गाउँभरी फैलियो झाडापखाला
गुल्मी : गुल्मीको मुसीकोट नगरपालिका- ४ बडागाउँस्थित दजाकोटमा झाडापखाला फैलिएको छ।दूषित पानीका कारण गाउँमा झाडापखाला फैलिएको स्थानीयले बताएका छन्।
गाउँभरीका स्थानीयले दुरखोला ललन्की खानेपानी मुहानको पानी प्रयोग गर्दै आएको वडाअध्यक्ष ओमबहादुर केसीले जानकारी गराए।दूषित खानेपानीकै कारण पुरै गाउँ नै प्रभावित भएको उनले बताए।केसीका अनुसार झाडापखालाबाट करिब ९५ जना बढी स्थानीय प्रभावित भएका छन्। स्थानीय बिरामी परेपछि गाउँमा उक्त मुहानको पानी प्रयोग गर्नमा रोक लगाइएको छ।
वडाअध्यक्ष केसीका अनुसार स्थानीय धेरैजसोलाई गाउँमै प्राथमिक उपचार गराइएको छ भने तीनजनालाई जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।स्थानीय ६० वर्षीया कुमारी सिग्देल, २६ वर्षीय खिमबहादुर पेमीमगर र ७० वर्षीय बोम बहादुर राकसकोटीको तम्घासमा उपचार भइरहेको छ। स्थानीय फूलकुमारी सिंजालीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ।
झाडापखाला फैलिएपछि मुसीकोट नगरपालिकाले गाउँमा 'मिनिरल वाटर' वितरण गरेको छ।सोमबारदेखि स्थानीय बिरामी पर्दै गएपनि बुधबार मात्र रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मी पुगेका छन्।स्वास्थ्यकर्मीका अनुसार पानीकै कारण 'फुड प्वाइजन' भएको हुनसक्ने जनाएका छन्।