चिर्पट प्रहार गरी बाबुको हत्या
परासी : पश्चिम नवलपरासीमा चिर्पट दाउरो प्रहार गरेर छोराले बाबुको हत्या गरेका छन्। सरावल गाउँपालिका २ दंगिया बस्ने २२ वर्षीया जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षीया बाब अलाउद्दिनलाई सुतिरहेको बखत चिर्पट प्रहार गरेका थिए।
जब्बरको मानसिक अवस्था असन्तुलित रहेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ। चिरपट प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो।
बाबु छोराबीच हरेक दिन झगडा हुने गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ। त्यसदिन पनि झगडा भएपछि बाबु सुत्न गएका थिए।
आवेगमा रहेका जब्बरले एक्कासी सुतिरहेको कोठामा गएर चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको हो। हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसिरहेका थिए।
उनलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।