर्किआएका छैनन्।’

हुरीले बारा–पर्साका दर्जनभन्दा बढी गाउँ ध्वस्त पारेपछि चैत २१ गते संघीय सरकारले प्रभावितका लागि पक्की घर बनाइदिने घोषणा गर्‍यो। यस्तै घर निर्माणको जिम्मा नेपाली सेनालाई दियो भने प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा तीन सदस्यीय पुनःस्थापना तथा घर पुनर्निर्माण सहजीकरण र समन्वय समिति गठन गर्‍यो।

त्यसको तीन दिनपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले हुरीले क्षतिग्रस्त बारा र पर्साका प्रभावित गाउँको स्थलगत अवलोकन गरे। संघीय सरकारले चैत २१ को घोषणामा जनता आवास कार्यक्रमअन्तर्गत बनिरहेका घरकै डिजाइनमा ३ लाख ५० हजारको लागतमा प्रत्येक परिवारलाई घर निर्माण गरिदिने उल्लेख गरेको थियो।

प्रभावित परिवारका लागि प्रदेश २ को सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा आइतबारसम्म विभिन्न दाताबाट १२ करोड चार लाख ६७ हजार चार सय ५० रुपैयाँ रकम जम्मा भइसकेको छ। तर घरबारविहीन परिवारका लागि घर निर्माणको सुरसार छैन।

‘सरकारले बनाउन सक्दैन भने त्यो पनि भन्देओस्’, अन्सारीले भने, ‘कर्जापैचा गरेर यही टुटेफुटेको बाँस र खरले जेनतेन टहरा बनाएर बालबच्चालाई वर्षामा ओत लगाउँछौं।’ भुमरीसहितको हुरीले बारामा १ हजार ८ सय ९५ र पर्सामा ५ सय ९ वटा घरमा क्षति पुर्‍याएको गृह मन्त्रालयअन्तगर्तको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ।

सेनाको १० टोली परिचालन

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सरकारले बारा जिल्लामा एक हजार दुई सय ६३ र पर्सामा ९१ वटा घर निर्माण गर्ने भएको छ। पौैडेलले घर निर्माण प्रक्रिया थाल्न नेपाली सेनालाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, ‘सेनाले प्रक्रिया सुरु गरिसकेको छ।’ नेपाली सेनाका प्रवक्ता सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले कुन ढाँचा र कति लागतमा घर बनाउने भन्नेबारे दुईवटा प्रस्ताव रक्षा मन्त्रालयमार्फत सरकारसमक्ष पेस गरिसकेको जानकारी गराए। घर निर्माणका लागि सेनाले १० वटा टोली परिचालन गर्दैछ।

बेखबर प्रदेश सरकार

प्रदेश सरकारले भने हुरीपीडितको घर बनाउन संघीय सरकारले समन्वय नगरेको बताएको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने, ‘हुरीपीडितको घर बनाउने कुरा अलपत्र छ। केन्द्र सरकारले हामीसँग समन्वय गरेको छैन।’ उनले समन्वय नहुँदा काम प्रभावकारी हुन नसक्ने बताए। उनले भने, ‘संघीय सरकारले घर निर्माणका लागि गठन गरेको समिति कत्तिको प्रभावकारी हुने हो हामी पनि अन्योलमा छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.