टेलिकमको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
काठमाडौं : नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ ।
अब टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने टेलिकमले जनाएको छ । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्नेछ ।
नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्नेछ । भारत वा चीनबाट नेपालबाहेक देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्नेछ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस ५४ रुपैयाँ र भारतबाट प्रतिएसएमएस २४ रुपैैयाँ लाग्नेछ ।
एसएमएस प्राप्त गर्न कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । उक्त सेवालाई हाल व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु नपर्ने टेलिकमले जनाएको छ । यसका लागि ‘स्टार १४१५ ह्यास’ डायल गरी सक्रिय गर्न सकिने छ ।