खुला टेनिस प्रतियोगिताको उपाधि प्रेरणालाई
काठमाडौं : प्रेरणा कोइराला र आइभन हो लिसानेविचले सातौं सिटिजन्स् बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार भएको एकल प्रतिस्पर्धामा आइभन पुरुष र प्रेरणा महिलातर्फ पहिलो भएका हुन्।
त्रिपुरेश्वरस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा आइभनले प्रदीप खड्कालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरे। महिलाको उपाधि भिडन्तमा भने प्रेरणाले अश्लेषा लिसानेविचलाई ६–३, ६–२ को सीधा सेटमा हराउँदै उपाधि रक्षा गरिन्। एक वर्षको अवधिमा प्रेरणाको लगातार छैटौं उपाधि हो। गत वैशाखमा प्रेरणाले सिटिजन्स् बैंक खुला टेनिसकै उपाधि जितेकी थिइन्। त्यसपछि प्रेरणा ललितपुर ओपन, बुटवल ओपन, एपीएफ ओपन र आठौं राष्ट्रिय खेलकुदमा पहिलो भएकी थिइन्। पुरुष÷महिला दुवैको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए।
मिक्स डबल्समा दिदीभाइ अश्लेषा र आइभनको जोडी पहिलो भयो। उनीहरूले सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए। पहिलो हुनेले ३५ हजार र दोस्रोले १७ हजार पाँच सय नगद पुरस्कार हात पारे।
पुरुष ५५ वर्षमाथि कृष्णराज घले पहिलो भए। उनले फाइनलमा कमल थापालाई ६–४, ६–४ को सेटमा पाखा लगाए। कृष्णले १५ हजार र कमलले सात हजार नगद पुरस्कार पाए। ४५ वर्षमाथि डबल्समा सुदर्शन विष्ट र राजु क्षत्रीको जोडीले गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीलाई २–६, ६–१, १०–६ ले पराजित गर्यो। विजेताले २५ हजार र उपविजेताले १२ हजार पाँच सय नगद पुरस्कार थापे।
पुरुष ४५ वर्षमाथिको एकलमा चन्द्र शाहीले राजु श्रेष्ठको चुनौती ६–१, ६–३ ले समाप्त पार्दै शीर्ष स्थान हात पारे। चन्द्रले २५ हजार तथा राजुले १२ हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे।
यसअघि पुरुष ६५ वर्षमाथि एकलमा ज्ञानेन्द्रमान ताम्राकार, पुरुष ५५ वर्षमाथि डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, पुरुष ३५ वर्षमाथि डबल्समा कमलबहादुर भण्डारी र महेश श्रेष्ठ तथा पुरुष ३५ वर्षमाथि एकलमा कमलबहादुर भण्डारी पहिलो भएका थिए।
विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य लगायतले पुरस्कृत गरे।