वीरगन्जमा रोकेर राखेको दुई बसमा आगजनी
वीरगन्ज : वीरगन्जको बाइपास सडकमा सोमबार राति अज्ञात समुहले दुईवटा बसमा आगजनी गरेको छ। बाइपासमा रहेको भिस्वा होटल जाने चोक नजिकै सडक छेउमा रोकेर राखिएका ना ५ ख ३६१४ र ना ५ ख ३६१५ नम्बरका दुई बसमा सोमबार राति साढे ९ बजेतिर अज्ञात समुहले आगजनी गरेका हुन्।
आगजनीबाट दुवै बस जलेर ध्वस्त भएका छन्। बसमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले निभाएका थिए।
दुवै बस, सर्लाहीको मलंगवा निवासी मनमोहन साहको रहेको प्रहरीले जनाएको छ। बसमा आगजनी गर्नेहरुको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए । उनले आजगनीको घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार, बसधनी साहले बाराको परवानीपुरका श्रवणकुमार साहलाई दुवै बस भाडा चलाउन दिएका थिए। तर श्रवण कुमारले बसको भाडा लामो समयदेखि नदिएपछि बस धनी साहले दुई महिना पहिले दुवै बस खोसेर बाइपास सडक छेउमा राखेका थिए ।
यस बारेमा दुवैजना बीच पर्सा जिल्ला अदालतमा मुद्धा पनि चलिरहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । 
प्रतिक्रिया दिनुहोस !