जंगल जान गाह्रो लाग्दैन : प्रचण्ड

जंगल जान गाह्रो लाग्दैन : प्रचण्ड

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे आफू सम्पूर्ण कुरा त्याग गरी जंगल जान सक्ने बताएका छन्। आफूलाई जंगल जान पटक्कै गाह्रो नलाग्ने भन्दै दाहालले एक्लै जोगी भएर नभई आवश्यकताअनुसार फेरि एकपटक सम्पूर्ण चिज त्यागी जंगल जान सक्ने आत्मविश्वास आफूसँग भएको उल्लेख गरे।

कार्लमाक्र्स द्विशतवार्षिकी समारोह समितिले माक्र्सको २०१ औं जम्मजयन्तीका अवसरमा राजधानीमा आयोजित समृद्धि र समाजवाद  हामी कहाँ छौं’, विषयक कार्यक्रममा दाहालले आफू अर्काे एउटा क्लाइमेक्समा पार्टी र आन्दोलनलाई लगेर मात्र जीवन त्याग गर्ने बताए।

‘म फेरि एकपटक सम्पूर्ण चिज त्यागेर जंगल जान पनि सक्छु भन्ने विश्वास छ। जरुरी प¥यो भने मलाई पटक्कै गाह्रो लाग्दैन। कतिपयलाई के लाग्छ भने अब यत्रो भइसक्यो कसरी हुन्छ ? के हुन्छ भन्ने पनि लाग्छ’, दाहालले भने, ‘मलाई साँच्चै हेर्नुहोला, तपाईंहरूको साथचाहिँ चाहिन्छ, म एक्लै जोगी भएर त जान्नँ। जोगी भएर हुने कुरा पनि छैन। तपाईंहरू साथमा हुनुभयो भने म अर्काे एउटा क्लाइमेक्समा यो पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचारमा छु।’

आफूले समयको परिस्थितिअनुसार राजनीतिक रणनीति र कार्यनीति बनाउँदा कतिपयले अस्थिर भन्ने आरोप लगाएको बताउँदै दाहालले तथाकथित आलोचनासँग वास्ता नभएको तर तथ्यपूर्ण आलोचना गरे आफूलाई स्वीकार्य हुने बताए।

‘माक्र्सवाद कुनै जमेको पोखरीको पानीजस्तो होइन, माक्र्सवादले सिकाउने भनेको हामीलाई वैज्ञानिक बन्न सिकाउने हो, बनिबनाउ सूत्र दिने, त्यो सूत्र दिएपछि त्यही बाटो हिँडेर बनिबनाउ क्रान्ति हुने होइन’, दाहालले भने, ‘यसरी सोच्यो भने अस्थिर मान्छे भनेर आरोप लाग्ने गरेको छ। कुवाको भ्यागुतोजस्तो भयो भने स्थिर भएजस्तो, परिस्थितिमा आएको फेरवदलसँगै आफ्नो विचार, रणनीति र कार्यनीति परिवर्तन गर्ने र नेतृत्व गर्नेलाई अस्थिर भन्ने छ। म जमेको पोखरीको पानी भत्काइदिने, पोखरीको पानी भत्काएर गडगडाएर निस्कने खोलाजस्तो बन्न मन लाग्छ।’

दाहालले नेकपाभित्र अहिले विचारको अन्योलता नरहेको भन्दै नेपालको राजनीतिमा समाजवाद कि पुँजीवाद भन्ने दुईवटा विचार मात्र भएको बताए। ‘हामी समाजवादी कित्तामा कि पुँजीवादी कित्तामा यत्ति हो अहिलेको विचार। हाम्रो समाजवादी कित्तामा हो, पुँजीवादी कित्तामा विल्कुल होइन’, दाहालले भने।

उनले पार्टी एकता सरकार कब्जा गर्नका लागि, प्रधानमन्त्री बन्नका लागि नगरिएको बताए। नेपालको कम्युनिस्ट पार्टीले विश्वमै रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई नयाँ सन्देश दिन पार्टी एकता गरिएको दाहालको भनाइ थियो।

