स्नेहाजकी स्नेहा

स्नेहाजकी स्नेहा

 दुवै आँखा नदेख्ने। कान नभएका। गाडीले हानेर प्यारालाइज भएका। तातोपानीले खुइलिएका। तीन खुट्टामा उभिएका। रबर गाडिएर घाँटीको भित्रसम्म काटिएका। थरीथरीका कुकुर। हौसिँदै, खुसीले बुरुक्क उफिँ्रदै ढोकामा आए। बेसहारा बनेर सडकमा भौतारिइरहँदा उद्धार गर्ने स्नेहालाई मायाले चाटे। बुई चढे। काखमा आए। लुटुपुटु भए।

स्नेहाले सबैलाई सुम्सुम्याइन्। कसैलाई कम्मरमा बोकिन्। काखमा राखिन्। काँधमा चढाइन्। एकपछि अर्को नामले सम्बोधन गरिन्। उनीहरूले कुरा बुझे। केही बेरमा शान्त भए।

ललितपुरको नख्खुस्थित बाग्मती किनारा नजिकै स्नेहाज केयर स्थापना भयो। सन् २०१५ मा। संस्थापक उनै स्नेहा श्रेष्ठ हुन्, जसले सडकमा देखिने बेसहारा, घाइते, बिरामी कुकुरका उद्धार गरी ल्याउन थालिन्। हाल एक सय २५ कुकुर छन् उनीसँग। कतिमय महँगा जातका छन्। रहरले किनिएका। तर बूढो र बिरामी भएपछि सडकमा फालिएका।

केही वर्ष पहिलासम्म कुकुरप्रति रुचि थिएन उनलाई। फोहोरी हुन्छन्, छोयो कि रेबिज लाग्छ भन्ने सोच थियो। घर छेउछाउ कुकुर आएर सुत्यो भने तातोपानीले पखाल्थिन्। खानामा एउटा मात्रै रौं भेट्दा थाल हुत्याइदिन्थिन्। तर यति बेला स्नेहाको कपडाभर कुकुरका रौं भरिन्छन््। लुतोले खुइलिएका, घाउखटिरा भएका सबै कुकुरलाई मायाले बोक्छिन्, खेलाउँछिन्। कुकुरहरूका साम्राज्यमा एउटी दासजस्तै अहोरात्र खटिरहेकी हुन्छिन्। समयले कुकुरतिर मन मोडिदियो।

कुकुरमोह हुनुको पछाडि आफ्नै कथा सुनाइन्। पाँच वर्षपहिला श्रेष्ठका श्रीमान्ले कुकुर पाल्ने रहर गरे। सुरुमा उनी राजी भइनन्। श्रीमान्ले विश्वस्त बनाएपछि ६० हजार रुपैयाँमा दुई वटा विदेशी जातका कुकुर किनेर ल्याएर ग्यारेजसँगै राखिन्। तर १५ दिनमै एउटा कुकुर मर्‍यो। कुकुर मर्नुको दोषी आफैंमाथि थोपरिन्। बाँचेको अर्को कुकुरलाई हत्तपत्त घरभित्र लगेर न्यायो बनाएर राखिन्। माया गर्न थालिन्। उसले एक्लो महसुस गर्न थालेपछि पुनः अर्को ब्रिड (विदेशी कुकर) किनेर ल्याइन्। सम्पूर्ण हेरचाह आफंै गर्न थालिन्। बिहान ८ बजेसम्म सुत्ने अल्छी मान्छे कुकुरसँग सबेरै हिँड्न थालिन्। सरसफाइ, खानपान हेर्न थालिन्।

कुकुरका लागि सबैए चाँजोपाँजो मिलाएपछि मात्र उनी अफिस जान्थिन्। ठमेलमा ट्राभल व्यापार थियो। कामबाट फर्किंदा कुकुर गेटमा कुरिरहेको हुन्थ्यो। दाँतले टोक्दैटोक्दै भित्रै पुर्‍याउँथ्यो। आठ महिनासम्म यसरी बित्यो। कुकुरप्रतिको माया झाँगिँदै गयो।

‘एक दिन अफिसबाट फर्किंदा कुकुर गेटमा लिन आएन’, उनले भनिन्, ‘मनमनमा किन आएन जस्तो लाग्यो।’ भित्र गएर हेर्दा रगतमा लतपतिएको थियो। बचाउन सकिनन्। छिमेकीले विष हालिदिएको रहेछ। कुकुर भुकेकाले सधंै आलोचित बनेकी उनको कुकुरलाई कोही नभएको मौकामा विष हालिदिएका रहेछन्।

अरूले हेर्दा केवल कुकुर मात्र भए पनि परिवारको सदस्य जत्तिकै प्रिय थियो ऊ। त्यसपछि १३ दिन जुठो बारिन्। अढाई वर्षअघि बुवा बित्दा र कुकुर मर्दा जुठो बारेकी छन्। ‘दुवै पटक १३ दिन जुठो बारेँ’, उनले भनिन्। प्रत्येक दिन पशुपति गएर नेवारी परम्पराअनुसार उसको आत्माको शान्तिको कामना गर्थिन्।

