भक्तपुरको विद्युत चुहावट अहिलेसम्मकै न्यून

भक्तपुरको विद्युत चुहावट अहिलेसम्मकै न्यून

भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। जसअनुसार विद्युत चुहावट अहिलेसम्मकै न्यून विन्दुमा झरेको हो।

केन्द्रका अनुसार गएको आर्थिक वर्षमा १८.५८ प्रतिशत रहेको विद्युत चुहावट चालू आर्थिक वर्षको चैत महिनामा अहिलेसम्मकै न्यून ८.४६ प्रतिशतमा झरेको हो।

केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले चालू आर्थिक वर्षको चैत महिनाको विद्युत चुहावट ८.४६ प्रतिशत अहिलेसम्मकै न्यून चुहावट भएको दावी गरे।

‘गएको फागुन महिनासम्मै ११.८८ प्रतिशत रहेको चुहावट चैतमा आउँदा ८.४६ प्रतिशतमा झार्न सफल भएका हौं’, उनले भने।

गत वर्षको चैत महिनामै विद्युत चुहावट १५.२९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७२/७३ मा ३७.०३ प्रतिशत विद्युत चुहावट रहेको थियो। सोही वर्षदेखि भक्तपुरमा विद्युत चुहावट निरन्तर आरालो लागेको केन्द्रको तथ्यांकले देखाउँछ।

भूकम्पपछि भक्तपुरमा विद्युत चुहावट नियन्त्रण अभियान कडाइका साथ कार्यान्वयनमा ल्याइएको थियो। त्यसलगत्तै आर्थिक वर्ष २०७३/७४ मा चुहावट २८.०८ प्रतिशतमा झरेको थियो। आर्थिक वर्ष २०७४/७५ मा १८.५८ प्रतिशतमा झरेको केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिए।

उनले चालू आर्थिक वर्षमा चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको सुनाए। अहिलेसम्मको प्रगतिको आधारमा चुहावट १२ प्रतिशतमा समेटिने उनको भनाइ थियो।
गत वर्षको वैशाख, जेठ र असारमा क्रमशः १७.७०, १६.८० र १६.८४ प्रतिशत रहेको थियो। केन्द्रले भक्तपुरमा दैनिक विद्युत चुहावट अभियान सञ्चालन गर्दै आएको छ। साथै प्राविधिक चुहावट नियन्त्रण गर्न नांगा तारहरु हटाउँदै एबीसी तारहरु जडान कार्यलाई तीव्र बनाउँदै आएको छ।

त्यस्तै धेरै लामो वितरण लाइनलाई छोट्याएर सबै सबस्टेशनहरुको क्षमतासमेत बढाइएको केन्द्रका प्रमुख श्रेष्ठ बताउँछन्।‘गार्हस्थतर्फको विद्युत चुहावट सँगसँगै प्राविधिक चुहावट नियन्त्रण गरिएको कारण यो उपलब्धि हात लागेको हो’, उनले भने, ‘गार्हस्थ चुहावट नियन्त्रणले मात्रै त यो उपलब्धि कहाँ पाउनू ?’

माग बढेको बढेयै
भक्तपुरमा विद्युतको माग पनि बढेको बढेयै छ। केन्द्रका अनुसार दैनिक १० जना ग्राहकको नयाँ लाइन जडान भइरहेको केन्द्रले बताएको छ। केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना ३६ हजार ६ सय २७ को संख्यामा रहेको ग्राहक चैतसम्ममा ३८ हजार दुई सय ४८ जना पुगेका छन्।
केन्द्रका प्रमुख श्रेष्ठले गत वर्षको चैतमा कूल चार करोड ९१ लाख ६६ हजार चार सय ३३ युनिट खपत भएको जानकारी दिए। तर चालू आवको चैतमा पाँच करोड २९ लाख ४८ हजार ६१ युनिट पुगेको उनको भनाइ थियो। उक्त युनिट बिक्रीबाट चालू आवको चैत सम्ममा ५१ करोड एक लाख ८८ हजार नौ सय ३९ रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले जनाएको छ।

चुहावट कारबाहीबाट एक करोड ३४ लाख
त्यस्तै केन्द्रले चालू आर्थिक वर्षको चैत सम्ममा तीन ९९ जनालाई विद्युत चुहावटमा कारबाही गरेको छ। उनीहरुबाट केन्द्रले एक करोड ३४ लाख ९४ हजार पाँचसय ५३ रुपैयाँ जरिवाना गराएको छ।
केन्द्रका अनुसार चालू आवको चैतमा मात्रै ५६ जनालाई चुहावटमा कारबाही गरी २० लाख ४९ हजार एकसय ३९ रुपैयाँ जरिवाना गराएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.