दुई दशकपछि खुले छन्दमायाका आँखा, भनिन्, 'नातिनातिनाका अनुहार देखेँ'
सिन्धुली : मान्छेलाई आफ्नो शरीरका प्रत्येक अंगको उत्तिकै महत्व र जरुरत हुन्छ।अझ आँखाको ज्योतिविनाको जीवनको कल्पना पनि गर्न सकिन्न। अझ, दुबै आँखाको ज्योति गुमाउनु पर्दाको पीडा भोगिरहेकाले पुनःआँखाको ज्योति पाए भने उनीहरुको जीवनमा कस्तो खुसी आउँला ?
यस्तै भएको छ, सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ खुर्कोटकी ७७ वर्षीया वृद्धा छन्दमाया अधिकारीलाई।झन्डैं २० वर्षदेखि दुबै आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताउँदै आएकी अधिकारीले नयाँ जीवन पाएकी छन्।उनले गुमेको आँखाको ज्योति पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन्।
उनलाई सिन्धुलीय श्रेष्ठ समाज, गोलन्जोर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखाको पहलमा तिलगंगा आँखा अस्पतालमा मोतिया विन्दुको सफल अप्रेसन भएपछि यस्तो बरदान मिलेको हो।
'जाँदा दुवै आँखाले देख्दैन थिए। अर्काकै हात समाएर काठमाडौं गए। काठमाडौंमा अप्रेसन गरेपछि दुबै आँखा देख्ने भए। बुढेसकालमा आफन्तको मुख हेरेर मर्न पाउने भए,' उनले भनिन्।आँखाको ज्योति गुम्दा दिशा-पिसाब गर्न, खान र लाउन पनि अर्काकै सहारा लिएको झण्डै २० वर्षपछि कल्पना नगरेको आँखाको ज्योति पाउँदा उनी दंग छिन्।
'अस्पतालमा डाक्टर र मेरा सहयोगीलाई देख्न पाए।संसार देखेजस्तो लाग्यो,' घरमा आएका नातीनातिना देखे,' उनले भनिन् ।उनीजस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका- ३ रातमाटाका ७५ वर्षीय पूर्णबहादुर श्रेष्ठले पनि झण्डै दश वर्षपछि आँखाको पुरै ज्योति पाएका छन्।
'आँखा देख्न छाडेको दश वर्षजति भएको थियो। उपचार गर्न पनि पाएको थिइन्। गाउँमै आँखा जाँच शिविर आएका बेला जचाउँदा मोतिया विन्दु भएको पत्ता लागेपछि काठमाडौंमा अप्रेसन गर्दा आँखा देख्न सक्ने भएको,' उनले भने।
मोतिया विन्दुको अप्रेसनपछि आँखा देख्न सक्ने भएका सुनकोसी गाउँपालिका ५ रामटारका भक्तबहादुर श्रेष्ठ पनि उत्तिकै खुसी छन्।भन्छन्, 'अप्रेसनपछि नयाँ जीवन पाए। बुढेसकालमा अर्काको सहाराबाट छुटकारा पाए।'
सिन्धुलीको रामटार, मझुवा, चपौली, खुर्कोट, ग्वालटार, दुधौलीलगायतका स्थानमा गरिएको आँखा शिविरमा १ हजार ३ सय ३८ जनाको आँखाको जाँच गरिएको थियो। उनीमध्ये १ सय २० जनामा पूर्णरुपमा मोतियाविन्दु भएको पाइएपछि निशुल्क अप्रेसन गरिएको थियो।
अप्रेसनपछि उनीहरु आँखा देख्न सक्ने भएको सिन्धुलीयन श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताए।'शिविरमा आँखामा मोतिया विन्दु भएका बिरामीलाई काठमाडौं ल्याएर तिलगंगा आँखा अस्पतालका निर्देशक डाक्टर सुन्दक रोइतको संयोजनमा एकैपटक अप्रेसन गर्दा १ सय२० जनाको सफल अप्रेसन भएको हो।
अप्रेसनपछि नयाँ संसार देखेर जेष्ठ नागरिक घर फर्केका छन्।वृद्धावृद्धले नयाँ जीवन पाएकोमा खुसी लागेको श्रेष्ठले भने। उनले कतिपयका अस्पतालसम्म लगिदिने आफन्त नभएका, कतिपयमा आर्थिक अभाव खट्किएको र कतिपय फेरि आँखाको ज्योति फर्कदैन होला भनेर आँखाको उपचार नै नगराई अन्धकार दिनहरु बिताउन बाध्य भएको बताए। आँखा शिविरमा विभिन्न कारणले आँखाका ज्योतिमा कम हुँदै गएका ७ सय ७३ जना वृद्धवृद्धालाई निशुल्क चस्मा वितरण गरिएको पनि श्रेष्ठले जानकारी दिए।