कुकुर मरेपछि डिप्रेसनमा गइन्। बाहिर निस्कन मन लागेन। घरभित्रको कुकुरलाई त मार्छन् भने बाटाको कुकुरको हालत के होला भन्ने प्रश्नले मनमा पोल्न थाल्यो। त्यसपछि सडकका कुकुरको उद्धार गर्न थालिन्। टाउको फुटेका, किर्ना, उपियाँ परेका, खुट्टा भाँच्चिएका थुपै्र कुकुर देखिन्। उद्धार गर्दै केनल क्लबमा लगिन्। दिनको २५० रुपैयाँ तिर्नुपथ्र्यो एउटा कुकुरको। महिना दिनमा केनल क्लब भरियो। बरु टिम बनाएर काम पाए हुन्थ्यो भन्ने लाग्यो। र स्नेहाज केयरको सोचाइ आयो।

जनावर पटक्कै मन नपर्ने आफूमा परिवर्तन सम्भव छ भने अरूमा किन नहुने ? केवल पाँच प्रतिशत मान्छेलाई विश्वस्त बनाउन सके अरूले बिस्तारै जनावरको महŒव बुझछन् भन्ने लाग्यो। त्यसपछि पाँच रोपनी जग्गा लिजमा लिएर स्नेहाज केयर स्थापना गरिन्। गत वर्षदेखि ५० रोपनी बनाएर जोखिममा परेका, सडकका सुँगुर, गाई, बाख्राहरू पनि ल्याइन्। तरकारी खेती पनि सुरु गरेको बताइन्।

सुरुमा ट्राभल व्यापारबाट आएको पैसाले खर्च धानिन्। डाक्टर, टेक्निसियन, एम्बुलेन्स ड्राइभर, सरसफाइ गर्ने, खुवाउनेलगायत १८ जना स्टाफ छन्। खर्च बढ्न थालेपछि (ग्रान्ट) अनुदान खोज्न थालिन्। विदशीले सधैं उनको निवेदन अस्वीकार गरे। कारण थियो प्यारालाइज भएको कुकुर राख्नु। हाल १७ वटा प्यारालाइज भएका कुकुर छन्। श्रेष्ठको अनुभवमा विदेशीहरू दीर्घकालीन समाधान खोज्छन्। प्यारालाइज भएका कुकुरको उपचार गर्ने बजेटले सयौंको बन्ध्याकरण गर्न सकिन्छ भन्ने सोच्छन्। तर प्यारालाइसिस भएर बितेका बुवा स्याहारेकी उनले मान्छेमा जत्तिकै बाँच्ने चाहना कुकुरमा देखिन्। उनीहरू भुक्छन्। भाषा बुझिदिनुपर्छ। अन्तिम अवस्थासम्म पनि बुवाले बाँच्न चाहेको सम्झना गर्दै भनिन्, ‘यी कुकुरको खानाको जोहो भगवान्ले पक्कै गरेकै होलान्।’ स्कुले विद्यार्थीदेखि विदेशमा बस्ने नेपालीले सहयोग गर्दै आएको उनको भनाइ छ।

‘सुन्दा नराम्रो लाग्ला तर मान्छेभन्दा जनावरको विश्वास लाग्छ’, श्रेष्ठले भनिन्, ‘मान्छेलाई दस पटक सहयोग गर्नु र एक पटक नगर्नु, बिच्किहाल्छ। कुकुर त्यस्तो हुँदैन।’ कुकुरलाई एक पटक मात्रै खान दिए पनि सधैंै पछिपछि आउँछ। जनावरमा लोभलालच हुँदैन। मान्छेसँग तुलना गर्न मिल्दैन।

कुकुरसँग समय बिताउनेहरू धेरै बाँच्छन् भन्ने विज्ञानले प्रमाणित गरेको सुनाउँछिन्। भन्छिन्, ‘कुकुरले मान्छेको मुड बुझ्छ। रिसाएको बेला, छेउमा आउँदैन। अरूलाई गाली गर्दा पनि परै बस्छ। निराश भएर बसेको बेला बिस्तारै छेउमा आउँछ। हातले कोट्याउँछ। रिसाएको बेला हात दिन्छ। चल्न खोज्छ। मान्छेलाई खुसी बनाउन खोज्छ। जसरी उनीहरूले हाम्रो मुड बुझ्छन्। मान्छेले पनि बुझिदिनुपर्छ। आराम गर्ने बेला, दिक्क भएको बेला कुकुरलाई चलाउनु हुन्न।’

कुकुरको स्वभाव ईष्र्यालु हुन्छ। एउटालाई काखमा राख्यो अर्को आएर टोक्न थाल्छ। एउटालाई बेस्सरी च्याप्छु। अर्को रिसाउँछ। ‘साँच्चै कुकुरले मुड फ्रेस गराउँछ’, उनी भन्छिन्।
तर कुकुर पाल्नेहरूले उनीहरूको अधिकारको कुरा बुझ्नुपर्ने उनको भनाइ छ।

पशु कल्याण ऐन ल्याउन सर्वोच्चले आदेश दिए पनि हालसम्म ऐन नबनेकोमा उनले गुनासो गरिन्। घरमा पालेका जनावरलाई बूढो वा बिरामी भएपछि सडकमा फाल्नेविरुद्ध कडा सजाय हुनुपर्ने माग उनको छ। यसबारेमा स्थानीय सरकारले कदम चाल्नुपर्ने देखेकी छन्। स्नेहाज केयरका तर्फबाट साना बच्चालाई जनावरबारे र उनीहरूलाई माया गर्नुपर्छ भन्ने कुरा सिकाउँदै आएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.