इतिहासमा यो साता के के भएको थियो ?

इतिहासमा यो साता के के भएको थियो ?

अप्रिल २५

सन् १९९२ को अप्रिल २५ मा अफगानिस्तानमा कम्युनिस्ट सरकारको पतन भयो। सोभियत संघले त्यहाँ सैन्य हस्तक्षेप गरेर त्यहाँको वैधानिक सरकारलाई अपदस्थ गरी अफगानिस्तानका कम्युनिस्टहरूको नेतृत्वमा कठपुतली सरकार गठन गरेको थियो।

यसको विरोधमा अफगानी जनता र त्यहाँका धार्मिक चरमपन्थीलाई हातमा लिएर अमेरिका र पाकिस्तानलगायत उनीहरूका साझेदार राष्ट्रले अफगानिस्तानभित्र सोभियत संघविरोधी छद्म युद्ध आरम्भ गरे। चौतर्फी दबाब र आक्रमणका कारण सन् १९८९ को नोभेम्बरमा सोभियत सेना अन्ततः अफगानिस्तानबाट फिर्ता भयो।

त्यसको तीन वर्षपछि अफगानिस्तानको कम्युनिस्ट सत्ता ढल्यो। सोभियत संघ फिर्ता भएपछि पनि त्यहाँको कम्युनिस्ट सत्ता ढल्न तीन वर्ष लागेको घटनाले राजनीतिशास्त्रीहरूलाई चकित तुल्याएको थियो। सोभियत सेना फर्किनासाथ कम्युनिस्ट सत्ता तत्क्षण धराशायी हुने अधिकांश राजनीतिशास्त्रीको धारणा थियो।  

अप्रिल २६

सन् १९८६ को अप्रिल २६ मा युक्रेनमा पारमाणविक दुर्घटना भएको थियो। सो दुर्घटनालाई संसारकै ठूलो पारमाणविक दुर्घटनामध्येमा गनिन्छ। त्यहाँ तत्कालीन सोभियत संघले विशाल पारमाणविक भट्टी केन्द्र सञ्चालन गरेको थियो।

ती केन्द्रमा प्रशोधित पारमाणविक शक्तिलाई हातहतियार उत्पादन र चिकित्सा तथा ऊर्जा प्रयोजनमा खर्च गर्ने गरिन्थ्यो। तर, अप्रिल २६ का दिन चेर्नोबिल नाम गरेको सो पारमाणविक भट्टीको एउटा रियाक्टरमा विष्फोट भयो।

विष्फोटका कारण चारैतिर आगो सल्कियो। विष्फोट र आगलागीका कारण पारमाणविक विकिरण चारैतिर फैलियो। यसबाट ४६ जनाले ज्यान गुमाए। विकिरण फैलिएको क्षेत्रका मानिसमा थाइराइड, क्यान्सरलगायत रोग देखापर्न थाल्यो। 

अप्रिल २७

सन् १९४५ को अप्रिल २७ मा दोस्रो विश्वयुद्ध अन्त्यको सँघारमा पुगेको थियो। यसै दिन अमेरिका र सोभियत संघका फौजले जर्मन भूमिभित्रै हातेमालो गरे। पूर्वी मोर्चाबाट सोभियत संघले जर्मन फौजलाई दपेट्दै राजधानी बर्लिनमा सीमित गर्दै ल्याएको थियो।

त्यस्तै, पश्चिम मोर्चाबाट अमेरिकी सेनाको नेतृत्वमा बेलायतलगायत मुलुकको फौजले जर्मन सेनालाई बर्लिनतिर लखेट्दै अघि बढेको थियो। त्यत्तिकैमा अप्रिल २७ मा जर्मनको एल्बी नदीको किनारमा सोभियत संघ र अमेरिकाका सेनाको भेट भयो।

त्यसपछि दुवैले मिलेर बचेका जर्मन सेनालाई आत्मसमर्पण गराउने निधो गरे। त्यसको १० दिनपछि जर्मन सेनाले विनाशर्त आत्मसमर्पण गर्‍यो। पराजय अवश्यम्भावी देखेर जर्मन तानशाह एडोल्फ हिटलरले आत्महत्या गरेपछि जर्मन सेनाले आत्मसमर्पण गरेको थियो।

अप्रिल २८

सन् १९७५ मा भियतनाम युद्धमा अमेरिकी संलग्नता व्यवहारिक रूपमै अन्त्य भएको थियो। सोभियत संघको पुट पाएर उपद्रो मच्चाइरहेका भियतनामका कम्युनिस्ट राष्ट्रवादीहरूलाई तह लगाउन भनेर अमेरिकाले त्यहाँ हमला गरेको थियो।

तर, भियतनामी जनताले अमेरिकी आक्रमणको सशक्त प्रतिरोध गरेपछि र युद्धलाई लिएर अमेरिकाभित्रै चर्को विरोध भएपछि अमेरिकाले अन्ततः भियतनामबाट फिर्ता हुने निधो गर्‍यो। उसले अमेरिकामा रहेका अमेरिकी सेना, कर्मचारी, पत्रकार आदिलाई फिर्ता ल्याउने अभियान आरम्भ गर्‍यो।