दाहालले भने, ‘यो प्रधनमन्त्री हुनका लागि पार्टी एकता गरिएकै होइन, यो सरकार कब्जा गर्नका लागि मात्र पार्टी एकता गरिएको होइन। एउटा नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण गर्न र विचारलाई परिमार्जन गर्न पार्टी एकता गरिएको हो। नेपालबाट संसारभर नयाँ सन्देश दिने उद्देश्यले एकता गरिएको हो।’ उनले पार्टीमा अब युद्धस्तरमा जिल्ला, प्रवासको अधिवेशन हुँदै महान् बहसबाट नयाँ विचारको विकास भएर जाने पनि बताए।


वरिष्ठ नेता झलनाथ खनालले ५६ वर्ष लगाएर जनवादी क्रान्ति नेपालमा पूरा भएको भन्दै अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताए। त्यसका लागि अबको क्रान्तिमा ६ मुख्य कार्यभार नेकपाले तय गर्नुपर्ने खनालको सुझाव थियो।

उनले अहिले प्राप्त लोकतन्त्रको भरपूर उपयोग गर्ने, राष्ट्रियतालाई बलियो बनाउने, सुशासन कायम गर्ने, सामाजिक आर्थिक रुपान्तरण गर्ने, सांस्कृतिक रुपान्तरण र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम गरी क्रान्तिको आधार तयार पार्ने कार्यभार पूरा गर्नुपर्ने बताए।

नेपालको सिमाना अहिलेसम्म कहाँसम्म हो भनेर भन्न नसक्ने अवस्थाले राष्ट्रियता बलियो नहुने खनालको भनाइ थियो। ‘नेपालको सीमा यति भनेर हामी भन्न सक्दैनौं। लिम्पियाधुरासम्म हाम्रो सिमाना हो’, खनालले भने, ‘हाम्रो सिमानामा विदेशी सेनाले कुल्चेर बसेका छन्। भूमिसुधार मन्त्रालयले ल्याएको नक्सा केही सच्चिएको छ। तर, अझै लिम्पियाधुरा पुगेको छैन।’

कार्ल मार्क्स जन्म द्विशतवार्षिक समारोह समितिका संयोजक तथा नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले हिजो राजाले, कांग्रेसले देश खाए भन्दैमा आज नेकपाले खाने हो भन्ने शैलीमा पार्टी नेताहरू प्रस्तुत हुन नहुने बताए।

नेताहरूले अहिले दिनमा सय जनाजति दलालसँग भेट गर्ने गरेको भन्दै भुसालले आफ्नै पार्टी नेताप्रति तिखो प्रहार गरेका थिए। ‘दिनमा अहिले सय जनाजति दलालसँग भेट हुन्छ जस्तो लाग्छ’, भुसालले भने, ‘कुन व्यापारी, कुन तस्करको पक्षमा तपाईं हुनुहन्छ भनेर सैद्धान्तिक बहस पार्टीभित्र हुन थालेको छ।’

भुसालले कानुन ठीक गर्न अदालतमा आफ्नो खल्तीको न्यायाधीश कर हाकिम, अख्तियारमा लोकमानजस्ता आफ्नै मान्छे खोजी गर्ने संस्कार पार्टीमा रहेको भन्दै यस्तो गठबन्धन दलाल पुँजीवादी गठबन्धन भएको बताए। ‘पार्टी, अदालत, अख्तियार, लोकमान खास बेलामा काँध थाप्ने मिडिया र सेक्युरिटीसम्मको गठबन्धन छ। यो दलाल पुँजीवादी गठबन्धन हो’, भुसालको भनाइ थियो।

उनले अफ्रिकी मुलुकमा नांगै नाच्ने नेपाली छोरी र अरबका चर्काे गर्मीमा काम गर्नेहरूले देशभित्रै रोजगारी नपाउँदासम्म समाजवाद गफले मात्र नआउने बताए। प्रधानमन्त्रीले आफू भ्रष्टाचार गर्दिनँ भन्दै दोहो¥याउने वाक्यमा पनि उनले आलोचना गरे। उनले भने, ‘वासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भएँ भनेजस्तो हो यो भ्रष्टाचार गर्दिनँ भन्ने नारा’ भुसालले भने, ‘नारा राम्रो छ तर तल के भइरहेको छ हेर्नु पर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.