पाँचतारे होटलमा बसेर नेटवर्किङ धन्दा, १२ भारतीय पक्राउ
काठमाडौं : पाँचतारे होटलमा बसेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्न खोजेको आरोपमा १२ भारतीय पक्राउ परेका छन् । दरबारमार्गस्थित याक एन्ड यती होटलमा तालिम दिइरहेका बेला शनिबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र राष्ट्र बैंकको टोली होटलमै पुगेको थियो । पक्राउ पर्नेमा साइन ग्रुपका प्रबन्ध निर्देशक रसिद नसिमसहित लखनउका अजितकुमार सिंह, इलाहवादका मोहम्मद सारजिल, छत्तिसगढका नीरजकुमार मि श्र रहेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । यस्तै, उत्तर प्रदेशका अशोक कुमार, गिरी उपाध्याय, रमेश रामा, सुनील उपाध्याय, आयुष उपाध्याय, कासिफ सकिल र गजेन्द्र सिंह छन् । यो टोलीले तीन दिनदेखि नेटवर्र्किङ व्यवसायबारे तालिम दिँदै आएको थियो ।
उनीहरूले साइन ग्रुपको मुख्य कार्यालय दुबई र शाखा कार्यालय लखनउमा रहेको बताउँदै आएका थिए । तालिममा नेपाली र भारतीय नागरिक सहभागी थिए । ‘एकपटक १ हजार २ सय ५० रुपैयाँ तिर्नुपर्ने र कम्पनीले फेरि त्यति नै रकम हालिदिएर अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बनाउने प्रलोभन दिएको पाइयो’, उनले भने, ‘नेपाली र भारतीय गरी १३ सदस्य बनाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
रसिद होटल हायातमा दैनिक २ लाख रुपैयाँ तिरेर बस्दै आएका थिए । राष्ट्र बैंकको अनुमतिबिना नेपाली पैसा विदेशी कम्पनीमा लगानी गर्न पाइँदैन । पक्राउ परेकाका साथबाट ल्यापटप, कम्पनीको भिडियो र अडियोसँगै अन्य कागजात बरामद भएको छ । प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान थालेको छ । गु्रपका सदस्यले अन्य सदस्य बनाएबापत कमिसन पाउने सर्त रहेको जानकारी बोगटीले दिए । ‘नेपालीबाट करोडौं रुपैयाँ विदेशमा लैजाने योजनाअनुसार नेटवर्किङ व्यवसायको तालिम दिइरहेका थिए’, उनले भने, ‘ प्रहरीको यो अपरेसनले नेपालीहरू ठगिनबाट जोगिए ।’