गोरखा ग्रुपले हाइड्रोमा लगानी गर्ने
दाङ : बेलायती लाहुरेले स्थापना गरेको गोरखा ग्रुप प्रालिले लगानी विस्तार गर्दै हाइड्रोमा लगानी गर्ने भएको छ। २२ वर्षअघि दाङमा शिक्षा क्षेत्रमा लगानी गरी सुरु भएको यस ग्रुपले अहिले शिक्षा र स्वास्थ्यमा पनि लगानी विस्तार गरेको छ।
ग्रुपको मंगलबार सकिएको वृहत भेलाले अबको लगानी कृषि÷रिसोर्ट, हाइड्रो, पर्यटनमा गर्ने निर्णय गरेको छ। दाङको तुलसीपुरमा वृहत भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो।
बजारको महत्त्व आवश्यकता र आपूर्ति अवस्था विश्लेषण गरेर कृषि क्षेत्रमा लगानी गर्ने निर्णय गरिएको छ। गु्रपका प्रमुख कार्यकारी अधिकृत नौलसिँह घर्तीले भने, ‘हाइड्रो र रिसोर्टमा पनि अब हाम्रो लगानी हुन्छ। घर्तीले हाइड्रोमा लगानी दाङ या जिल्ला बाहिर जहाँ पनि हुन सक्छ।’
दुई दशकदेखि दाङमा शिक्षा क्षेत्रमा लगानी गरिरहेको ग्रुप अन्तर्गत अहिले तुलसीपुर, घोराही र लमहीमा एक÷एक उच्चमाध्यामिक विद्यालय, एक÷एक स्नातक तहका क्याम्पस र घोराहीमा गोरखा अस्पताल सञ्चालन भइरहेका छन्। ग्रु
पका संस्थापक तथा अध्यक्ष मानबहादुर बुढाले ग्रुपलाई अझ शसक्त र बलियो बनाउँदै गएको जानकारी दिए। लाहुरेको लगानीले २२ वर्षसम्म आउँदा ठूलो उपलब्धि हासिल गरेको दाबी उनले गरे। उनले भने, ‘९५ जना लाहुलेलाई एकै ठाउँमा राखेर यति लामो सहकार्य गर्न पनि मुस्किल हुन्छ तर पत्थरमा फूल फुलाउने लक्ष्यले हामीलाई एकै ठाउँमा राखिरहेको छ।’ सन १९९८मा गोरखालीको लगानीमा गोरखा अभियान नामले सुरु भएको लाहुरेको लगानी अहिले गोरखा ग्रुप प्रालिमा जाँदै क्षेत्र विस्तार गरेर लगानी बढाउन लागिएको बुढाले जानकारी दिए।
डेढ करोडबाट सुरु भएको अभियान अहिले अर्बमाथि पुगेको छ। शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको गोरखा ग्रुपले अब होटेल, पर्यटन र कृषिलाई पनि प्राथामिकतामा राखेको छ। बेलायतमा रहेका नेपालीले शिक्षाको महत्त्व बुझेर गुणस्तरीय शिक्षा दिने उद्देश्यले घोराहीमा गोरखा इन्टरनेसल पब्लिक स्कुल स्थापना गरेका थिए। त्यसपछि विभिन्न क्षेत्रमा विस्तार गरिएको उनले बताए।
ग्रुपमा नयाँ सञ्चालक समिति
गोरखा गु्रुप प्रालिको पहिलो साधारणसभाले नयाँ सञ्चालक समिति गठन गरेको छ। संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा पाँच वर्षका लागि नौ जनाको नयाँ सञ्चालक समिति गठन गरिएको छ।
सञ्चालक समितिको सदस्यमा विष्णुप्रसाद घर्तीमगर, नौलसिंह घर्ती, जंगबहादुर पुन, दुर्गाबहादुर केसी, बालकृष्ण रोकामगर, उत्तमराज घिमिरे, मानसिंह घर्तीमगर र धनकुमार बुढामगर छन्।
एक करोडको गोरखा फाउन्डेसन
गोरखा ग्रुपको भेलाले गोरखा फाउन्डेसन स्थापना गरेको छ। विभिन्न परियोजना सञ्चालन गर्न पहिलो चरणमा एक करोडको मूल पुँजी राखेर गोरखा फाउन्डेसन स्थापना गरिएको गोरखा ग्रुपका एकेडेमीकी निर्देशक दुर्गाबहादुर केसीले जानकारी दिए। यसमा ग्रुपको मुनाफाको १० प्रतिशत रकम बर्सेनि थप गरिनेछ।