सडकदेखि आकाश
हनुमानदासकोे कपडा व्यवसाय वनवारीलालका बुवाले सुरु गरेको व्यापार हो। यही पसल र व्यवसाय भनेर नअल्झिएकै कारण परिवारका अन्य सदस्यभन्दा वनवारीलालले फरक काम अघि बढाउन सके।
कुनै नयाँ तर चुनौतीपूर्ण काम छ भने त्यसलाई पूरा गरेरै छाड्ने स्वभाव थियो— वनवारीलाल मित्तलको। मित्तल एन्ड कम्पनीका तत्कालीन अध्यक्ष उनले बुढेसकालसम्म पनि नयाँनयाँ व्यवसाय गरिरहे। समाजमा अन्य व्यक्तिभन्दा फरक गर्नुपर्छ भन्ने स्वभाव थियो, उनको। यसैले निर्माण व्यवसायी भएर सडक बनाउनेदेखि हवाई उद्योगसम्म हाँक्ने सफल व्यवसायीका रूपमा उनको परिचय स्थापित छ।
जोखिम लिन नडराउने स्वभावका कारण मित्तलले एकपछि अर्को व्यावसायिक क्षेत्रमा आबद्धता बढाउँदै गए। आफैंले संघर्ष गरेर उद्योग–व्यवसाय स्थापित बनाउने उनको स्वभाव थियो। उनी आफैंले स्थापना गरेका व्यवसायलाई दीर्घकालसम्म पुर्याउन सके पनि पुस्तान्तरण भने हुन सकेन।
मित्तल एन्ड कम्पनीसहित करिब आधा दर्जन व्यवसाय राम्रैसँग सञ्चालन गरेर विभिन्न परिस्थितिका कारण बन्द पनि गर्दै गए। दुई दशकअघि हेलिकप्टर व्यवसायमार्फत हवाई उड्डयन क्षेत्रमा प्रवेश गरेका हुन् मित्तल। उनका लागि यो सफल व्यावसायिक क्षेत्र हो। अहिले यो क्षेत्रमा उनका छोरा सुधीर मित्तल लागिपरेका छन्। श्री एअरलाइन्समार्फत उनले आन्तरिक वायुसेवाको क्षेत्रमा योगदान दिइरहेका छन्। मित्तलको कम्पनी अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छ।
हेलिकप्टर व्यवसायमा जम्दै गएका मित्तलको कम्पनी अहिले नियमित उडानमा अब्बल वायुसेवाको सूचीमा पर्छ। नेपालमा निजी क्षेत्रबाट पहिलो पटक एमआई १७ नामक २४ सिट क्षमताको ठूला हेलिकप्टर सञ्चालन गर्ने मित्तलको कम्पनी हेलिकोप्टरमा पायोनियर हो। क्षेत्रपाटीस्थित जेपी हाइस्कुलबाट पढाइ सकेपछि बनारसमा अध्ययनकै निम्ति पुगेका मित्तल त्यहीँबाट फरक क्षमतामा आफूलाई प्रस्तुत गर्न सक्ने भएका थिए। छोरा सुधीरका अनुसार बनारसमा आईकम सकेर मुम्बईको श्रीनम कलेजमा पढ्न थाल्दा वनवारीलालले विद्यार्थी राजनीतिमा निकै सक्रिय व्यक्तित्वको छवि बनाइसकेका थिए।
नेपाल चिनाउने अभियानका धेरै काम उनकै नेतृत्वमा भएको थियो। यही अभियानका निम्ति तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको अनुमतिमा वनवारीलालले काठमाडौंबाट म्युजियमका सामान लगेर मुम्बईमा प्रदर्शनी गरेका थिए। ‘मुम्बईमा पढ्दापढ्दै नेपाल चिनाउनकै लागि बुवाले गर्नुभएको यो ठूलो मेहनत थियो’, सुधीर सम्झन्छन्।
वटुको परिचित हनुमानदाकोे कपडा व्यवसाय वनवारीलालका बुवाले सुरु गरेको व्यापार हो। यही पसल र व्यवसाय भनेर नअल्झिएकै कारण परिवारका अन्य सदस्यभन्दा वनवारीलालले फरक काम अघि बढाउन सके। यसका कारण राष्ट्रलाई योगदान दिने कम्पनी बनाउन उनी सफल भए। चार दाजुभाइमध्ये साइँलो वनवारीलालले परम्परागत कपडा व्यवसाय आफ्ना दुई दाजुलाई छाडे। र आफू भने निर्माण व्यवसायमा होमिए। त्यति बेला वनवारीलालका माइला दाजु विश्वनाथले निर्माण व्यवसाय गर्न चाहेका थिए। तर, उनलाई पार्टनरले धोका दिए। त्यो काम दाजुले अगाडि बढाउने आँट गर्न नसकेपछि वनवारीलाल अघि सरे। उनले गरेको वर्षौंको मेहनत र संघर्षले मूर्त रूप लियो।
