क्लिन ब्यान्डिटको टुबोर्गसँग सहकार्य
काठमाडौं : डेनिस ब्रान्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि सुरु गर्ने भएको छ। यस वर्ष ग्रामी अवार्ड विजेता ‘क्लिन ब्यान्डिट’ र ‘नितेशजंग कुंवर’ले नयाँ ट्र्याकका लागि सांगीतिक सहकार्य गर्ने भएका छन्।
‘क्लिन ब्यान्डिट’मा ग्रेस च्याटो तथा दाजुभाइ ल्युक र ज्याक प्याटेरसन रहेका छन्। डेमी लोभाटो र सिन पलजस्ता कलाकारसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिट विश्वभर आफ्ना गीतहरूको चार करोडभन्दा बढी कपी बिक्री गर्न सफल भएको छ। नितेशजंगको युट्युबमा चार लाख पचासी हजार सब्सक्राइबसर छन्।
टुबोर्ग ओपनले संगीतको माध्यमबाट नयाँ शैली र अनुभवका लागि खुला (स्टे ओपन) रहन प्रेरणा दिने छ। यस वर्ष क्लिन ब्यान्डिटलाई विश्वभरका विभिन्न सांगीतिक शैलीका कलाकारसँग सहकार्य गराई क्लिन ब्यान्डिट र उनीहरूका प्रशंसकलाई नयाँ अनुभव र प्रेरणा लिन निमन्त्रणा गरेको छ। क्लिन ब्यान्डिटलाई क्लासिकल, पप र इलेक्ट्रोजस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहका रूपमा चिनिन्छ।
सन् २०१९ मा टुबोर्गको साथमा क्लिन ब्यान्डिटले चाइना, इन्डिया, नेपाल, रसिया र भियतनाममा त्यहाँका कलाकारसँग मिलेर सांगीतिक सहकार्य गर्ने छ। अभियानको सुरुआतमा ग्रेस च्याटोले भनिन्, ‘टुबोर्ग ओपनको साथमा यी पाँच राष्ट्रमा कलाकार र दर्शकसँग भेट्न, नयाँ ठाउँ घुम्न र नयाँ संस्कृतिबारे बुझ्न हामी सधैं उत्सुक छौं।” अभियानका अर्का सहभागी ज्याक प्याटेरसन्ले थपे, ‘संगीतकार र चलचित्र निर्माता भएको नाताले हामीले सधंै विभिन्न शैली र संस्कृतिबाट प्रेरणा लिएका छौं।’ उनले नयाँ संस्कृति र स्थानीय कलाकारसँग सहकार्य गर्न पाउनु सुनौलो अवसर भएको बताए।
नेपाल, चीन, भारत, भियतनाम र रसियाको भ्रमणपछि खिचिएका तस्बिर टुबोर्गको डिजिटल च्यानलमा राखिने र विश्वभरका दर्शकले क्लिन ब्यान्डिटको भ्रमण र अनुभव हेर्न पाउने बताइएको छ।
टुबोर्गका अन्तर्राष्ट्रिय मार्केटिङ मेनेजर मिलान शाहले भने, ‘टुबोर्ग ओपन विश्वभर हामीले आशा गरेभन्दा धेरै ठूलो र सकारात्मक छाप पार्न सफल भएको छ। हामीले अहिलेसम्म विभिन्न संस्कृति र सांगीतिक शैली मिलाई २० वटा कोल्याबोरेटिभ ट्र्याकहरू तयार गरेका छौं।’
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर वैभब शर्माले भने, ‘संगीतसँग टुबोर्गको लामो र गौरवशाली सम्बन्ध छ। यसले नयाँ शैली र कलाकारलाई बजारमा चिनाउन मद्दत गर्छ। हामी फेरि एक पटक विश्वभरका मानिसलाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दै छौं।’ उनले नितेशजंगसँग क्लिन ब्यान्डिटको सांगीतिक सहकार्यको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए।