शान्तिनगरको झाडापखाला नियन्त्रणमा
दाङ : शान्तिनगर गाउँपालिकामा शुक्रबारदेखि देखिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको छ। झाडापखालाका कारण शान्तिनगरको भलानेटी गाउँ पुरै प्रभावित भएको थियो।
शुक्रबार रातिबाट प्रकोप नियन्त्रणमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए। उनले गाउँमै र स्वास्थ्य चौकीमा बिरामीको उपचार गरि प्रकोपलाई नियन्त्रणमा ल्याइएको जानकारी दिए। प्रकोप नियन्त्रणका लागि गाउँपालिकाका १० जना स्वास्थ्यकर्मी र एक जना चिकित्सक परिचालन गरिएको थियो। झाडा पखालाबाट ५० जना बढि प्रभावित भएका थिए। १८ जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गरिएको थियो भने अन्यलाई गाउँमै उपचार गरिएको पुनले जानकारी दिए। झाडापखालाबाट गम्भीर १ जनालाई थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रिफर गरिएको छ।
उपचार गरिएका बिरामीमा कडा जलवियोजन भेटिएको पुनले बताए। शान्तिनगर गाउँपालिकाको वडा नं ३ सहितका अन्य क्षेत्रमा गत वर्ष पनि महामारी फैलिएको थियो। गाउँपालिकामा झाडापखालाको प्रकोपबाट १६ सय जना बिरामी परेका थिए। महामारी एक हप्तापछि नियन्त्रणमा आएको हो।
अहिले पनि सोहि समयमा वडा नं तीनबाट झाडापखालाको प्रकोप देखिएको छ। पानीको मुहानको समस्याले विगतमा झाडापखाला भएको थियो। यस पटकको झाडापखाला पनि खाना र पानीको कारण भएको अनुमान गरिएको छ।