फेरिए सुन लुकाउने तरिका
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा कडाइपछि सुन तस्करले विभिन्न काइदा अपनाएर सुन तस्करी गर्दै आएका छन्। तस्करले मलद्वारमा लुकाएर मात्रै होइन टाँक बनाएरसमेत तस्करी गर्दै आएको पाइएको छ।
शनिबार भारतीय नागरिक सतिककुमार अरोरा तस्करीको सुनसहित पक्राउ परे। उनले भिन्न तरिका अपनाएर सुन तस्करी गरेको पाइयो। सुनलाई सर्टमा लगाउने टाँक आकारको बनाएर उनले आठ सय १५ ग्राम सुन बोकेर ल्याएका थिए। थाई एयरलाइन्सबाट काठमाडौं उत्रिएका अरोराले कपडा सिलाउने मेसिन समेत ल्याएपछि टाँकलाई सुन हो भनेर पत्याउने अवस्था थिएन प्रहरीलाई। तर, तौल जाँच गर्दा शंका लागेपछि भन्सार र प्रहरी टोलीले आरोरालाई पक्राउ गरी टाँकलाई राम्ररी केलाउँदा सुन रहेको रहस्य खुलेको थियो।
अरोराको यो तस्करी काइदा देखेर प्रहरी र भन्सारका कर्मचारी समेत चकित परे। विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारी भन्छन्, ‘कपडा सिलाउने सामाग्री ल्याएको छ। टाँक पनि छ। केही बेर त हामीले शंकाले हेरेनौं। तर तौल गर्दा मेल नखाएपछि अनुसन्धान गर्दा सुन पो रहेछ।’ विमानस्थल प्रहरीले यसअघि गत चैत २८ गते दुई चिनियाँ नागरिक माओ यिङ्हुवा र झ्याङ झियाङ तीन किलो तीन सय ग्रामसहित पक्राउ परे। उनीहरूले मलद्वार भित्र लुकाएर सुन ल्याएका थिए। प्रहरीले शौच विधिबाट लुकाएर ल्याएको सुन बरामद गरेको थियो। सुनलाई प्लास्टिक र टेपले बाँधेर यिङ्हुवा र झियाङले सुन मलद्वार भित्र लुकाएर ल्याएका थिए।
गत चैत २१ मा थाई एयरबाट काठमाडौं उत्रिएका चार भारतीय नागरिकले बाला बनाएर तस्करी गरेको पाँच किलो आठ सय १४ ग्राम सुनसहित पक्राउ परे। विमानस्थल भित्रैको पार्किङमा पुगिसकेका जतिन जैन, सुनिता, बबिता जर्ज र सरिता जैन पक्राउ परेका थिए। उनीहरूले आफैंले बाला लगाएर आएका थिए। उनले बालाको बाहिर कालो पदार्थ लेप लगाएर सुन ल्याएका थिए। प्रहरी बयानमा उनीहरूले बरामद गहना सधैं प्रयोग गर्ने गरेको बताएका थिए। प्रहरी र भन्सारलाई बरामद बाला सुन हो भनेर पत्ता लगाउन दुई घण्टा लागेको थियो।
ढिक्का सुन ल्याउँदा सजिलै पक्राउ पर्ने भएपछि तस्करले विभिन्न तरिका अपनाएर सुन ल्याउने गरेको जानकारी एसएसपी भण्डारीले दिए। ‘अहिले हामीले भन्सारसँगको समन्वयमा कसैले नयाँ सामान शंकास्पद तरिकाले ल्याएको अवस्थामा तत्काल बरामद गरेर जाँच गरेपछि मात्रै दिने गरेका छौं’, भण्डारीले भने।
कतिपय अवस्थामा तस्करीको सुन सम्बन्धित धनीलाई बुझाउन सक्ने आंकलन गरेर विमानस्थल बाहिर पुगेर समेत समातिने गरेको जानकारी भण्डारीले दिए। सुन तस्करले सुटकेशको पांग्रा, जुत्ताको तलुवा, जिब्रो मुनी, पाइन्टमा पेटी घुसार्ने ठाउँमा फल्स बटम बनाएर सुन तस्करी गर्दै आएको घटना प्रहरीले पत्ता लगाइसकेको छ।