बर्सेनि कुपोषणको सिकार

बर्सेनि कुपोषणको सिकार

दाङ : विपन्न परिवारका बालबालिकामा कुपोषण समस्या पाइएको छ। शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३ सय छ। पोषण पुनःस्थापन केन्द्र र ओसीटीको तथ्यांकले शीघ्र कुपोषण हुने बालबालिका दाङमा बर्सेनि बढिरहेको देखाएको छ।

पुनःस्थापन गृहकी इन्जार्च लक्ष्मी गैरेका अनुसार कुपोषित बालबालिकामध्ये झन्डै ५० प्रतिशत चौधरी समुदायका छन्। ‘सबै समुदायका बच्चा कुपोषित अवस्थामा आउँछन्’, उनले भनिन्, ‘तर, चौधरी बालबालिका आधाभन्दा बढी भेटिन्छन्।’ १० पीडितमा पाँच जना चौधरी बालबालिका हुने गरेको उनले सुनाइन्। ‘खाना, स्याहारसुसारमा ध्यान नदिँदा र सामान्य चेतनासम्म पनि प्रयोग गर्न नसक्दा कुपोषण हुने बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ’, उनले भनिन्।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा हरेक वर्ष कुपोषणपीडितको संख्या बढिरहेको छ। ‘सचेतना बढ्दै जाँदा बालबालिका पनि उपचारमा आउने क्रम बढेको होला’, उनले भनिन्। २०७० सालमा ७८ जनाको उपचार गरिएकोमा यो संख्या अर्को १ सय ५५ पुगेको थियो। अहिले शीघ्र कुपोषणका ३ सय १३ बालबालिका छन्। उनका अनुसार कुपोषणको उपचार गराउन आउनेमा बालकभन्दा बालिका बढी छन्। ५२ प्रतिशत बालिका र ४८ प्रतिशत बालकलाई कुपोषण उपचारमा ल्याइने गरेको छ।

सुआहारा कार्यक्रमले १२ स्थानमा कुपोषण उपचार केन्द्र स्थापना गरेको छ। यसमार्फत कुपोषित बालबालिकाको उपचार गराइरहेको जिल्ला संयोजक सुरजकुमार शर्माले बताए। कुपोषित बालबालिकाको उपचारमा गृहले पाँच वर्षदेखि काम गरिरहेको छ। यो अवधिमा साबिक राप्ती अञ्चलका विभिन्न जिल्लाका ७ सय ५० बालबालिका उपचार र ४ हजार आमाले काउन्सिलिङ सेवा लिएको इन्जार्च गैरेले बताइन्। उपचारमा झन्डै २ करोड रुपैयाँ खर्च भएको देखिएको छ।

दाङका १० स्थानीय तहमा १२ वटा ओटीसीमार्फत कुपोषित उपचार भइरहेको छ। स्थानीय तहका स्वास्थ्य संस्थामातहत ओटीसी सञ्चालन हुँदा प्रभावकारीसमेत देखिएको शर्माले बताए। घोराही उपमहानगरका ढिकपुर र रामपुर, तुलसीपुर उपमहानगरका मानपुर, टरिगाउँ, राप्ती गाउँपालिकाका सिसहनिया, गढवाका गढवा, राजपुर, लमही नगरपालिकाको सतवरिया, बबईको पञ्चकुले, दंगीशरणका श्रीगाउँ, बंगलाचुली, शान्तिनगरको शान्तिनगरमा ओटीसी स्थापना भएको उनले बताए।

कुपोषण न्यूनीकरण गर्न आमा र स्वास्थ्य स्वयंसेविकालाई पनि पोषणसम्बन्धी तालिम सञ्चालन भइरहेको छ। जिल्लामा कुपोषित बालबालिका र पोषणका लागि भन्दै ७ करोड रुपैयाँ खर्च भइसकेको छ। शान्तिनगर गाउँपालिकाले शीघ्र कुपोषण भएका बालबालिकालाई केन्द्रमै राखेर र मध्यमलाई सर्वाेत्तम पिठोलगायत सामग्री दिन सुरु गरिसकेको स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुनले बताए।

एकतिहाइमा पुड्कोपन

उचाइ र तौल मापन गर्दा उपयुक्त छैन भने ख्याल गर्नुस् सन्तानमा पुड्कोपन हुन सक्छ। पुड्कोपनले कुपोषणको संकेत गर्छ। नेपालमा पाँच वर्षमुनिका एकतिहाइभन्दा बढी बालबालिकामा यो समस्या देखिएको छ। ३६ प्रतिशत बालबालिकामा पुड्कोपन वा उमेरअनुसार उचाइ नपुगेको पाइएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य विवरणअनुसार सहरीभन्दा ग्रामीण क्षेत्रमा कुपोषण बढी पाइएको छ। गरिब परिवारका ४९ प्रतिशत बालबालिका र शिक्षा हासिल नगरेका आमाबाट जन्मेका ४६ प्रतिशत बालबालिकामा पुड्कोपन बढी हुने गरेको छ। सन् १९९६ मा आधाभन्दा बढी ५७ प्रतिशत बच्चा ख्याउटे देखिएका थिए। सन् ०१६ मा ख्याउटे बालबालिकाको संख्या घटेर ३६ प्रतिशतमा झरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.