यही अभियानअन्तर्गत सन् १९७५ को अप्रिल २८ मा भियतनाममा बाँकी रहेका अमेरिकी नागरिकलाई लिएर अमेरिकी हेलिकोप्टर र पानीजहाज भियतनामबाट फर्कियो। त्यहाँबाट अमेरिकाको फिर्तीलाई उसको सैन्य पराजयका रूपमा सर्वत्र अथ्र्याइयो।  

अप्रिल २९

सन् २००७ को अप्रिल २९ मा इरानमा पश्चिमी शैलीमा कपाल काट्न नपाउने नियम लागू गरियो। इरान सरकारले पश्चिमी ढाँचामा कपाल काटेको पाइए दण्ड गरिने उर्जी दारी गर्‍यो। इरानको रैथाने शैलीमा कपाल काट्न अनिवार्य गरियो।

कपाल कसरी काट्नेजस्तो नितान्त निजी विषयमा पनि राज्यले हस्तक्षेप गरेको भन्दै संसारभरिका सञ्चारमाध्यममा यसको आलोचना भयो। सन् १९७९ मा इरानका इस्लामिक क्रान्तिकारीहरूले अमेरिकापरस्त राजा मोहम्मद रेजा शाह पहलवीलाई अपदस्थ गरेर इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरेका थिए। त्यसपछि इरानमा इस्लामिक कानुन लागू भयो।

व्यक्तिको सामाजिक व्यवहारमाथि कडाइ गरियो। यही क्रम निरन्तर अघि बढ्दै जाँदा कसरी कपाल काट्ने भन्नेबारे त्यहाँ कानुन बन्यो। त्यसअघि इरानमा इस्लामिक ढाँचाको कपडा लगाउनुपर्ने नियम लागू भइसकेको थियो। कपालसम्बन्धी नयाँ नियमलाई कडाइका साथ लागू गर्न भनेर प्रहरी अनुगमन बढाइयो। 

अप्रिल ३०

सन् १९४५ को अप्रिल ३० मा जर्मन तानशाह एडोल्फ हिटलरले आत्महत्या गरे। जर्मनीको राजधानी बर्लिनमा बंकर खनेर स्थापना गरिएको जर्मनको युद्ध कार्यालयको मुख्यालयमा बसेर उनले पराजित हुँदै गएको जर्मन सेनालाई नेतृत्व गरिरहेका थिए।

तर, युद्धमा जर्मनीको पराजय निश्चित भएपछि उनले आत्महत्या गर्ने निधो गरे। आत्महत्या नगरे आफूलाई विरोधी खेमाका शक्तिले पक्राउ गर्ने, मुद्दा चलाउने, अपमान गर्ने र मृत्युदण्ड दिने देखेपछि उनले आत्महत्याको बाटो रोजे।

आत्महत्या गर्नुअघि इच्छापत्र लेखेर उनले शेखपछि आफ्नो सबै सम्पत्ति पार्टीलाई र यदि पार्टी रहेनछ भने जर्मनीलाई अर्पण गर्ने उल्लेख गरे। आत्महत्या गर्नुअगावै उनले आफ्नो शव शत्रु पक्षको हातमा नपरोस् भनेर ७० लिटर पेट्रोल जोहो गर्न लगाएका थिए। आत्महत्यापछि जर्मन सेनाले शवमा पेट्रोल छर्किएर आगो लगाई उनको दाहसंस्कार गर्‍यो। 

मे १
सन् २००९ को मे १ मा स्विट्जरल्यान्डको प्रतिष्ठित बैंक यूबीएसले अमेरिकी राज्यलाई बैंकका खातावाल मानिसहरूको सूचना दिन अस्वीकार गर्‍यो। अमेरिकी नागरिकले कर छली गरेर ठूलो रकम अवैधानिक रूपमा यूबीएसमा राखेको आशंकामा अमेरिकाको राजस्वसम्बन्धी मामिला हेर्ने विभागले विदेशी बैंकमा राखिएका अमेरिकी नागरिकको पैसासम्बन्धी सूचना संकलन गर्ने निधो गर्‍यो।

स्विट्जरल्यान्डको यूबीएस बैंकमा मात्र अमेरिकाका ५० हजार मानिसले खर्बौं डलर अवैधानिक रूपमा लुकाएको आशंका गर्दै उसले बैंकसँग अमेरिकी खातावालहरूको विवरण माग्यो। तर, बैंकमा रहेका खातावालको सूचना गोप्य रहने अडान बैंकले लियो।

गोपनीयतासम्बन्धी आचारसंहिता उल्लंघन गर्न नसकिन बैंकले जनायो। अमेरिकी सरकारले बैंकमाथि ठूलो दबाब दिए पनि बैंकले खातावालको जानकारी दिन मानेन। अन्नपूर्ण सम्पूर्णबाट इतिहासमा यो साता ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.