पाँचतारे होटलबाट नेटवर्किङ धन्दा : १२ भारतीय पक्राउ
काठमाडौं : पाँचतारे होटलमा बसेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ।
साइन ग्रुपको नामबाट नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न दरबारमार्गस्थित याक एण्ड यति होटलमा धमाधम तालिम दिइरहेका बेला शनिबार अपरान्ह प्रहरीले १२ भारतीयलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र राष्ट्र बैंकको टोली होटलमै पुगेर साइन ग्रुपका प्रमुख प्रबन्ध निर्देशक रसिद नसिमसहित १२ जनालाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।
पक्राउ पर्नेमा रसिदसँगै भारत लखनउका अजितकुमार सिंह, इलाहवादका मोहम्मद सारजिल, छत्तिसगढका निरजकुमार मिश्र, उत्तर प्रदेशका अशोक कुमार, रमेश रामा, सुनिल उपाध्याय, आयुष उपाध्याय, काशिफ सकिल, गजेन्द्र सिंहलगायत छन्।
यो टोलीले विगत तीनदिनदेखि याक यण्ड यति होटलमा नेटवर्र्किङ व्यवसायबारे तालिम दिँदै आएको थियो। डिएसपी बोगटीका अनुसार साइन ग्रुपको मुख्य कार्यालय दुवईमा रहेको र शाखा कार्यालय लखनउमा रहेको भन्दै नेपाली र भारतीय नागरिकलाई नै तालिम दिइरहेका थिए।
‘एक पटक एक हजार दुई सय ५० रुपैयाँ तिर्नुपर्ने र कम्पनीले त्यतिनै रकम हालिदिएर अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बनाउने प्रलोभन दिएको पाइयो,‘ बोगटीले भने,‘अहिलेसम्म नेपाली र भारतीय गरी १३ जना सदस्य बनाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
पक्राउमध्ये रसिद होटल हायातमा दैनिक दुई लाख रुपैयाँ तिरेर बस्दै आएका थिए। नेपाली पैसा राष्ट्र बैंकको अनुमति बिना विदेशी कम्पनीमा लगानी गर्न नपाइने भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ गरेकाबाट ल्यापटप, कम्पनीको भिडियो र अडियोसँगै अन्य डकुमेन्ट बरामद गरेको छ। बोगटीका अनुसार पक्राउ परेकालाई ठगी मुद्दामा अनुसन्धान थालिएको छ।
साइन गु्रपका सदस्यले अन्य सदस्य बनाए बापत कमिसन पाउने सर्त रहेको जानकारी बोगटीले दिए। ‘नेपालीबाट करोडौं रुपैंया विदेशमा लैजाने योजना अनुसार नेटवर्किङ व्यवसायको तालिम दिइरहेका थिए,‘बोगटीले भने,‘प्रहरीको यो अपरेशनबाट ठगिनबाट नेपाली जोगिएका छन्।’