यही कम्पनीले त्यति बेला अमेरिका, नेपाल र भारतको संयुक्त लगानीको एक संस्था आरटीओबाट काम लिन थाल्यो। अहिलेको सडक विभागजस्तै उक्त संस्थाबाट यो कम्पनीले सुरु गरेको पहिलो ठेक्काबाट लागेको घाटाले यसलाई स्थापित हुन पनि सघायो।
करिब ६ दशकअघि काठमाडौं–त्रिशूली सडकखण्डको काम गर्ने गरी यो कम्पनीले पहिलो ठेक्काका रूपमा जम्मा दुई हजार रुपैयाँको काम पाएको थियो। मित्तल कम्पनीको पहिलो ठेक्कामा उल्टै तीन हजार घाटा लाग्यो।
त्यसपछि लिएको दोस्रो ठेक्का सात हजार रुपैयाँको थियो। यो सोही सडकमा खण्डगत काम थियो। त्यति बेला कालोपत्रे गर्ने प्रविधि आपूmसँग नभएको हुँदा सडक बनाउने, भित्ता कटिङ गर्ने, वाल लगाउनेसहितको कामको जिम्मेवारी पूरा गर्थे मित्तल। दोस्रो ठेक्कामा मित्तलले आठ÷नौ सय रुपैयाँ नाफा गरे। सो कम्पनीले लिएको ठेक्काबाट नाफा भएपछि कसरी काम गर्ने, कहाँ कमजोरी हुँदा घाटा हुन्छ र कसरी काम गर्नुपर्छ भन्ने विषयमा जानकारी पाएपछि उनको निर्माण व्यवसायले रफ्तार लिएको सुधीर सम्झन्छन्।
त्यति बेला नेपालमा कुनै पनि ठूलो ठेक्का र ठेकेदार थिएनन्। नेपालमा निर्माणको काम भने भर्खर भएको थियो। नेपाली ठेकेदार भर्खर झुल्किन थालेको थिए। मित्तलले करिब ६३ वर्षअगाडि सुरु गरेको यस्तो ठेक्कापट्टाबाट नेपालमा हुने ठूला निर्माणमा मित्तल संलग्न हुन्थे।
त्रिशूली जलविद्युत् परियोजना भारतले निर्माण गरेको भए पनि उक्त आयोजनाको पनि केही खण्डको काममा मित्तल एन्ड कम्पनी संलग्न भएको थियो। नेपालगन्ज कोहलपुर, गजुरीको आर्मी ब्यारेकसहितको त्यति बेलाका ठूला काम धेरै गरेको सुधीरको स्मरण छ।
सरकारले २०३० को दशकमा निर्माण व्यवसायीलाई इजाजत दिन थालेको थियो। त्यति बेला सरकारले वर्गीकरण गरेरै दिने लाइसेन्समा पहिलो पाँचमध्येको एक उत्कृष्ट थियो मित्तल एन्ड कम्पनी। त्यति बेला सरकारी एक कम्पनी, चितवन कोईसहितको पाँच कम्पनी थिए। करिब ४० वर्ष सक्रिय रूपमा काम गरेको यही कम्पनीले पाएको सफलतासँगै मित्तललाई उचाइ दिँदै गयो। यो कम्पनीले नेसनल ट्रेडिङको काम गर्दा राम्रो गरेको हुनाले एउटा मोटरसाइकल नै उपहार पाएको थियो। त्यति बेला यस्तो उपहार पाउनु कम्पनीका निम्ति गौरवको विषय बन्यो।
विभिन्न एक्सपोर्ट इम्पोर्टको काममा पनि मित्तल संग्लग्न थिए। नेपालबाट निर्यात बढाउनुपर्छ भनेर उनले निकै मेहनत गरेर काम गरेका थिए। २०३० सालमा विभिन्न जडीबुटी, अदुवासहितको सामान निर्यात गर्ने काम गरे। नेपालमा आफ्नो सानो अभियानबाटै आर्थिक वृद्धिमा योगदान दिनुपर्छ भनेर लागेका थिए मित्तल। मित्तलले २०४० पछि गलैंचाको पनि काम गरेका थिए। उनको यो व्यवसाय पनि त्यति बेलाको स्थापित बन्न पुग्यो। उक्त समयको सर्वोत्तम र सुगम गलैंचासँगै उत्कृष्ट कम्पनीका रूपमा स्थापित गरेका थिए।
सामान्यता ऊर्जाशील उमेर ढल्किँदै गएपछि अवकाश हुने उमेरमा नयाँ काम सुरु गरेका थिए, वनवारीलालले। दुई दशकअघि ६३ वर्षको उमेरमा मित्तलले हालको श्री एअरलाइन्स स्थापना गरेका हुन्। नेपालमा ठूला हेलिकप्टरको सम्भावना रहेको औंल्याउने उनले एमआई १७ नामक ठूलो हेलिकप्टर ल्याए।
कुनै पनि काम नयाँ पुस्ताले गर्दै जानुपर्छ। लामो समयको भिजन बनाएर काम गर्नुपर्छ र बेइमानी गर्नु हुँदैन भन्ने मित्तलको स्वभाव थियो। इमानदारीपूर्वक गरेको कुनै पनि काममा अवश्य सफल होइन्छ भन्ने मित्तलको बुझाइ थियो। हाल मित्तलको स्थापित व्यवसाय श्री एअरलाइन्स र हेलिकप्टर मात्रै छ।